पछिल्लो समय सडक तातेको छ । हिजोआज फेरि एकपटक नेपाल राजनीतिक उथलपुथलको सँघारमा उभिएको प्रतीत भइरहेको छ । विगतमा भन्दा यसपटक भने उथलपुथलको दिशा पुन राजतन्त्र चाहिन्छ भन्नेहरुको पक्षमा देखिन्छ । इतिहासका सबै उथलपुथल प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि थिए भने अहिले उभारमा रहेको उथलपुथल राजतन्त्र पुनस्र्थापनाका लागि भएको देखिन्छ ।
गणतन्त्र भ्रष्टाचारको चंगुलमा फसिरहेको भन्दै यसलाई चुनौती दिँदै राजावादीहरूले गणतन्त्रलाई उखेलेर पुनः राजसंस्था स्थापनाको माग सडकसम्म ल्याइरहेका छन् । राजतन्त्रकालीन नेपाल स्वर्णिम थियो भन्दै गणतान्त्रिक नेपाल उपलब्धिहीन रहेकोले विकल्प खोज्नुपर्ने बेला भएको बताइरहेका छन् ।
राजतन्त्रको पुनर्बहालीको माग गर्ने नागरिकहरुले चर्को स्वरमा ‘राजतन्त्रका बेला मुलुकको जुन अवस्था थियो, अहिले भने अधोगतिमा फस्यो’ भनिरहँदा ठूलै जमातले विश्वास गरिरहेको पनि देखिन्छ ।
गणतन्त्रमा छोटे राजाहरु धेरै भएपछि भ्रष्टाचार झाँगिएको गणतन्त्र फ्याँकेर राजसंस्था पुनस्र्थापना गर्नु भनेको राजनीतिक व्यवस्था परिवर्तन पनि हो । राजनीतिक व्यवस्था परिवर्तन अग्रगमनका लागि हुने शास्वत सिद्धान्त हो । अर्थात्, सामान्यतया व्यवस्था परिवर्तन विकासका लागि हुने गर्छ । कायम व्यवस्थाले जनताको पक्षमा सुशासन दिन नसके त्यसको विकल्प खोजिन्छ, त्यो स्वभाविक पनि हो । राजतन्त्रकालीन नेपाल विकासको अग्रपथमा थियो तर गणतन्त्रमा अझ मुलुक अवनतिको दलदलमा भासिएको भन्दै सडक तताउने गरी नागरिकहरु उत्रिएको देखिन्छ ।
मानव विकासका आधारभूत क्षेत्रको विकास नै वास्तविक विकास हो । जीवनस्तर झल्काउने सूचकांकहरूको तुलनाबाट राजतन्त्र र गणतन्त्र कुन कालमा जीवनस्तर कस्तो थियो भन्ने ठम्याउन सजिलो हुन्छ । त्यो मुल्यांकन गर्ने विषय आम नागरिकको नै हो ।
पछिल्ला दिनहरुमा देशका विभिन्न भागमा राजतन्त्रका पक्षमा जुलुस निस्कन थालेका छन् । संघीय राजधानी काठमाडौंसहित सातै प्रदेशका राजधानी सहरमा राजतन्त्रको पक्षमा बेलाबेला जुलुस निकालेर गणतन्त्रविरुद्धको जनमत प्रदर्शन नभएको पनि होइन । सडकमा निस्किएका जुलुसमा नवयुवाहरुको सहभागिता उल्लेख्य पाइएको छ । जुलुसको प्रत्यक्ष नेतृत्वमा राप्रपाले राजनीतिक रुपमा त्यस्ता जुलुसमा ऐक्यबद्धतामात्र होइन, सक्रिय सहभागिता नै जनाउन थालेको छ । राजनीतिक विश्लेषकहरु सडकमा पछिल्लो समय भइरहेका प्रदर्शनलाई व्यवस्थाका विरुद्ध नभइ शासक र दलहरुको असफलताको परिणामका रुपमा नागरिक सडकमा आउनुलाई सरकारले बन्देज गरिनु हुँदैन ।
लोकतनत्रमा स्वतन्त्रताको अनुभूति हुनुपर्छ । सरकारले दमनको बाटो अवलम्बन गर्न छाडेर सबैका कुरा सुन्न सक्नुपर्छ । मुलुक भष्टाचारको दलदलमा फसिसकेको अवस्थामा जनतालाई आत्मनिर्णयको अधिकार प्रयोग गर्ने स्वतन्त्रतामा बन्देज गरिनु लोकतन्त्रको अपमान पनि हो । नागरिकले भष्टाचारले गनाएको लोकतन्त्र भन्दा बरु कुनै न कुनै नामको राजा भए देशको हित हुन्छ, धेरै छोटे राजाहरु पाल्नु भन्दा एउटा असल राजा चाहिन्छ भन्छन् भने त्यो कुरा सुन्न पनि सरकार तयार हुन आवश्यक देखिन्छ ।

Author

You may also like