दमक/ बुधबार पनि संघीय संसद चल्न सकेन । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बुधबार बसेको प्रतिनिधिसभा बैठक नचलेपछि सभामुख देवराज घिमिरेले बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरे ।
बिहीबार १८ औं गणतन्त्र दिवस एकातिर परेको छ भने अर्को तिर सोही दिन सैवैधानिक रुपमा बजेट पास गर्ने पर्ने संवैधानिक बाध्यकारी अवस्था आएको छ । प्रतिपक्ष दलहरुको बैठकले बजेट नरोक्ने निर्णय गरेपछि भोलि भने संसद चल्ने सम्भावना देखिएको छ ।
बैठक बस्नु अघि नै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसहितको छलफलबाट राजीनामा दिन नपर्ने निस्कर्षसहित गृहमन्त्री लेखक संसदमा उपस्थित भएका थिए । तर गहृमन्त्रीमन्त्रीको राजीनामालाई बटमलाईन बनाएका प्रतिपक्षहरुले बुधबार पनि गृहमन्त्रीलाई बोल्न दिएनन् ।
गृहमन्त्री लेखकले यस अघि नै प्रतिशोधपूर्ण तरिकाले फसाइएको अभिव्यक्ति दिएका थिए । बुधबार पत्रकार सम्मेलन गरेर सोही प्रकृतिको भाषा प्रयोग गरेका छन् ।
भिजिट भिसाका नाममा मानव बेचबिखनमा मुछिएका गृहमन्त्री लेखकले प्रतिपक्षीले तर्साएर पदबाट राजीनामा नदिने अडान दोहोर्‍याएका छन् ।
मंगलबार र बुधबार भिजिट भिसा प्रकरणमा संसद्मा जवाफ दिन समय मागेका लेखकले प्रतिपक्षी दलहरूको अवरोधपछि बोल्न पाएनन् । उनले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरूलाई थुप्रै प्रश्न गर्दै आफूले राजीनामा नदिने बताएका छन् । उनले एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ भन्दै प्रतिपक्षी दलहरूलाई प्रश्न पनि गरे ।
यता, प्रतिपक्षी दल नेकपा माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएकोले उनी फर्केपछि थप रणनीति बन्ने माओवादी स्रोतले बताएको छ ।
माओवादीका अर्का एक सांसदले संसदमा कडा रुपमा प्रस्तुत हुन निर्देशन आएको बताए । ‘हाम्रो अडान गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने छ,’ ।
रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्रीको राजीनामाले मात्र नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेकाका छन् । यो मागबाट पछि हट्ने सम्भावना नरहेको उनी बताउँछन् । अनुसन्धान कर्मचारीमाथि मात्र होइन, गृहमन्त्रीमाथि पनि हुनुपर्छ। यसमा प्राविधिक अनुसन्धान हुनुपर्छ। मोबाइल र ल्यापटपहरूको परीक्षण हुनुपर्छ,’ उनले संसदमा भने, ‘हामी मन्त्रीज्यूको राजीनामा मात्र मागिरहेका छैनौँ, संगठित रुपमा गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएर हेर्नेगरी छानबिन गर्न एक उच्चस्तरीय छानवीन आयोग नबनेसम्म संसद् चल्न सक्तैन। निर्दाेष नेपालीमाथिको अत्याचार हामी टुटुटुलु हेरेर बस्न सक्दैनौँ। हामी संसदलाई अगाडि बढाउन सक्दैनौँ ।’
गगनले मुख खोले
रास्वपाका सभापति तथा तत्कालीन गहृमन्त्री रवि लामिछाने प्रकरणमा उफ्री उफ्री बोल्ने, एउटा कागजको खोस्टो देखाउँदै रवि लामिछानेको राजिनामा माग्ने नेपाली काँग्रेसका महामन्त्री गगन थापा हालका गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारको आरोप लाग्दा किन चुप भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहँदा बल्ल मुख खोलेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् । अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने महामन्त्री थापाको भनाइ छ ।
नेपाली कांग्रेसको धरान उपमहानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘…अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ ।’
साथै उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानमा अलमल गर्न नहुनेमा समेत जोड दिए । ‘यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषी दण्डित हुनुपर्छ । यससंगै भिजिट भिसाको नाममा हुने गरेको ठगिको धन्दा र यसको नेक्सस सधैलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ति र शोषणको अन्त्य गर्न कानूनी र प्रशासनिक सुधार तत्काल गर्नु आवश्यक छ’, उनले भने ।

Author

You may also like