दमक, ६ मंसिर।
दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञको समापनका अवसरमा १०१ वर्षीय लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मानबाट अभिनन्दन गरिएको छ । उनलाई पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष एवं महायज्ञ आयोजक मुल समितिका अध्यक्ष लोकनाथ पौड्यालले सम्मानित गरेका छन् । ताप्लेजुङको थेचम्बुमा वि.सं. १९८० साल असोज ११ गते जन्मिएका पौडेल बेलायत सैनिकमा समेत रहेर स्वदेश फर्किएपछि लगातार १५ वर्षसम्म ताप्लेजुङको थेचम्बुमा प्रधानपञ्च थिए । ताप्लेजुङबाट झापाको विर्तामोड हुँदै हाल काठमाडौंमा स्थायी बसोबास गर्दै आएका पौडेल साता अघिदेखि महायज्ञमा दैनिक उपस्थित भएका थिए ।
यसैबीच, महायज्ञमा प्राप्तमध्ये करीब २ क्विन्टल विभिन्न खाद्य सामग्री दमक ९ स्थित दमक बाल आश्रममा आश्रित बालबालिकाहरुका लागि प्रदान गरिएको हो । दमक ७ की महिला वडा सदस्य समेत रहेकी इन्दु पौडेल, आयोजक समितिकी रामकुमारी पौडेल, राजेन्द्र पौडेल, चन्द्र पौडेल, सुमन पौडेल लगायतको समूहले आश्रमकी अध्यक्ष मन्धरा चिमरिया पौडेलको उपस्थितीमा आश्रममै पुगेर सो खाद्यन्न सामग्री हस्तान्तरण गरेका हुन् ।
दमक ७ स्थित पौडयाल वंशोद्धार केन्द्रीय समितिले आफ्नो भवन पुरा गर्ने उद्धेश्यले मसिंर २७ देखि पुस ४ सम्म महायज्ञ सञ्चालन गरेको थियो ।