देश–समाज समाचार स्थानीय

डाँकिनी खोलामा सरसफाई: आइन्दा जताभावी फोहोर फ्याँके कारवाही हुने

:— सुजन गौतम —:
दमक/ झापाको दमक नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले डाँकिनी खोलामा बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा दमक–२ स्थित डाँकिनी खोलामा फालिएको दुई ट्याक्टर फोहोर उठाइएको हो ।
स्थानियवासीका अनुसार बजार क्षेत्रका फोहोर सिटी सफारी र मोटरसाइकलजस्ता साधनमार्फत ल्याएर डाँकिनी खोलामा फालिँदै आएको थियो, जसका कारण तीव्र दुर्गन्ध फैलिएको थियो। सोही समस्याको समाधान गर्न युवा संघ नेपालले सरसफाई कार्यक्रम आयोजना गरेको नगर अध्यक्ष छवि खतिवडाले बताए ।
कार्यक्रम नेक्स्ट इरा एनर्जीको सहकार्यमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष बिमल खतिवडाले अबदेखि बजार क्षेत्रका फोहोर डाँकिनी खोलामा नफाल्न र व्यवस्थापनका लागि नेक्स्ट इरा एनर्जीसँग सहकार्य गर्न आह्वान गरे ।
दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाले फोहोर डाँकिनी खोलाजस्ता सार्वजनिक स्थानमा फाल्नेहरूलाई अबदेखि रु १,५०० देखि रु ५,००० सम्म जरिवाना गरिने चेतावनी पनि दिए ।
कार्यक्रममा दमक–३ का वडा अध्यक्ष नवीन बराल, नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेल, केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, राष्ट्रिय युवा संघ जिल्ला सचिव उमेश मिश्र, क्षेत्र नं. ५ का संयोजक विवेक भट्टराई र नगर कमिटी इन्चार्ज सुदीप वानेमा फागो लगायतको उल्लेख्य उपस्थिति रहको थियो ।
उक्त अभियानले फोहोरमैला व्यवस्थापनप्रति स्थानीय तह र जनप्रतिनिधिको सक्रियता देखाएको छ भने आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएको छ ।

Author

You may also like