अर्थ देश–समाज

बढ्दो महँगीले जनजीवन कष्टकर बन्दै

         विमल लामिछाने
   दमक/ दैनिक उपभोग्य सामग्रीमा बढ्दै गएको महँगीले उपभोक्ता मारमा परेका छन् । कोरोनाले अर्थतन्त्रका आयामहरूमा प्रतिकूल प्रभाव पार्न सक्ने आँकलन भइरहेकै बेला बजारमा बढेको अस्वभाविक मूल्य बृद्धिले सर्बसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ ।
सबैभन्दा बढी सर्वसाधारण नेपाली जनताको चुलो जटिल अवस्थातिर गएको छ । बजारमा हरेक सामग्रीको महँगी ह्वात्तै बढेको छ । सर्वसाधारणको भान्सामा नभइनहुने घिउ,तेल तथा अत्यावश्यक सामग्रीमा सतप्रतिशत सम्म मूल्य वृद्धि भएको छ । भान्सा मात्र महँगो भएको छैन, यातायात क्षेत्र पनि उस्तै महँगो हुँदै गएको छ । लत्ताकपडादेखि दैनिक उपभोग्यका सामानको महँगी त बढ्यो तर महामारीले सर्बसाधारणको दैनिकी नचल्दा अब महँगीको मारले डस्दै लाने खतरा अझै कायमै छ ।
पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलमा मूल्य वृद्धि गरेको छ । खरिद मूल्य, कर, प्रशासनिक तथा बिक्री खर्च, प्राविधिक नोक्सानी, ढुवानी र बिक्रेता कमिसन सबै जोड्दा बिक्री मूल्य भन्दा बढी हुन आउने र सोही रकम घाटाका रुपमा थपिँदै गएको निगमको भनाइ छ । जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा चर्को कर लगाइएको भन्दै आलोचनासमेत हुने गरेको छ ।
पेट्रोलियम पदार्थमात्र होइन बजारमा हरेक बस्तुको मुल्य बढेको छ । दैनिक उपभोग्य बस्तुमा गत वर्षको भन्दा महँगी बढेको छ । पाकेको धान बाली बाढी र झरीले सखाप पारेपछि धानको उत्पादन नै घट्यो । त्यसैको प्रभावले पनि हुनुपर्छ, बढी महँगीको चाप परेको छ । तराइका बजारमामात्र नभएर पहाडका बजारमा समेत महँगी बढेको छ ।
यातायात क्षेत्र पनि उस्तै महँगो हुँदै गएको छ । चालू आर्थिक वर्षमा मङ्सिर पछिमात्र यातायात क्षेत्रमा १६ दशमलव २५ प्रतिशतले महँगी बढेको छ । यस्तै दाल, गेडागुडीदेखि विद्यालयको शिक्षाको खर्चसम्म यो बीचमा बढी देखिएको छ । यी उपसमूहमा दोहोरो अंकको महँगी बढ्नु भनेको सर्वसाधारण महँगीको मारमा पर्दै जानु हो ।
पछिल्ला दिनहरुमा सरकारको पुँजीगत खर्च खुम्चिएको छ भने वस्तु तथा सेवाको मूल्य बढ्दो क्रममा रहेको अवस्थामा कोरोना पनि थपिएपछि सरकारलाई मूल्य सन्तुलनमा राख्न चुनौती थपिएको छ । मूल्य सन्तुलनका अनेक रणनीतितिर गहन ध्यान जानैपर्ने अवस्था बाध्यात्मक रूपमा सिर्जना भएको छ ।
कतिपय किसानले उत्पादन गरेको तरकारी र फलफूल बजारसम्म आउनपनि कठिन छ । आपूर्ति व्यवस्थामा नाफाखोर बिचौलियाको बिगबिगी उस्तै छ । बजार आपूर्ति सहज बनाउने विकल्पतिर सरकारका सम्बद्ध निकायको ध्यान जानु उत्तिकै आवश्यक र जरुरी छ ।
महँगीविरुद्ध सरकार चुप लागेर बस्न मिल्दैन । अझ यो वर्ष निर्वाचन वर्ष पनि हो । अहिले बढ्ने महँगीले आउँदा तीन तहकै निर्वाचनमा जनताले प्रश्न उठाउने छन् भन्ने हेक्का राखेर महँगी न्यूनीकरण गर्न सरकार र सरोकार निकाय लागि पर्ने पर्दछ । निर्वाचनको सन्दर्भमा त्यस्तो जनभावनासँग मेलखाने र जनताका समस्यामा मलम लगाउने रणनीतिको जनमतका निम्ति अझै उपयोगी हुनेछ ।
मानिसलाई सबैभन्दा बढी चाप पर्ने भनेको भान्सामा हो । भान्सा सस्तो बनाउने प्रयास सरकारले गर्नुपर्छ । भान्सा नागरिकको पोषणसँग सरोकार राख्छ । भान्सालाई सस्तो बनाउन हिउँदे बालीनाली र तरकारी लगाउन सकेसम्म बढी प्रोत्साहन गर्नु जरुरी छ । बढी उत्पादनले मात्र बजार सन्तुलन ल्याउन सकिन्छ ।

You may also like