दमक । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ पछि साँझमा छाडिएको छ । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न जान लागेको बेला उनीहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयवाट पक्राउ परेका हुन । उनीहरुलाई पक्राउ गरी प्रहरी कार्यालय लगिएको थियो ।
पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाहीलगायत सात जनालाई पक्राउ गरेको थियो । उनीहरु सातै जनालाई साँझ रिहा गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो। भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङ्देनले भोलिको कुरा भोलि नै हुने बताए । उनले भने, ‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी । भोलिको कुरा भोलि नै भन्छौँ ।’
रिहाइपछि राप्रपा अध्यक्ष लिङ्देनले चैत १५ गते पक्राउ परेका नेताहरूलाई रिहाई नगरेसम्म आन्दोलन जारी राख्ने भएको छ । साँझ प्रहरीको नियन्त्रणबाट छुट्कारा पाएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् । उनले आगामी कदमबारे पार्टीमा छलफल हुने बताए ।
राप्रपाका नेताहरु पक्राउ पर्ने वित्तिकै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भत्र्सना गरेको छ । समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै उनीहरूलाई पक्राउ गर्ने कार्यको भत्र्सना गरेका हुन् । राप्रपाका नेताहरु पक्राउ गरेको अलोकतान्त्रिक कृत्यको हामी घोर भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, आइतबार नै एउटै रुटमा तीन वटा आन्दोलन माइतीघर देखी नयाँ बानेश्वरसम्म तीनवटा समुहका प्रदर्शन र धर्ना जारी रहेका छन् । राष्टिूय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक महासंघको नेतृत्वमा बिजुलीबजार पुल केन्द्रित र नेपाल पिछडावर्ग (ओबिसी)को नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन र धर्ना जारी रहेको हो । जसअनुसार माइतीघरमा ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै दलित समुदायले माइतीघर मण्डला, परिसरको सडकमा धर्ना दिएका छन्। नेपाल पिछडावर्ग (ओबिसी) महासंघको नेतृत्वमा दलित समुदायका अगुवाहरुले ‘पिछडिएको समुदाय (ओवीसी) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
शिक्षकहरू भने बिहान ९ बजे देखी नै बिजुली बजारमा केन्द्रित आन्दोलन जारी राखेका छन् । बिगतमा १२ः०० देखी ३ः०० बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने कार्यालय समयलाई अबरोध हुने गरी बिहान ९ः०० बजे देखी नै आन्दोलन सुरू गरेका हुन् । उनीहरू बिगत झन्डै ३ हप्ता देखी आन्दोलनमा रहेका छन् ।
उता, राप्रपा भने निषेधित क्षेत्र तोडने भन्दै नयाँ बानेश्वरमा केन्द्रित भएका छन् । आफ्ना पार्टी नेता बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतको रिहाइको थप माग राखेर उनी बानेश्वरमा केन्द्रित भएका हुन् ।

Author

You may also like