कालो रात
हिडाइ बोलाइको गतिशीलता मौन
शत्रुको डर
चियोचर्चा
मानौकि
जताततै जतासुकै
काडैकाडाको सुराकीको खेल
न दिन न रात
अमिल्दा पर्खालहरु तोडनुपर्ने
नयाँ क्रान्ति छेडनुपर्ने
वाकस्वतन्त्रताको बिजारोपण गर्नुपर्ने
जेल, नेल, हतकडीको प्रवाह गर्न नहुने
उबेलाको क्रान्ति यस्तो थियो
बङकरमा जिन्दगी राखेर हिडनुपर्ने
जीवन जोखिममा राख्नुपर्ने
कस्तो आर्तनाद थियो
शत्रुहरुका पिल्लर भत्काउनुपर्ने
देशमा नौलो बिहानी ल्याउनुपर्ने
एकात्मक राज्य सत्ताको किल्ला तोडनुपर्ने
हिजोका दिन
काला रातहरु मडारिए
रङ्ग भित्रका बेरङ्गहरुका मुटु थर्किए
उलटपुलट परिवर्तन भए
करोडौं हातहरु मुटठी कसेर जुर्मुराए
बलिदानी सङघर्षले क्रान्तिको दीप बल्यो
जनताका घरघरमा उज्यालो छायो
खुसीको सीमा रहेन
देशमा आमूल परिवर्तनको आभाष जनताले पाए
तर
आज जनताले ल्याएको गणतन्त्र
भाडतन्त्र र लुटतन्त्रमा परिणत भयो
गरिब , दुःखी जनताहरुको बिल्लिबास भो
जनताका मनहरु बिभाजित भए
आशा निरासामा बदलियो
नेताहरु गेरुबस्त्रधारी भए
अनेकन काण्डहरु दिनदिनै घटदै गए
एकात्मक राज्यसत्तालाइ दोषजति अहिले थुपारिरहेछन्
धमिलो पानीमा माछा मारिरहेछन
सत्ताको सिढी चढेर गणतन्त्रको वकालत गर्नेहरु
मालामाल मन्त्रालयमा छन
भागबण्डामा तानातान गर्दैछ्न
हिजोका राता रगतको मूल्य र मान्यतालाई
लछारपछार गर्दैछन किन ?
न लाज न सरम
न संसद पदको गरिमा
ताण्डव नृत्य देखाउदा सम्म जनता जाग्या छैनन
स्वरमा स्वर मिलाउन सक्या छैनन
यहाँ त गणतन्त्रका नाममा नेताहरूलाई लुट्ने छुट छ
जनतालाई नेल र जेल छ
के यही हो गणतन्त्रको उपलब्धि ?
निरीह नेपाली जनताहरुले नेतालाई राख्ने प्रश्न
अनुतरित छन , मौन छन
यो बनायो लाजनीतिले
अबको आगामी कार्यभार के ?
कसले देशलाई बुरुण्डी बनाउन चलखेल गराउदैछ ?
दोष किन दिनु हिजोका पुरानो सत्ताका मालिकलाई ?
आज लामबद्द देखिदैछन राता र पहेँलो झण्डाहरु
सडकमा यत्रतत्र सिगारिरहेछन
उता गणतन्त्रवादी शक्तिहरु सहिद गेटमा सलामी गर्दैछन
अनेकन नाटक गरिरहेछन्
सक्कली होइन नक्कली भजन गाउदैछन गणतन्त्रको
सुगा रटान गर्नु किन ?
मौन रहनु
गरेका गल्ती सपार्नु
हिजोको कालो रातको मर्म र भावना बुझेर अघि सर्नु
आफूले गरेका गल्तीलाइ स्वीकार्नु
सडकमा किन लामवद्द भए जनता केरकार गर्दै नगर्नु
बरु सच्चिन्नु
कुरा बिग्रेको छ हिजो
के गरेर बिग्रेको हो ?
बृहत् केलाउनु
हिजोका सारथिलाइ
नचिढ्याउनु
हातमा हात
साथमा साथ माग्नु
अनि तिमीले लडेर , भिडेर ल्याएको
गणतन्त्रको गरिमा उचो हुनेछ
गणतन्त्र दिवस जिन्दावाद
गणतन्त्र दिवस जिन्दावाद
गणतन्त्र दिवस जिन्दावाद ।
हो, आज १८ औं गणतन्त्र दिवस । जनआन्दोलन २०६२/ ६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ / ०२/१५ गते नेपाललाई सङघीय लोकतान्त्रिक घोषणा गरेकै दिन हो । यानेकि सदियौ बर्षदेखिको एकात्मक राज्यसत्ताको मालिकलाई परिवर्तन गरेर देशमा गणतान्त्रिक मोर्चाद्वारा ल्याएको दिवस जसले जनताको हक अधिकारलाई सुनिस्चितता गरेको दिन हामी महान नेपाली जनताले बिर्सन हुन्न । यहाँ जसले जे भनुन् जे गरुन् नेपालमा गणतन्त्र आएदेखि अहिलेसम्मको अवस्था हेर्दा नेताले होइन ती ज्ञात अज्ञात सहिदहरुको रगतले नेपालमा गणतन्त्रको बिजारोपण भने भएकै हो तर यो अवस्थासम्म आइपुग्दा जनताले भनेजस्तो गणतन्त्र नेपालमा आएको भने देखिन्न । आएपनि दुई चारजना लोभीपापी शीर्ष नेताहरुलाइ आएकै होला यधपी ती भोकानाङ्गा, गरिब किसान, मुक्तकमैया, हलिया, सुकुम्बासीहरुलाई भने यो गणतन्त्रले केही नयाँ, नौलो उत्साहजनक काम भने ल्याउन सकेन । हिजोका दिनमा सतिसाल भएर राजनीतिक बृत्तमा आफ्नो नाम दर्ज गर्न सफल भएका ती राता र ताता मान्छेहरुले आज झण्डा परिवर्तन गरेर अघि बढेको अवस्था तरोताजै छ । उतिबेलाको सशस्त्र जनयुद्धको युद्ध छेडने महान क्रान्तिकारीहरु आज हिजोको जनयुद्धको गरिमालाई बिर्सेर सत्तासाझेदारीको गोटी बनेका छन । राजनीति परिवर्तन गरेका छन । जनता सधै शासित र नयाँ स्वरुपका प्रजाको रुपमा नरहून भनी राजनीतिलाई शुद्धीकरण गर्न सचेतनाको आवाजको रूपमा यो गणतन्त्र दिवसलाई एउटा मुल एजेन्डाको रुपमा लिएर हिडनुपर्ने हो तर त्यो गर्न सकेनन, शीर्ष नेताहरुले । यदी उनीहरूले देशलाई सही दिशामा लान सकेको भए राजनीतिको मियो अर्को अदृश्य शक्तिमा जान सक्ने थिएन । त्यो कसका कारणले भन्दा सबैभन्दा ठूला दलहरुकै कारणले गर्दा हो । पुरानो विरासतको अवसान पश्चात अबको राजनीतिक बाटो कतातिर लम्किदैछ । यसलाई पूर्ववत अवस्थामा लैजाने को हो त ? जो बयोबृद्द अवस्थामा हुँदासम्म राजनीतिक बृत्तमा चुम्बक टासिएझै टासिरहेको छ । उसले हिजोका भ्रष्टचारी, अनेकन काण्ड मच्चाएका दलहरुलाइ आफ्नो प्यानलमा ल्याएर सुनपानीले आफ्नो गरिमालाई सत्ता टिकाउन होडबाजीको राजनीति गरिरहेको छ । आखिर किन यिनीहरूले गणतन्त्रको गरिमालाई सही दिशामा ल्याउन नसकेर आज काठ्माण्डौमा हिजोका राजतन्त्रका मालिकहरुले किन आफ्नो बहादुरी देखाउन खोजिरहेका छन । के यो पनि आज दलीय घुसपैठ हो त ? होइन भने आज गणतन्त्र दिवसकै दिन गणतन्त्रका हिमायतीहरुलाइ किन काउन्टर अट्याक गर्दैछन, आजकै दिन । उनीहरूलाई दोष लगाएर, नानाभाती कुरा गरेर भाषण गर्नु किन ? यहाँ जनताहरुले तत्काल राजतन्त्रको घोषणा भने गर्न चाहेका छैनन तर यहाँ गणतन्त्रका ठेकेदारहरुले हजारौं हजार राजामहाराजा पाल्नका निम्ति राज्यको ढिकुटी दोहन गरेका छन । नेपालको आर्थिक अवस्था डामाडोल बनाएका छन । अनि किन दोष लगाउनु सडकभरि अनेकन आन्दोलन गर्नेदलहरुलाइ ? अबपनि नसच्चिने दलहरु हो भने मिसन – ८४ सम्म जनता पर्खनेवाला छैनन त्यो त शीर्ष नेताहरूलाई जनताले अवरोध तुल्याएर लखेटेको, झापड हानेको कुराबाटै प्रतित हुन्छ । अब बुझौ कि दलहरु सच्चिनु जरुरी छ । हामी लोकतान्त्रिक गणतन्त्रवादी शक्ति हौं भन्ने बुझेर अघिबढ्न सक्नु जरुरी छ । बेलैमा बुद्धि पलाउन सकोस, दलहरुको ।
आउ मिलाउ, स्वरहरु, आउ मिलाउ, हातहरु ।