देश–समाज राजनीति विचार/वहस स्थानीय

प्रतिनिधिसभा उम्मेदवारका लागि कांग्रेसद्वारा सिफारिस : कांग्रेसमा पुरानाकै बाहुल्यता

दमक । नेपाली कांग्रेसले नेपाली राजनीतिमा दैध चरित्र प्रदर्शन गरिरहेको छ । एकातिर संसद् पुनस्थापनाका निम्ति रिट दर्ता गरेको छ भने अर्कोतिर जेनजी आन्दोलनले उठाएको पुस्तान्तरण र परिवारवादको मुद्दा विपरित उम्मेदवारी सिफारिस गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलन नेपो बेबी, नेपो किड्स भन्ने विषय उठाएरै आन्दोलन भएको थियो तर त्यो आन्दोलनका मुद्दालाई वेवास्ता गरेको देखिन्छ ।
कोशीका विभिन्न जिल्लाका क्षेत्रिय समितिहरुले पुनः तिनै पटक पटक लाभको पदमा पुगेका, बदनाम भएका र बृद्धवस्थाका व्यक्तिहरुलाई नै फेरी सिफारिस गरेर धमाधम पठाइरहेको छ ।
यता कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुस्तान्तरणको र नेतृत्व हस्तान्तरणको पक्षमा पार्टीभित्र सशक्त ढंगले लडिरहेका छन्, तर उनीहरूकै नेतृत्वमा रहेको कांग्रेसका स्थानीय कमिटीहरूबाट भने पुनः वृद्ध नेता र पटकपटक सत्तामा पुगेकाहरूलाई नै प्रतिनिधि सभामा उम्मेदवार बनाउन सिफारिस भइरहेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका झापा, मोरङ, सुनसरी र उदयपुरका दर्जनौं उम्मेदवार सिफारिस गरेको छ ।
सिफारिसमा पर्नेहरूमा अधिकांश पुरानै अनुहार छन् भने केही नयाँ छन् । पटक–पटक सांसद र मन्त्री भएकाहरू नै पुनः सांसदको उम्मेदवार बन्ने दौडमा देखिएका छन् । सुनसरीको क्षेत्र नम्बर ३ बाट गत निर्वाचनमा पराजित विजयकुमार गच्छदार यस पटक पुनः उम्मेदवार बन्ने लिष्टमा परेका छन् । यद्यपि दुहबीका नगर प्रमुख वेदकुमार गच्छदारको पनि नाम सिफारिस गरिएको छ । यद्यपि कांग्रेसले स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद र राष्ट्रिय सभाका सांसदहरूलाई उम्मेदवार सिफारिस नगर्न सर्कुलर नै जारी गरेको थियो ।
गच्छदार सुनसरी–३ बाट २०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । त्यसक्रममा उनी पटक–पटक सांसद र मन्त्री बने । उनी हाल ७३ वर्षका भए । उनी हालसम्म पाँच पटक उपप्रधानमन्त्री बनेका छन् भने १२ पटक मन्त्री बनेको रेकर्ड छ ।
यस्तै सुनसरीको क्षेत्र नम्बर २ बाट सिफारिस भएका कांग्रेस नेता सिताराम मेहता पनि वृद्ध नेता हुन् । उनी उमेरले ७३ वर्ष लागेका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका उनी २०७४ सालमा पनि विजयी भएका थिए । २०७३ सालमा उनी यातायात राज्यमन्त्री पनि भए ।
यस्तै उदयपुरको क्षेत्र नम्बर १ बाट पुनः डाक्टर नारायण खड्का उम्मेदवारमा सिफारिस भएका छन् । उनीसहित विदुर बस्नेत लगायतको नाम सिफारिस भएको उदयपुर कांग्रेस स्रोतले बतायो । यद्यपि खड्का नै उम्मेदवार बन्ने उक्त स्रोत दाबी गर्छ । उदयपुरको सो क्षेत्रबाट खड्का पटक–पटक चुनाव लड्ने र जितेर मन्त्री बनेका व्यक्ति हुन् । उनी ७९ वर्ष पुगेका छन् ।
त्यस्तै ६८ वर्षीय डाक्टर मिनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् । पुस्तान्तरण र जेनजी आन्दोलनको भावनाको सम्मान गर्नुपर्छ भन्ने धारणा राख्दै आएका उनी पुनः सांसद बन्ने दाउमा छन् । रिजाल संविधान सभा सदस्य तथा सांसद भइसकेका छन् । उनी यसअघि रक्षामन्त्री, संस्कृति मन्त्री, सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् ।
यस्तै मोङको क्षेत्र नम्बर १ बाटै उम्मेदवार सिफारिस भएका कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू पनि पटक–पटक सांसद भएका व्यक्ति हुन् । विघटित संसदमा पनि लिम्बू नै निर्वाचित भएका थिए । मोरङको सो निर्वाचन क्षेत्रमा २०६४ साल यता उनै लिम्बूले टिकट पाएर चुनाव लडिरहेका छन् ।
मोरङको क्षेत्र नम्बर ४ मा पूर्वअर्थमन्त्री महेश आचार्य पुनः उम्मेदवार बन्ने दाउमा छन् । ७१ वर्षीय आचार्य यसअघि पटक–पटक सांसद बनेका छन् । उनी अर्थमन्त्रीका साथै वन तथा वातावरण मन्त्रीसमेत भइसकेका छन् । २०७४ सालमा बाम गठबन्धनबाट पराजित भएका आचार्यले २०७९ सालमा भने टिकट पाएका थिएनन् । यस पटक पुनः उनको नाम सिफारिस भएको छ ।
मोरङकै क्षेत्र नम्बर ६ बाट एकल उम्मेदवार सिफारिस भएका डाक्टर शेखर कोइरालाको उमेर ७६ वर्षको भयो । उनी मन्त्रीको स्वाद चाख्न नपाएका नेता भए पनि पटक–पटक सांसद बनिसकेका छन् ।
पटकपटक चुनाव लडेर जितेका, लाभको पदमा पुगेकाहरू नै अहिले पनि अगाडि आएकोमा कतिपय कांग्रेसी कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । ‘जेनजी आन्दोलनले पुस्तान्तरणसँगै परिवारवादको पनि अन्त्य गर्नुपर्छ भन्ने भावना बोकेको थियो । पटकपटक चुनाव लडेका, जितेका, मन्त्री भएकाहरूलाई बिदा गर्नुपर्छ भन्ने हो,’ तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले भने, ‘पुस्तान्तरण भनेको बाबुको पालो सकियो, छोरालाई वा छोरीलाई दिनु भन्ने पनि होइन होला, तर कांग्रेसको अहिलेको उम्मेदवार सिफारिसमा त्यो विषय प्राथमिकतामा परेन । यो चिन्ताजनक विषय हो ।’
रास्वपादेखि हर्क साम्पाङ र कुलमान घिसिङका पार्टीमा धेरै नयाँ अनुहारका उम्मेदवार दिने भएकाले पुराना पार्टीको मत त्यता जानसक्ने विश्लेषक बताउँछन ।

यस्तो छ झापाको सिफारिस
दमक । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका आकांक्षीहरूको नामावली प्रदेश नेतृत्वलाई सिफारिस गरेको छ ।
जिल्ला सभापति देउकुमार थेवेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले पाँचै क्षेत्रका उम्मेदवारहरूको सूची सर्वसम्मत रूपमा कांग्रेस कोशी प्रदेश समितिमा पठाउने निर्णय गरेको हो ।
केन्द्रीय समितिले मंसिर १५ गते नै संगठन केन्द्रीय विधानअनुसार क्षेत्रीय स्तरमा बैठक बसेर नाम सिफारिस गर्न निर्देशन दिएको थियो । त्यसअनुसार झापाका सबै क्षेत्रमा विवादरहित रूपमा नाम सिफारिस भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए । सिफारिसमा राय–सुझाव आवश्यक परे जिल्ला कार्यसमितिले पुनः पठाउन सक्ने व्यवस्था पनि खुला राखिएको छ ।
क्षेत्रगत सिफारिस
क्षेत्र नं–१
प्रत्यक्ष : विश्वप्रकाश शर्मा –एकल
समानुपातिक : रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की, शोभा श्रेष्ठ नेम्बाङ
क्षेत्र नं–२
प्रत्यक्ष : सरिता प्रसाई, छत्रबहादुर गिरी, सजेश शिवाकोटी
समानुपातिक : सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मिरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम, कृष्णबहादुर श्रेष्ठ
क्षेत्र नं–३
प्रत्यक्ष : नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी, टिकाराज ढकाल, सिताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ्ग लिम्बु
समानुपातिक : सुशिला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सितादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा, शिला तामाङ
क्षेत्र नं–४
प्रत्यक्ष : देउकुमार थेवे, उत्तमबहादुर चौंलागाई, धनमाया चिमरिया
समानुपातिक : सन्तोषकुमार मेनेङ्बो, टंकबहादुर विश्वकर्मा, सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, मथुरादेवी श्रेष्ठ
क्षेत्र नं–५
प्रत्यक्ष : अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी, सिरम कार्की
समानुपातिक : महेन्द्राकुमारी लिम्बु, सुरेश सुब्बा, दिलिप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भिममाया उप्रेती भुजेल, रोहितकुमार शाह ।

Author

You may also like