दमक÷ गत भदौ २३ र २४ को आन्दोलनपछिको राजनीतिक परिवेशमा राजनीतिक दलहरुलाई दिएको रुपान्तरणको सन्देशले नेकपा एमाले ११ औ महाधिवेशनमा होमिएको छ । एमालेले आज भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरीमा उद्घाटन सत्रका निम्ति सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ । आजदेखि मङ्सिर २९ गतेसम्म हुने सो महाधिवेशनको उद्घाटनमा दर्जनबढी राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको छ ।
देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माणजस्ता गतिविधिमा सक्रिय छन् । महाधिवेशन प्रतिनिधिहरु सबै आइसकेकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी गराए ।
उद्घाटनस्थल विश्व सम्पदासूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदैछ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदैगर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भिड लाग्नेगरेको छ ।
मञ्च निर्माणमा खटिएकी नेकपा (एमाले) भक्तपुर जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताएकी छन् । उनका अनुसार मञ्चको मुख्य संरचना तयारी अवस्थामा रहेको छ । करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू बनाउने काम सकिएको छ ।
चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको थापाले बताईन । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिनेछन् । मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण भइरहेको छ । त्यस्तै उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण भएका छन ।
उद्घाटन समारोहस्थलमा तीन लाख जनासम्म अट्नेगरी तयारी भइरहेको छ । प्रमुख दर्शकस्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइएको छ ।
सो कार्यक्रमलाई अनुशासित बनाउन १० हजार नेशनल भोलेन्टियर्स तथा अन्य जनसङ्गठनका स्वयंसेवक परिचालन गरिने भएको छ । पोसाकसहितका ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिएको बताइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गते मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल ¥यालीसहित सहभागीहरू सभास्थलतर्फ जाने व्यवस्थासमेत मिलाइएको पनि मन्त्री थापाले बताईन ।
यसअघि निमन्त्रणा पत्र लिएर भक्तपुरको चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी गराएका छन् उनका अनुसार वडाअनुसार कार्यकर्ताहरूले घर–घरमा पुगेर करिब २२ हजार निमन्त्रणापत्र वितरण भएको छ । विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएको उनले सुनाए । देउजाले भक्तपुरबाट मात्र करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य रहेको जानकारी गराए ।
पदको रस्साकस्सी
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरिए पनि महासचिवका लागि दावेदार भए पनि अझै टुंगो भने लागिसकेको छैन ।
अध्यक्षपछिको शक्तिशाली पद मानिएको महासचिव पदको उम्मेदवार हुन नेताहरूको दौडधुप बढेको छ । तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका ओली समूहबाट महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले दाबी गरेका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट, योगेश भट्टराई महासचिव पदका लागि दौडधुपमा रहेका छन् । विष्ट र भट्टराईले महासचिव बन्ने लबिइङ गर्दैगर्दा पाण्डे भने मौन बसेका छन् । पाण्डे पोखरेल समूहको सहमतिमै महासचिव बन्ने र अरू नेताको चित्त दुखाउने काम नगर्ने निष्कर्षमा पुगेका छन् ।
ओली समूहमा रहेका पृथ्वीसुब्बा गुरुङले ओली समूहबाटै महासचिव नपाएर पोखरेल समूहमा समाहित भएको अवस्थामा पाण्डे, विष्ट र भट्टराईले उनलाई नै महासचिव स्वीकार गरेर अन्य पदमा बस्न तयार रहेको बताइन्छ ।
अध्यक्ष पदबाहेक अन्य पदमा आफ्नो समूहबाट ककसलाई उम्मेदवार बनाउने ’दयगतमा ओली र पोखरेल दुवै समूह आन्तरिक छलफलमै छ । ओली समूहले आफ्ना नेतालाई रोक्न खोजिरहेका बेला पोखरेल समूहले ओली समूहका नेतालाई विभिन्न पदको ‘अफर’गर्दै आफ्नो तर्फ तान्ने प्रयास गरिरहेको छ ।
फेरी अध्यक्ष हुने ओलीको दावी
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औं महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।
उनले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रहसमेत गरेका छन् । ओलीले एमाले लामो इतिहास भएको पार्टीका रूपमा रहेको बताउँदै यो जनचाहनाअनुसार चल्ने पार्टी भएकाले यसले देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको उल्लेख गरे । उनले एमालेलाई सिध्यायौं भन्नेहरूले एमाले हैसियत हेर्न २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनको उद्घाटनसत्रमा आउन आग्रहसमेत गरेका छन् ।