देश–समाज राजनीति समाचार स्थानीय

कमलमा राष्ट्रिय परिवर्तन पार्टी घोषणा सभा : हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गर्न माग

दमक । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७८ जना हत्याका दोषीमाथि कारवाहीको माग गरिएको छ ।
कमलमा सहिद, घाइते र जेनजीलाई समेटने गरी गठन भएको राष्ट्रिय परिवर्तन पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै सहिदको तर्फबाट वार्ता टोलीका संयोजक गणेश प्रसाद चौलागाईले उक्त माग गरेका हुन ।
कमल–५ स्थित जनजाति रंगशालामा शनिबार आयोजित सो घोषणसभामा सहिद श्रेयम चौलागाईका पिता समेत रहेका इटहरी निवासी चौलागाईले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तत्कालिन सिडियो, प्रहरी प्रमुख र आन्दोलनको बेला फिल्डमा खटिएका सुरक्षाकर्मीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले त्यति ठूलो आन्दोलनलाई अनेकन उपनाम दिएर निस्तेज तुल्याउन खोजिएको आरोप पनि लगाए । चौलागाईले जेनजीका माग र मुद्दालाई पुरा गर्ने क्षमता यदि अहिलेको सरकारमा छैन भने राजीनामा दिन आग्रह पनि गरे । उनले ओझेलमा पारेर पुनः उहि पुरानो प्रवृत्तिको पुनरावृत्ति गराउने गरी अहिले कांग्रेस, एमाले र माओवादीसमेत लागेका छन उनीहरुलाई निर्वाचनबाट परास्त गरेर पालैपालो सेण्डिकेट प्रणालीमा शासनसत्ता हातमा लिने परिपाटीको अन्त्य गर्नुुपर्ने बताए । अब पनि उनीहरुकै पछाडि दौडिने वातावरण बन्यो भने फेरी नेपाल सयपछि पछाडि धकेलिने उनले बताए । उनले लाखौं जेनजी समाहित हुने पार्टी नै परिवर्तन पार्टी रहेको र यहि पार्टीका माध्यमबाट मात्र जेनजी आन्दोलनका सहिद र घाइतेका सपना पुरा गर्दै देश समृद्धिको बाटोमा अगाडि बढ्ने पनि बताए ।
हजारौं जेनजीहरुको उपस्थिति रहेको सो कार्यक्रममा सहिदको तर्फबाट विश्व राईले भदौको २३ र २४ गते बगेको रगत आमाबाबाको आँसु, युवाको घाउ र देशप्रतिको माया बोकेर जन्मिएको राष्ट्रिय परिवर्तन पार्टी रहेको बताए । उनले सहिद परिवार, घाइते युवा, देशभरिका सजग नागरिक मिलेर राजनीति र देश सञ्चालनमा देखिएको विकृति र विसंतिको अन्त्य गर्नका निम्ति पार्टीमा समाहित भएको उनले बताए ।
सो कार्यक्रममा सहिदका परिवार तथा घाइतेलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने घोषणापत्रसमेत सार्वजनिक गरिएको थियो । घोषणपत्र सार्वजनिक गर्दै उनीहरुले ७ वटा मुद्दालाई उठाएका छन् । प्रत्यक्ष राष्ट्रपतिय प्रणाली देखि सुशासन र इमान्दार राजनीतिक संस्कारलगायतका ७ वटा मुद्दा उठाएका छन र ति मुद्दाहरु पुरा गर्दै देशमा विकास र समृद्धिको खाका कोर्न कृषि, पर्यटन, खनिज र जलविद्युतको विकास र समृद्धिको पिलर मानेर घोषणापत्रमा उल्लेख गरेका छन् । घोषणपत्र सार्वजनिक भिडियो (एलईडी)को माध्यमबाट गरिएको थियो ।
सो घोषणासभामा घाइते तथा सहिदका परिवारलाई राख्न छुट्टै मञ्चको व्यवस्था गरिएको थियो । जसमा दर्जनौं घाइते तथा सहिदका परिवारहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा दुर्गा प्रसाई, जीवन बस्नेत, उषा लक्ष्मी राई, सिर्जना सुनुवार, अजय राई, दिया बोहोरा, सदिक्षा लुहुनले समेत बोलेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, राष्ट्रिय परिवर्तन पार्टीका केन्द्रीय समितिका पदाधिकारी तथा विभिन्न जिल्ला तहका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रीय महासचिव अञ्जु राईले सो कार्यक्रम सञ्चालन गरेकी थिईन ।
उम्मेदवारी घोषणा
यसैगरी, राष्ट्रिय परिवर्तन पार्टी खोटाङका २५ वर्षीया मिरेश राईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकल उम्मेदवारी घोषणा गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका(५ दुर्छिम निवासी २५ वर्षीय युवक राईले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्नुअघि राष्ट्रिय परिवर्तन पार्टी खोटाङले २१ वर्षीय युवक तपसेन राईको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमति गठन गरेको थियो ।
समितिको उपाध्यक्षहरूमा दौमन्ता राई, पवन चौलागाईं र युशन राई, सचिवमा रामकुमार राई, सहसचिवमा सुमन मगर र गङ्गा राई, कोषाध्यक्षमा ऋतु राई र सहकोषाध्यक्ष शम्भू नेपाली रहेका पार्टीले जनाएको छ ।
जेनजी फ्रन्टले झापाबाटै जागरणसभा गर्ने
सरकार र जेनजी आन्दोलनकारीबिच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरणसभा झापा क्षेत्र नम्बर ५ बाट सुरु हुने भएको छ ।
आइतबारदेखि झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेनजी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा(५ समूह स्थानीय आयोजकका रूपमा रहने बताइएको छ ।
कार्यक्रममा स्थानीय रूपमा जेनजी आन्दोलनमा सक्रिय जेनजी अगुवादेखि नागरिक समाजका प्रतिनिधिका साथै राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णले जानकारी दिए ।

Author

You may also like