देश–समाज राजनीति विचार/वहस स्थानीय

देश र पार्टीका लागि सक्षम व्यक्तिः डा. शेखर कोइराला

:- यज्ञप्रसाद भट्टराई -:
नेपालले विभिन्न कालखण्डमा थुप्रै राजनीतिक परिवर्तनहरूको सामना गरिसकेको छ । तर ती परिवर्तनहरूले देशको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अपेक्षित सुधार ल्याउन सकेका छैनन् । हरेक पटक सत्ता फेरिए पनि जनताको जीवनस्तर उस्तै रह्यो । परिवर्तनको रसास्वादन नेतृत्व र उनका आफन्त, आसेपासेले मात्रै गरेपछि जनतामा दलप्रतिको भरोसा क्रमशः कमजोर हुँदै गयो । यही कारण २०७९ को आमनिर्वाचनमा जनता वैकल्पिक दलहरूको खोजीमा उत्रिए ।
भर्खरै भएको जेनजी आन्दोलन ले पनि पुराना नेताहरू प्रतिको असन्तोष झन् उजागर ग¥यो। कांग्रेसभित्र अहिले निष्कलंक, इमानदार र सर्वस्वीकार्य नेतृत्वको खोजी चलिरहेको छ, जसमा डा. शेखर कोइराला सबैभन्दा भरोसायोग्य व्यक्तित्वका रूपमा देखिएका छन् ।
राजनीति देश र जनताको विकासका लागि हुनुपर्ने हो । तर पछिल्ला वर्षहरूमा नेतृत्वले आफ्ना स्वार्थअनुकूल राजनीति गर्न थालेपछि देश लथालिंग बन्यो, कांग्रेस भताभुंग भयो, जनताबीचको भावनात्मक एकता पनि फाट्यो । अपराधी बचाउने र निर्दोष फसाउने प्रवृत्तिले राजनीतिलाई कलंकित बनाएको छ ।
भ्रष्टाचार गर्नेहरू पुरस्कृत र इमानदारहरू उपेक्षित हुने प्रवृत्तिले दलहरूप्रति जनताको विश्वास ह्रासोन्मुख अवस्थामा पुगेको छ । जनतामा अब राजनीतिक वितृष्णाका ज्वारभाटा उठिरहेका छन् ।
आज पनि धेरै नेताहरूका वरिपरि अपराधीहरूको झुण्ड देखिन्छ । पार्टीहरू व्यक्तिगत स्वार्थका लागि नेता फेर्ने “हटिया” जस्ता बनेका छन् । यसरी पार्टीभित्र ईमानदार कार्यकर्ताले कहिल्यै पालो नपाउने अवस्था रहँदा नेपाली कांग्रेस पनि आफ्ना संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको आदर्शबाट टाढिँदै गएको अनुभूति जनतामा फैलिएको छ ।
राजनीति, शिक्षा, स्वास्थ्य र विकास सबै क्षेत्रमा राजनीतिकरणले जनताको आधारभूत आवश्यकता ओझेलमा परेको छ । रोजगारीका अवसर हराएपछि युवाशक्ति विदेशिन बाध्य भएको छ । भ्रष्ट नेताहरूले देशका उद्योगधन्दा कौडिको मूल्यमा बेचिसकेका छन् ।
राजनीतिमा आएका धेरै युवा पनि राष्ट्रसेवाभन्दा सम्पत्ति दोहनमै रुचि राख्छन् भन्ने मान्यताले जनतामा अमिट छाप बनाएको छ । यस्तो अवस्थामा कांग्रेसले आफ्नै ड्राइभर–नेतृत्वले स्टेरिङ मजबुत रूपमा समात्न नसकेको अवस्था दुखद् छ ।
जनतामा पुनः विश्वास कायम गर्न अब नेपाली कांग्रेसले नेतृत्व फेर्नैपर्ने बेला आएको छ । पार्टीमा सर्वस्वीकार्य, इमानदार र दृष्टिवान् नेतृत्वको आवश्यकता छ । जनताप्रति सच्चा उत्तरदायित्व राख्ने नेतृत्वले मात्र देशलाई आत्मनिर्भर बनाउन सक्छ–विदेशी सहायता वा ऋणमा निर्भर नहुई ।
डा. शेखर कोइराला त्यही सोचका प्रतिनिधि हुन् । उनी विकासलाई जनसहभागिता र राष्ट्रिय हितसँग जोड्न चाहन्छन्। आसन्न १५औं महाधिवेशनमा उनी सभापतिका उम्मेदवार बन्ने निश्चित भइसकेको छ । १४औं महाधिवेशनमा आफ्नै परिवारभित्रको असहयोगका कारण झिनो मतले पराजित भएका उनी यसपटक सो दुर्भाग्य दोहोरिने सम्भावना न्यून देखिन्छ । डा. कोइरालाको विश्वास छ–“सिंगो देशलाई शिरमा राख्ने दृढ संकल्पले मात्र समृद्ध नेपाल सम्भव छ ।” उनी जनताको मनमा फेरि राजनीतिक विश्वास जगाउनेतर्फ लागेका छन् ।
आजका नेपाली मतदाताले राजनीति सूक्ष्म रूपमा अध्ययन गर्न सिकेका छन् । को इमानदार छ, को अवसरवादी(सबै बुझिसकेका छन्। वर्तमान नेतृत्वप्रति निराशा बढ्दै जाँदा कांग्रेसभित्र अब “भरिलो धान” खोज्ने आवाज उठ्न थालेको छ । र त्यो खोजी डा. शेखर कोइरालामा केंद्रित हुँदै गएको छ ।
आज कांग्रेसभित्र बहस सुरु भएको छ(व्यक्ति जोगाउने कि पार्टी? विचार जोगाउने कि व्यभिचार? सुशासन जोगाउने कि भ्रष्टाचारलाई निरन्तरता दिने?
यी प्रश्नहरूको उत्तर अब नेतृत्वले नै दिनुपर्छ ।
जनताको अविश्वास तोड्न, नयाँ विश्वास निर्माण गर्न र पार्टीलाई पुनर्जीवित बनाउन कांग्रेसभित्र डा. शेखर कोइरालालाई सभापति बनाउने सहमति क्रमशः बलियो बन्दै गएको देखिन्छ ।
अहिलेको अवस्थामा देश बनाउने र कांग्रेस बचाउने एक मात्र विश्वास र भरोसायोग्य नेता डा. शेखर कोइराला नै हो भनेर साझा धारणा बनाउने कांग्रेस नेतृत्वको संख्या समेत बढ्दै गइरहेको अवस्था छ । नेपाली कांग्रेस भित्रकै सबैभन्दा त्यागी ठूला र दार्शनिक नेता भएकोले डा. शेखर कोइरालालाई नेपाली जनता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले अत्यधिक विश्वास भरोसा र समर्थन गरेको किमार्थ पनि होइनन् बरु उनी त नेपाली जनताको दुःख दर्द र कष्टहरु सहितको जनभावना बुझ्ने तत्काल नेपाली जनताका साथमा पुग्ने देश र जनताका आवाज बुलन्द रूपमा उठाउने, र बिधि र पद्धतिअनुसार चल्ने आफ्नो विचारमा भिष्म पितामह झै सधै अडिग रहने अन्य नेता जस्तो भ्रष्ट र अपराधिक क्रियाकलापमा अहिलेसम्म सरिक नभएको खराब आचरणमा सामेल नभई देश र जनताको भलाइका लागि निरन्तर लडिरहने एक असल अभिभावक भएकोले नेपाली जनताले र कांग्रेसका अत्यधिक नेता तथा कार्यकर्ताहरुले मन पराएका नेता हुन ।
नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार बर्षमा हुने महाधिबेशन यसपटक यहि आउँदो पुष २६ देखि २८ गते सम्पन्न हुँदैछ । पार्टीप्रति नेपाली जनताको विश्वास र भरोषा नजिती परफ्यूम दल्दैमा र रुप्पी स्टाईलमा कपाल बङ्ग्याउँदैमा कोहि पनि नेता बन्न सक्दैन भन्ने कुरा अब नेपाली कांग्रसका अब्बल नेतृत्वले बुभ्mदै पर्दछ । यसैले नेपाली जनताको राजनीतिप्रतिको वितृष्णा तोडदै विश्वस र भरोषा फर्काउन डा= शेखर कोईरालाले अब नेपाली कांग्रेसभित्र आक्रामक नेतृत्व गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सम्बोधन गर्न समेत अहिले डा शेखरलाई नेपाली कांग्रेसको सभापति बनाउनै पर्ने आवश्यकता रहेको छ ।

Author

You may also like