दमक\ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न बिहीबार दिएको आदेशप्रति सम्मान जनाएको छ । शुक्रबार जारी विज्ञप्तिमा पार्टीले विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू हाल यथावत् रहे पनि ती तत्कालीन निरंकुश सरकारबाट सुरू गरिएको राजनीतिक प्रतिशोधको श्रृङ्खलाको परिणाम भनेर कार्यवाहक सभापति डीपी अर्यालले यसबारे व्याख्या गरेका छन् ।
रास्वपाले वर्तमान नागरिक सरकारले आवश्यक कदम चाल्दै राजनीतिक प्रतिशोधको यो श्रृङ्खलालाई पूर्णविराम दिने विश्वास व्यक्त गरेको छ । यसका साथै, राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्ने देश–विदेशमा रहेका न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत् न्यायका पक्षमा उभिने पार्टी सदस्य, समर्थक र शुभेच्छुकप्रति आभार प्रकट गरिएको छ । विज्ञप्तिमा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी पनि दिइएको छ ।
रवि सभापतिको जिम्मेवारीमा फर्कने
रास्वपा सभापति रवि लामिछाने रिहा भएलगत्तै जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालले विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ ।’ सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको शृंखलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत् न्यायका पक्षमा उभिएर सन्देश दिनुहुने पार्टी सदस्य एवं समर्थक–शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्दछौँ ।’
संघीय नेतृत्व मञ्चमा मनोनित
यसैबीच, रास्वपाले संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनयन गरेको छ । शुक्रबार बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले पार्टीको सो निर्णय गरेको प्रवक्ता मनिष झाले बताए । रास्वपाले विवेकशील साझा पार्टी एकता गरेपछि यो बेग्लै संयन्त्र बनाएको थियो । मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिको सदस्य सरह हुने व्यवस्था गरेको छन् ।
मनोनित हुनेहरुमा समीक्षा बास्कोटा, ललितपुर, प्रकाशचन्द्र परियार, सुनसरी, विमला अधिकारी, चितवन, रन्जु दर्शना, काठमाडौं, पवित्रा थापा, कास्की, विमल तामाङ, नुवाकोट, समुन्द्र केसी, ललितपुर, दामोदर नेपाल, नुवाकोट, आशुतोष प्रधान, चितवन, नवराज थापा, गोरखा, सुरज प्रधान, भक्तपुर, धनेज थापा, काठमाडौं, सुदन श्रेष्ठ, सुनसरी, अजित खड्का, काठमाडौं, रुस्तम अन्सारी, बारा डा. सुशील शाह, बारा र शीतल भुसाल, रुपन्देही रहेका छन् ।
समानुपातिकबाट उम्मेदवार बन्नेको लर्कोः रास्वपाले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।
रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिनेहरुको सूची शुक्रबार प्रकाशित भएको छ । उनीहरुले प्राइमरी इलेक्सनमा भाग लिन पाउनेछन् ।
सबैभन्दा बढी आवेदन बाग्मती प्रदेशबाट परेको छ । यो प्रदेशबाट मात्रै ९४ जना जनाले रास्वपाको समानुपातिक उम्मेदवार बन्न चाहेका छन् । विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएका समीक्षा बास्कोटा र रञ्जु दर्शनाले बाग्मती प्रदेशबाट आवेदन दिएका छन् । उनीहरु खस आर्य कोटा अन्तर्गत समानुपातिक उम्मेदवार बन्न चाहेका हुन् ।
रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले पनि यसै प्रदेशबाट उम्मेदवारीका लागि आफ्नो आकांक्षा प्रस्तुत गरेकी छन् । उनी एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी हुन् । यस्तै पार्टीका केन्द्रीय सदस्य अरनिको पाण्डेको पनि प्रारम्भिक सूचीमा नाम छ ।
कोशी प्रदेशबाट ६० जनाले समानुपातिकका लागि दावेदारी प्रस्तुत गरेका छन् । रास्वपा सहप्रवक्ता रमेश प्रसाईंको नाम प्रारम्भिक सूचीमा छ । यसअघि इलामको उपनिर्वाचनमा रास्वपाबाट उठेर हारेका मिलन लिम्बू पनि समानुपातिकमा सांसद बन्न चाहेका छन् ।
विवेकशीलबाट आएका अर्का नेता प्रकाशचन्द्र परियारले कोशी प्रदेशबाट प्रारम्भिक निर्वाचनका लागि दरखास्त दिएका छन् । व्यवसायी राज्यलक्ष्मी गोल्छाको नाम पनि कोशीको प्रारम्भिक सूचीमा छ । उनी विगतमा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् ।
न्यायिक प्रक्रियामा तोसिमाको गम्भिर प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भई बाहिरै बसेर मुद्दा लड्न पाउने अवस्था बनेपछि रास्वपा नेतृ तोसिमा कार्कीले न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै प्रतिक्रिया दिएकी छन् । उनले धरौटी तिर्न, बिगो बुझाउन र अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार हुँदाहुँदै पनि महिनौँसम्म थुनामा रहनुपरेको घटनाले देशको न्याय प्रणाली कति ढिलासुस्ती र कठोर छ भन्ने उजागर भएको टिप्पणी गरेकी छन् ।
तोसिमाले दुई–दुई पटक भारी मतले निर्वाचित जनप्रतिनिधिलाई समेत धरौटीमा छुट्न लामो समय लाग्दा सामान्य नागरिकहरू वर्षौँसम्म मुद्दामा अल्झिनुपर्ने यथार्थप्रति चिन्ता व्यक्त गरेकी छन् । बुटवल उच्च अदालतको आदेशलाई उनले अन्याय र प्रतिशोधविरुद्ध खुलेको न्यायको ढोका भनेकी छन्,
यद्यपि पूर्ण न्याय अझै बाँकी रहेको उल्लेख गरेकी छन् । उनका अनुसार रवि लामिछानेको रिहाइले रास्वपाभित्र नयाँ आशा र ऊर्जा थपेको छ । उनले आसन्न निर्वाचनमा वैकल्पिक शक्तिहरू एकीकृत गर्दै बहुमत ल्याएर रास्वपालाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दाबीसमेत गरेकी छन्। साथै, न्याय प्रणाली, शासन व्यवस्था र भ्रष्टाचारविरुद्ध सुधार आवश्यक रहेको सन्देश दिँदै परिवर्तनको आशा अझ सशक्त बनेको बताएकी छन् । तोसिमाको यो धारणा रवि लामिछानेको रिहाइलाई केवल व्यक्तिगत राहत मात्र नभई देशको न्यायिक अभ्यास र राजनीतिक भविष्यसँग जोडेर हेर्ने संकेतका रूपमा लिइएको छ ।