झापा/ झापाको बिर्तामोड नगरपालिका–४ मा बुधबार बिहान भएको आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। विद्युत् सर्ट भएर लागेको आगोले दुईतले घर, शुभलाभ इलेक्ट्रोनिक्सको पसल तथा गोदाम र निरिका फर्माको फार्मेसी तथा गोदाम पूर्णरूपमा जलेर नष्ट भएका छन्।
सिद्धार्थ होटलनजिकै रहेको घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्सको गोदाममा अचानक विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ। बिहान लागेको आगो पाँच घण्टाको प्रयासपछि दिउँसो ४ः३० बजे नियन्त्रणमा लिइएको थियो।
आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादह नगरपालिकाका सातवटा दमकल परिचालन गरिएको थियो। आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दा र ठूलो संख्यामा सुरक्षाकर्मीसमेत खटिएका थिए। आगो निभाउन जेसीबीको समेत प्रयोग गरिएको थियो।
बिर्तामोड प्रहरीका अनुसार आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदामका करिब ३ करोड रुपैयाँ बराबरका विद्युतीय सामग्री जलेर नष्ट भएका छन्। त्यस्तै, निरिका फर्माको फार्मेसी तथा गोदाममा रहेका करिब १ करोड रुपैयाँ बराबरका औषधि र घरधनी राजेश मण्डलको दुईतले घरमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।