गौरीगञ्ज, ८ पुस।
झापाको गौरीगञ्ज १ महाभाराको जनकल्याण आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरुले सो विद्यालयका विद्यार्थीका लागि १ लाख बढी रकमको न्यानो कपडा वितरण गरेका छन् ।
बिर्तामोडमा औषधि व्यवसाय गर्दै आएका पूर्वविद्यार्थी हेमन्त बाँस्कोटाको अगुवाइमा प्रतिना गौतम, प्रदिप परियार, महेन्द्रबहादुर राई, वसन्त लिम्बू, आशा गौतम, सुदर्शन रेग्मी र विद्यालय परिवारलगायतका दाताको सहयोगबाट विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याकसुट वितरण गरिएको हो । १ लाख १४ हजार ४०० रुपैयाँ बराबरको सामग्री विरतण भएको हो ।
बाँस्कोटाले आफूले विद्यालय जीवन प्रारम्भ गरेको ठाउँमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे । विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, अभिभावक र सरोकारवालाई आग्रह गर्दै आगामी दिनमा समेत सहयोग जारी राख्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालचन्द्र सिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा सदस्य राजभक्त सुनुवार, प्रधानाध्यापक भीमबहादुर कार्कीले न्यानो कपडाका लागि सहयोगीलाई धन्यवाद दिए ।