दमक, ८ पुस
किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम (न्वागी पूजा ) मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरि चासोक तङनाम (न्वागी पूजा ) को तयारीका बारेमा जानकारी दिएको हो ।
चासोक कार्यक्रम कमल ५ सावित्रा चौकस्थित आदिवासी रंगशालामा हुने छ । चुम्लुङ दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङले विगत बर्षझै यसवर्ष पनि लिम्बू समुदायले महान चाडका रुपमा मनाउदै आएको चासोक तङनामलाई निरन्तरता दिन यसवर्ष वृहत कार्यक्रम गरिएको बताए । उनका अनुसार चुम्लुङकी केन्द्रीय उपाध्यक्ष निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने चासोक तङनाममा विधिपूर्वक पूजाआजा गर्नुका साथैं स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने छ ।
कार्यक्रममा लिम्बू समुदायबाट उदीयमान कलाकारका रुपमा चिनिएका रुक्सना लिम्बू, दिपा सुहाङ,कञ्चन थलङ,दिलीप माखिम,राजन पन्धाक ,सुनिता मिभक, निमा तामाङ, हिमाल लिम्बूसहित स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने छ । त्यस्तै, भाषा,संस्कृतिविद श्रीजंघासिंह थेवेको ३१९ औं जन्मजयन्ती मनाउनुका साथै लिम्बू समुदायको सांस्कृतिक नृत्य केलाङ,धान नाच समेत प्रस्तुत गरिने उनले बताएका छन् ।
कार्यक्रममा चुम्लुङका झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाकले जिल्लाभरि विभिन्न कार्यक्रम गरि चासोक तङनाम भव्य रुपले मनाउने तयारी भईरहेको जानकारी दिए । जिल्लाका १५ वटै पालिकामा स्थानीय तथा नगर,गाउँ शाखाले सामूहिक रुपमा चासोक तङनाम मनाउने कार्य भईरहेको उनले बताए । जसअन्तर्गत बुद्धशान्तिमा पाँच दिने चासोक मेला लागेको छ भने शिवसताक्षीका विभिन्न चार स्थानमा एकैसाथ भव्य रुपले चासोक कार्यक्रमको तयारी तीव्र पारिएका छन् । चासोक तङनाममा प्रदेश सरकारले सार्वजनिक रुपमा विदाँ समेत दिदैआएको छ ।