आजकल तौल घटाउने, मधुमेह नियन्त्रण गर्ने र ऊर्जा बढाउने उपायको कुरा गर्दा सबैभन्दा धेरै सुनिने नाममध्ये एउटा हो केटोजेनिक आहार, जसलाई छोटकरीमा केटो आहार पनि भनिन्छ । कतिपय मानिस यसलाई चमत्कारी मान्छन् भने केहीले यसको आलोचना पनि गर्छन् । आखिर यो के हो ? किन यसले यति धेरै चर्चा पाएको छ ? र सबैका लागि उपयुक्त हुन्छ कि हुँदैन ?
सबैभन्दा पहिले एउटा कुरा बुझ्नुपर्छ । हाम्रो शरीरलाई चलाउन इन्धन चाहिन्छ । सामान्य अवस्थामा त्यो इन्धन कार्बोहाइडूेट हुन्छ । हामीले भात, रोटी, आलु, चिनी, मिठाई वा अन्य कार्बोहाइडूेटयुक्त खानेकुरा खाँदा शरीरले त्यसलाई ग्लुकोज मा बदल्छ । यही ग्लुकोज शरीर र मस्तिष्कको मुख्य ऊर्जा स्रोत बन्छ ।
तर केटोजेनिक आहारमा भने यो नियम उल्टिन्छ ।
यसमा कार्बोहाइडूेटको मात्रा निकै कम गरिन्छ, प्रायः दैनिक खानाको सानो भाग मात्र । त्यसपछि शरीरसँग ग्लुकोजको पर्याप्त स्रोत रहँदैन । यस्तो अवस्थामा शरीरले अर्को उपाय खोज्छ । उसले शरीरमा जम्मा भएको बोसो र खानाबाट प्राप्त चिल्लो पदार्थलाई ऊर्जा बनाउन सुरु गर्छ । यही प्रक्रियामा कलेजोले केटोन नामका पदार्थ बनाउँछ । जब शरीरको मुख्य ऊर्जा ग्लुकोजबाट होइन, केटोनबाट आउन थाल्छ, त्यस अवस्थालाई केटोसिस भनिन्छ ।
यसैले केटोजेनिक आहारको मुख्य उद्देश्य शरीरलाई ग्लुकोज जलाउने अवस्थाबाट बोसो जलाउने अवस्थामा पुर्याउनु हो ।
यस आहारमा के खाने त ?
यसमा चिल्लो पदार्थ पर्याप्त मात्रामा खाने गरिन्छ । अण्डा, माछा, मासु, घ्यू, मक्खन, चीज, बदाम, ओखर, नरिवल, एभोकाडो र जैतुनको तेलजस्ता खानेकुरा धेरै प्रयोग गरिन्छ । हरियो सागसब्जी पनि खान सकिन्छ, तर कार्बोहाइडूेट धेरै हुने तरकारी र फलफूल सीमित गरिन्छ ।
अर्कोतर्फ, भात, रोटी, चाउचाउ, आलु, मकै, चिनी, मिठाई, चिसो पेय, बिस्कुट, केक र धेरैजसो मैदाका परिकार यस आहारमा कम वा बन्द गरिन्छ ।
यही कारणले नेपालजस्तो देशमा, जहाँ अधिकांश मानिसको मुख्य खाना भात हो, केटोजेनिक आहार अपनाउन सुरुमा केही कठिन लाग्न सक्छ ।
धेरै मानिसले सोध्ने प्रश्न हुन्छ–यसले तौल किन घटाउँछ ?
जब शरीरले बोसो नै इन्धनको रूपमा प्रयोग गर्न थाल्छ, शरीरमा जम्मा भएको बोसो पनि विस्तारै प्रयोग हुन सक्छ । साथै, चिल्लो र प्रोटिनयुक्त खानाले पेट लामो समयसम्म भरिएको अनुभव गराउँछ । त्यसैले बारम्बार भोक कम लाग्न सक्छ र अनावश्यक खाने बानी पनि घट्न सक्छ । यही कारणले धेरै मानिसको तौल घट्न मद्दत पुगेको देखिन्छ ।
तर केटोजेनिक आहार केवल तौल घटाउन मात्र होइन, केही अन्य अवस्थामा पनि प्रयोग गरिएको छ ।
सुरुमा यो आहार विशेष गरी मिर्गी रोग भएका केही बालबालिकाको उपचारमा प्रयोग गरिएको थियो । पछि यसबारे धेरै अनुसन्धान हुन थाले र मधुमेह, मोटोपना तथा अन्य केही स्वास्थ्य अवस्थासँग यसको सम्बन्धबारे पनि अध्ययन गरियो । यद्यपि सबै क्षेत्रमा यसको प्रभाव समान हुन्छ भन्ने प्रमाण भने अझै पूर्ण रूपमा स्थापित भइसकेको छैन ।
तर यसको अर्को पाटो पनि छ ।
केटोजेनिक आहार सुरु गरेको केही दिनभित्र धेरै मानिसले टाउको दुख्ने, थकान हुने, चक्कर लाग्ने, कमजोरी महसुस हुने, ध्यान केन्द्रित गर्न गाह्रो हुने वा चिडचिडापन अनुभव गर्न सक्छन् । यसलाई सामान्य भाषामा ‘केटो फ्लु’ भनिन्छ । यो कुनै सङ्क्रामक रोग होइन । शरीर नयाँ ऊर्जा प्रणालीमा अभ्यस्त हुँदै गर्दा देखिने अस्थायी अवस्था हो । धेरैजसो मानिसमा केही दिनपछि यी लक्षण कम हुँदै जान्छन् ।
यदि आहार राम्रोसँग मिलाएर नखाइयो भने शरीरमा केही भिटामिन, खनिज तथा रेसाको कमी पनि हुन सक्छ । त्यसैले केवल चिल्लो धेरै खाने मात्र होइन, पोषणको सन्तुलन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के भने यो आहार सबैका लागि उपयुक्त हुँदैन । गर्भवती महिला, स्तनपान गराइरहेका आमा, कलेजो वा मिर्गाैलाको गम्भीर समस्या भएका व्यक्ति, अग्न्याशयसम्बन्धी रोग भएका बिरामी तथा केही अन्य स्वास्थ्य अवस्था भएका मानिसले चिकित्सकको सल्लाहबिना यो आहार सुरु गर्नु उचित हुँदैन । मधुमेहको औषधि वा इन्सुलिन प्रयोग गर्ने व्यक्तिले पनि चिकित्सकीय निगरानीबिना केटोजेनिक आहार अपनाउनु जोखिमपूर्ण हुन सक्छ । केटोजेनिक आहारबारे एउटा ठूलो भ्रम पनि छ । धेरैले ‘चिल्लो धेरै खाएपछि जति पनि खान पाइन्छ’ भन्ने सोच बनाउँछन् । वास्तवमा त्यसो होइन । अत्यधिक प्रशोधित मासु, अस्वस्थ चिल्लो पदार्थ वा पोषणहीन खानेकुराले केटो आहारलाई स्वस्थ बनाउँदैन । सही केटो आहार भनेको गुणस्तरीय चिल्लो, पर्याप्त प्रोटिन र पोषक तत्वयुक्त सागसब्जीको सन्तुलित संयोजन हो ।
अन्त्यमा भन्नुपर्दा, केटोजेनिक आहार कुनै जादुई उपाय होइन । यसले केही मानिसलाई राम्रो परिणाम दिन सक्छ भने केहीलाई उपयुक्त नहुन पनि सक्छ । स्वस्थ जीवनको आधार भनेको एउटै आहार होइन, सन्तुलित भोजन, नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा र दीर्घकालसम्म पालना गर्न सकिने जीवनशैली हो । यदि केटोजेनिक आहार अपनाउने सोचमा हुनुहुन्छ भने आफ्नो स्वास्थ्य अवस्था बुझेर विशेषज्ञको सल्लाहसहित सुरु गर्नु सबैभन्दा सुरक्षित र बुद्धिमानी निर्णय हुनेछ ।