कमल/ ज्येष्ठ शेयर सदस्य र उत्कृष्ट कारोबारीहरुलाई सम्मान गर्दै नेपाल दुग्ध उत्पादक सहकारी संस्था कमल गाउँपालिका–४ झापाको १८ औं वार्षिक साधारण सभा उत्साहका साथ सम्पन्न भएको छ । कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सो सहकारी स्थानीय दुग्ध उत्पादक किसानहरुका लागि आशा र भरोषाको केन्द्र बन्दै गएको गाउँपालिकाको मूल्यांकन रहेको बताइन् ।
सहकारीको खर्च, आम्दानी र कारोबारको विवरण, लेखा प्रतिवेदन, जग्गा खरीद तथा भवन निर्माण, दुध संकलन र बिक्री, पशु आहारा साथै पशुदाना, बीउविजन र विषादीको सहुलियतमा व्यापार, दुधका विभिन्न परिकार, दही, घ्य्ू आइसक्रिमको बिक्री अनि सहुलियतमा किसान तथा पशुपालक किसानलाई कर्जा प्रवाहको स्थिति हेरेर यस्तो मूल्यांकन गरेको उनको भनाई थियो । सहकारीेले पशुपालक किसानहरुका लागि बिना धितो र धितोसहित गरी ६ देखि १३ प्रतिशत व्याज लिएर कर्जा प्रवाह गर्दै आएको छ ।
२०५२ सालमा स्थापना भई विभिन्न आरोह अवरोका बीच २०६७ देखि वचत र कर्जा प्रवाहको कारोबार थालेको सो सहकारीमा हाल ६९६ जना शेयर सदस्य रहेका छन् । ती मध्ये सबैभन्दा ज्येष्ठ सदस्यहरु नौ जनालाई सोमबार साधारण सभाका अवसरमा दोसल्ला, अबिर टीका र सम्मान पत्रले सम्मान गरियो । त्यस्तै उत्कृष्ट कारोबारी तर्फ आवधिक वचतमा तुलसीप्रसाद तिम्सिना, मासिक वचतमा दुर्गाबहादुर मगर, दैनिक वचतमा कृष्णकुमार सापकोटा, उत्कृष्ट कृषकमा गीतादेवी दाहाल र गायत्रादेवी तिम्सिना, भैंसीपालनमा औंसनसिंह लिम्बू, बंगुरपालनमा नीता लिम्बू, कुखुरापालनमा माया पोखरेल, दुग्ध किसानमा छविलाल लुइँटेल, जीवनाथ भट्टराई र सीतादेवी सिग्देल तथा नियमित बाल वचतमा प्रिंयंका दंगाललाई विभिन्न कृषि तथा उपयोगी सामग्रीसहितका पुरस्कार र सम्मान पत्रले सम्मानित गरियो । एसईईमा उत्कृष्ट जीपीए ल्याउने शेयर सदस्य दुर्गाप्रसाद चम्लागाई र निरा गेलाल चम्लागाईकी छोरी सुदर्शना चम्लागाईलाई नगद पुरस्कार सहित प्रमाण पत्रले पुरस्कृत गरियो ।
सो सहकारीको शेयर पुँजी एक करोड ४२ लाख ७७२ रुपैयाँ र कारोबार ५८ करोड ७३ लाख ६९४ रहेको छ । साधारण सभामा सो सहकारीका अध्यक्ष रुपनारायण दाहालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक खगेन्द्र भट्टराईले प्रस्तुत गरेको लेखा प्रतिवेदन आवश्यक छलफलपछि प्राप्त केही सुझावलाई समेटेर पारित गरिएको छ । कार्यक्रममा कमल–४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई, सहकारी समन्वय समिति कमलका अध्यक्ष प्रमोद दाहाल, जिल्ला सहकारी संघ झापाका सदस्य नारायणप्रसाद गौतम, संस्थाका सल्लाहकार संयोजक लोकबहादुर राई, पत्रकार पंकज दाहाल, धार्मिक व्यक्तित्व बलभद्र कँडेल लगायतको आतिथ्यता रहेको थियो । सहकारी संस्थाका उपाध्यक्ष तुफान राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रम संचालन सचिव चन्द्रप्रसाद आचार्यले गरेका थिए ।
साधारण सभामा सम्मानित हुने ज्येष्ठ शेयर सदस्यहरुमा भक्तिप्रसाद गौतम, छविलाल गौतम, प्रभाखर तिम्सिना, मोहनप्रसाद भट्टराई, पुष्पलाल तिम्सिना, चन्द्रबहादुर राई, तुलसादेवी गौतम, भिमादेवी दाहाल र लक्ष्मीदेवी दाहाल रहेका छन् । सम्मानित र पुरस्कृत हुनेहरुलाई प्रमुख अतिथि न्यौपाने, अन्य अतिथि र कार्यक्रमका अध्यक्ष दाहालले सम्मानित एवं पुरस्कृत गरेका थिए ।