देश–समाज राजनीति समाचार स्थानीय

प्रधानमन्त्री सचिवालयको जिम्मेवारी हेरफेर

दमक/ प्रधानमन्त्री वालेन्द्र शाहले सचिवालयको कार्यसम्पादन समीक्षा गर्दै कर्मचारीहरूको जिम्मेवारीमा व्यापक फेरबदल गरेका छन् । समीक्षापछि केही कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको छ भने माधव खनाललाई सचिवालयबाट हटाइएको छ ।
आइतबारदेखि लागू हुने गरी गरिएको परिवर्तनमा दीपा दाहाल, विश्व राई र इन्जिनियर सञ्जिव पाण्डेको जिम्मेवारीसमेत फेरिएको छ । यसअघि विज्ञका रूपमा काम गरिरहेका उनीहरूलाई अब संयोजकको जिम्मेवारी दिइएको छ ।
नयाँ व्यवस्थाअनुसार दाहालले मिडिया व्यवस्थापन संयोजक, पाण्डेले विकास तथा मन्त्रालयगत समन्वय संयोजक र राईले सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी पाएका छन् । दाहाल यसअघि प्रेस तथा अनुसन्धान विज्ञका रूपमा कार्यरत थिइन् । प्रधानमन्त्रीको सल्लाहकार टोलीका एक सदस्यका अनुसार सचिवालयका सदस्यहरूको कार्यसम्पादन मूल्यांकनपछि जिम्मेवारी परिवर्तन गरिएको हो । राम्रो कार्यसम्पादन गर्नेहरूलाई बढुवा गरिएको र केहीको जिम्मेवारी घटुवा तथा हेरफेर गरिएको उनले बताए । ‘कार्यप्रगति रिभ्यु भएको थियो । त्यसमा राम्रो कार्यसम्पादन भएका केहीको बढुवा गरियो भने कतिपयको जिम्मेवारी हेरफेर र घटुवा पनि भएको छ,’ ती सदस्यले नेपालखबरसँग भने, ‘यो सबै प्रधानमन्त्रीकै चाहनाअनुसार भएको हो ।’
नयाँ जिम्मेवारीसम्बन्धी विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा समेत राखिएको छ । पद परिवर्तन भए पनि केही कर्मचारीको पहिलेको कार्यक्षेत्रसँग सम्बन्धित काम भने निरन्तर रहने देखिएको छ ।
सचिवालय पुनर्संरचनाका क्रममा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव र पाँच जना सल्लाहकारको जिम्मेवारी भने परिवर्तन गरिएको छैन । मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदिशप्रसाद अग्रवाल, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र यथावत् छन् । त्यस्तै, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारीले पनि पुरानै जिम्मेवारीमा निरन्तरता पाएका छन् ।

Author

You may also like