दमक/ नेपाली अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठले ५ करोड २५ लाख रुपैयाँभन्दा बढीको प्रतिष्ठित ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय अनुसन्धान फेलोसिप २०२६ प्राप्त गरेकी छन् । कोशी प्रदेशबाट यति ठूलो राशिको अन्तर्राष्ट्रिय अनुसन्धान फेलोसिप प्राप्त गर्ने उनी पहिलो महिला भएको जनाइएको छ ।
बेलायतको लफबरो विश्वविद्यालयमा सञ्चालन हुने दुईवर्षे अनुसन्धान परियोजनाका लागि उनलाई २ लाख ५५ हजार ८८४ दशमलव ७३ बेलायती पाउन्ड अनुदान स्वीकृत भएको हो । यससँगै उनी उक्त प्रतिष्ठित अध्येतावृत्ति प्राप्त गर्ने पहिलो नेपाली अनुसन्धानकर्ता बनेकी छन् ।
विराटनगर–२ माइती भएकी डा. प्रधानले सन् २०२६ डिसेम्बरदेखि २०२८ नोभेम्बरसम्म बेलायतमै रहेर प्रमुख अनुसन्धानकर्ताका रूपमा परियोजनाको नेतृत्व गर्नेछिन् । उनले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलता मात्र नभई देशकै लागि गौरवको विषय भएको बताएकी छन् ।
‘सीमान्तकृत वर्गमा ऊर्जा संकट ः बेलायतको शून्य कार्बन उत्सर्जन अभियानमा उमेर, लैङ्गिकता र आप्रवासनको बहुआयामिक दृष्टिकोण’ शीर्षकमा उनको अनुसन्धान केन्द्रित हुनेछ । परियोजनाले बेलायतको शून्य कार्बन उत्सर्जनतर्फको ऊर्जा रूपान्तरणले सीमान्तकृत समुदायमा पार्ने प्रभाव अध्ययन गर्नेछ ।
विशेषगरी उमेर, लैङ्गिकता र आप्रवासनका कारण ऊर्जा पहुँच तथा उपयोगमा देखिने असमानता र त्यसको सामाजिक प्रभाव अनुसन्धानको मुख्य विषय हुनेछ । मुख्यधारका ऊर्जा तथा जलवायु नीतिमा पर्याप्त प्रतिनिधित्व नपाएका समुदायको अनुभव र आवश्यकतालाई नीतिमा कसरी समेट्न सकिन्छ भन्ने विषयसमेत अध्ययन गरिनेछ ।
डा. प्रधानका अनुसार जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालका सवाललाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर पनि यस अनुसन्धानले प्रदान गर्नेछ । अनुसन्धानबाट प्राप्त ज्ञान र निष्कर्षले नेपाललगायत विकासोन्मुख देशमा ऊर्जा गरिबी न्यूनीकरण, सामाजिक समावेशिता र न्यायपूर्ण ऊर्जा रूपान्तरणसम्बन्धी नीतिगत बहसमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
ब्रिटिश एकेडेमी बेलायतको मानविकी तथा सामाजिक विज्ञान क्षेत्रको राष्ट्रिय शैक्षिक संस्था हो । सन् १९०२ मा स्थापना भएको यस संस्थाले अनुसन्धान, प्राज्ञिक उत्कृष्टता र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा काम गर्दै आएको छ । फेलोसिपसँगै डा. प्रधानले बेलायतको ‘ग्लोबल ट्यालेन्ट भिसा’ समेत प्राप्त गरेकी छन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तरमा स्वर्णपदक प्राप्त गरेकी उनले सन् २०२३ मा थाइल्यान्डको प्रिन्स अफ सोङ्खला विश्वविद्यालयबाट दिगो ऊर्जा व्यवस्थापनमा विद्यावारिधि गरेकी हुन् । उनले सन् २०२५ मा युरोपेली आयोगको ‘होराइजन युरोप’ कार्यक्रमअन्तर्गत ‘मेरी स्क्लोडोस्का क्युरी पोस्टडक्टोरल फेलोसिप सिल अफ एक्सिलेन्स’समेत प्राप्त गरेकी थिइन् ।
ऊर्जा गरिबी, लैङ्गिक समानता, समावेशी ऊर्जा रूपान्तरण र दिगो विकास उनका अनुसन्धानका प्रमुख क्षेत्र हुन् । उनका अनुसन्धानमूलक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनले यूएनडीपी, एसियाली विकास बैंक, एनर्जिया, एसएनभी नेपाललगायत संस्थासँग सम्बन्धित अनुसन्धान तथा परामर्श कार्यमा पनि योगदान पु¥याएकी छन् ।