दमक/लागुऔषध दुरुपयोग एवं ओसारप्रसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा विहिबार दमकमा प्रभातफेरी निकालिएको छ । दमक नगरपालिकाद्वारा आयोजित तथा इलाका प्रहरी कार्यालय दमकको साझेदारीमा जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरुको सहभागितामा प्रभात–फेरी निकालिएको हो । नगरपालिकाको गेटबाट सुरु भएको प्रभातफेरी फाल्गुनन्द चौंक, यलम्बर चोक, बेलडाँगी रोड, नमुना मार्ग हुँदै बजार परिक्रमा गरी पुनः दमक नगरपालिकाको कार्यालयमा आएर समापन गरिएको थियो ।
नगरपालिकाको सभाहलमा आयोजित समापन कार्यक्रममा बोल्दै लागुऔषध नियन्त्रण अभियान संयोजक समेत रहेका कार्यक्रम प्रमुख अतिथि दमक नगरपालिका नगरप्रमुख रामकुमार थापाले लागुऔषध दुरुपयोग एवम् ओसारपसार समाज र परिवारको रोगको रुपमा आएको उल्लेख गर्दै यसमा सम्बद्ध सबै सचेत रहनुपर्ने बताए । दमक नगरपालिका यसको न्युनिकरणका लागि सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबैको साथ र सहयोगबाट निरन्तर लाग्दै आएको पनि बताए ।
सो समापनका क्रममा इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र चापागाई, सामाजिक विकास समितिकी संयोजक तथा कार्यपालिका सदस्य शारदा भट्टराई, इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख नविन राई लगायतले लागूऔषधको अवैध कारोवार, सेवन तथा दुरुपयोग नियन्त्रण गर्न समाजका हरेक पक्षको जिम्मेवारी हुनुपर्ने औल्याएका थिए । कार्यक्रम सामाजिक विकास शाखाका प्रमुख केशव प्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।