विमल लामिछाने
दमक/ दमकले ‘फोहोरबाट मोहोर’ साट्ने योजना कार्यान्वयन हुन नसक्दा दैनिक लाखौंको उर्जा खेर गइरहेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर कुहिने फोहोरबाट ग्यास र नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरी योजना बनाएर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभीलाई जिम्मेवारी दिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५ करोड ८८ लाख २७ हजार ९०२ र कम्पनीले १४ करोड ७० लाख ६९ हजार ७५७ रुपैयाँ लगानी गरेर फोहोर प्रशोधन केन्द्रका लागि ग्यास प्लान्ट पनि बनाएको छ । तर, ग्यास प्लान्टबाट उत्पादित बायोग्यास सम्झौताअनुसार प्रयोगमा ल्याउन नसक्दा दमकको फोहोर हम्सेदुम्से सामुदायिक वनमा फाल्ने गरिएको हो ।
सरकारी पक्षबाट उद्योगलाई प्राथमिकतामा नपार्दा अपेक्षित काम गर्न नसकिएको दमकको फोहोर व्यवस्थापनको जिम्मा लिएको ‘नेक्स्ट इरा एनर्जी प्रालि’ का सञ्चालक विमल खतिवडाले बताए । उनले भने–‘नगरपालिकाले उपलब्ध गराएको ल्याण्ड फिल्डमा हामीले फोहोर फाल्ने हो, नगरले हामीलाई तोकेको स्थान त्यही हो, तथापी पनि फोहोर फाल्ने स्थानसम्म पुग्न बाटो राम्रो नहुँदा बाटामै फोहोर खस्ने समस्या भइरहेछ ।’ सम्झौता अनुसार काम भइरहेको छ त ? भन्ने प्रश्नको जवाफमा उनले भने– ‘सम्झौता अनुसार काम गरिरहेका छौं, फोहोरबाट मल उत्पादन भइरहेकै छ, तर परियोजना निर्माण भएर पनि उत्पादित उर्जा खेर गइरहेको छ । ठूलो योजनालाई कार्यान्वयनमा लान सकिएन, अब सानो सिलिण्डरमा ग्यास भरेर भएपनि ट्याम्पो सम्म चलाउन सकिन्छ कि भनेर त्यो योजनामा जाँदैछौं ।’ खतिवडाको भनाइ छ ।
एकातिर फोहोरबाट उत्पादित उर्जा ब्यवस्थापन हुन नसकीरहेकै बेला छिमेकी जिल्लाबासीले भने डम्पिङसाइडमाथि नै प्रश्न उठाउँदै आएको अवस्थाले योजना थप विवादित बन्दै गएको छ ।
चुलाचुली– ५ का वडाध्यक्ष बबिन राईले फोहोर ब्यवस्थापनको स्थायी डम्पिङसाइड नहुँदा दमकको फोहोरले चुलाचुलीबासीलाई समेत असर गरिरहेको गुनासो गरे । ‘दमकको फोहोरले दुर्गन्ध फैलिएको छ । गाउँमा झाडापखालाका बिरामी बढेका छन् । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भइरहेछ, वडाध्यक्ष राईले भने, दमकको फोहोरले चुलाचुलीको एउटा गाउँनै दुसित बनाएको छ, त्यो मात्रै होइन, दमक बजारमा नै जाँने पानीका मुहानहरु, पैनी र खोलाका किनारहरुमा समेत यहाँ फलिएको फोहोरको असर छ ।’ उनले थपे, यो समस्यालाई हामीले अन्तरपालिका स्तरीय बैठकमा पटक–पटक कुरा उठायौं, समाधान खोज्ने भनेर दमक वडा नंं. ७ का वडाअध्यक्ष भिम पौडेलको नेतृत्वमा समिति पनि बन्यो, तर त्यो समितिले पनि चुलाचुलीबासीको समस्या सुन्न चाहेन । अब हामी कानूनी प्रक्रियामा जानुको विकल्प रहेन ।’ उनले भने ।
दमक नगरपालिका र चुलाचुली गाउँपालिको सिमानामा रहेको दमक– २ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा दैनिक २६ टन फोहोर फ्याँकिँदा चुलाचुली– ५ को रमाइलो बस्ती, चपेटी, कोलडाँडा, चन्द्रनगर, शिखरकटेरी, आँपझोला, धिमालटार बस्ती प्रभावित भएका छन् । फोहोरले समस्या भएको छ । फोहोर खान १२ महिना नै हात्ती आउँने र हात्ती बस्तीमा पस्ने समस्याले चुलाचुलीका स्थानीय थप त्रसित भएको वडाध्यक्ष राईले बताए ।
यस विषयमा दमक नगरपालिका मेयर रामकुमार थापाले ‘प्रक्रिया पूरा गरेर नै हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा फोहोर फालिएको बताए । तर, फोहोर व्यवस्थित गर्न भने अझै सकिएको छैन,’ उनले भने, ‘थप छलफल गरेर छिट्टै व्यवस्थित गरिनेछ ।’
कोशी प्रदेशको वन ऐनले वन र खोला किनार क्षेत्रमा फोहोर फाल्न निषेध गरेकाले वनमा फोहोर फाल्नु कानुनविपरीत भएको जनाएको छ ।  प्रदेश वन ऐनको दफा ६७ मा ‘राष्ट्रिय तथा प्रादेशिक वन क्षेत्रभित्र कसैले पनि प्लास्टिक र प्लास्टिकजन्य फोहोर तथा अन्य कुनै प्रकारका फोहोर फाल्न हुँदैन’ उल्लेख छ । दमकको फोहोर ब्यवस्थापनको समस्या दशक अघिदेखिकै हो ।

Author

You may also like