दमक/ देशमा सरकारका विरोधमा प्रतिपक्षहरुबाट गरिएका कार्यक्रम तथा राजावादीहरु देखाएको शक्ति प्रदर्शन लगत्तै नेकपा एमालेले पनि दमकमा प्रदेश स्तरीय जागरणसभाको आयोजना गरेको छ । जहाँजाँदा पनि प्रधानमन्त्री ओलीका विरुद्ध चर्का नाराहरु लागिरहेको अवस्थामा आफ्नै निर्वाचन क्षेत्रमा प्र.म.लाई उपस्थित गराई प्रभावकारी सभा गर्ने पार्टीको योजना अनुसार भेला राम्रै भए पनि अपेक्षित रुपमा भने नरहेको टिप्पणी भईरहेको छ । जे भए पनि शान्त वातावरणमा सभा सम्पन्न भएको छ । प्र.म.का त्यस्ता कुनै नयाँ कुरा आएनन् । देशमा सुशासन कायम हुँदै गएको, विकसाले गति लिँदै गरेको लगायत विरोधीहरुमाथि केही व्यंग्यवाण र खासगरी राजावादीहरुप्रति आक्रोस पोखेका थिए ।
सो अवसरमा प्र.म. ओलीले जनताको शासन लोकतान्त्रिक व्यवस्थाको बिकल्प अरु कुनै पनि व्यवस्था हुनै नसक्ने बताए । नेपाली जनताले राणा शासन, निरकुंश राजतन्त्रको अन्त्य गरि जनताको शासन व्यवस्था आएको बताउदै नेपाली जनता अव राजा मात्र नभएर कुनै पनि निरकुंसको रैती बन्नै नसक्ने दावी गरे ।
झापाको दमकमा एमाले कोशी प्रदेश कमिटीले शनिवार दमकमा आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दे उनले अव फेरि राजा ल्याँउछु भन्दै सडकमा केहि जत्था उफ्रदैमा फयालिएको राजसंस्था व्यतिने नसक्ने उल्लेख गरे । अधिकारका नाममा लोकतान्त्रिक गणतन्त्र, संविधानमाथि आक्रमण गर्ने छुट कसैलाई नभएको भन्दै उनले भने, ‘जनताको व्यवस्थाबाट नै देशलाई समृद्ध र बिकासमा लैजानुपर्छ । यो नै आजको आवश्यकता हो ।’
विकासका नाममा तमासा (स्टन्ट) गर्नेलाई जनताले नपत्याएको प्रष्ट भन्दै उनले भने, “देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ। आन्दोलनका नाममा बैँक डुबाउने, आगजनी गर्ने रक्सीका बोतल लुटेर भाग्नेले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले भ्रम पाल्नु पर्दैन ।”,
सरकार देशमा शुसासन कायम गर्न सफलहुदै गएको दावी गर्नुहुदै प्रधानमन्त्री ओलीले जनताको शासन व्यवस्थाबाट प्राप्त उपलिव्ध,अधिकार र परिवर्तनका विरुद्ध प्रतिगामीहरुको अलोकतान्त्रिक गतिविधि कुनै हालतमा स्वीकार्य हुनै नसक्ने स्पष्ट पारे ।
देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएको भन्दै उनले भने, ‘अब सरकार स्थिर छ । नयाँ नयाँ योजना र कार्यक्रम लिएर आउँछ । अब रोकिएका आयोजनाहरु अगाडि बढ्छन् ।देशमा, यस जिल्लामा र नगरमा नयाँ नयाँ योजना आउनेछन् । त्यहीअनुसारको बजेट आउनेछ ।’
प्रधानमन्त्री ओलीले अब नयाँ बजेट बनाउने बेला भएकाले अहिलेको आवश्यकताअनुसार नीति र योजना आउने बताए ।
उनले बजेट बनाउँदा किसानको समस्या र सुकुमबासी समस्या कसरी समधान गर्ने भनेर विचार पु¥याइने बताए ।
दमक (७ पशुहाटस्थित वडा नं. ६ को कार्यालय परिसरमा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा जागरण सभा भएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टी केन्द्रीय उपाध्यक्ष गुरु बराल, केन्द्रीय सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु भीम आचार्य, शेरधन राई, पार्टीका नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।