दमक/ विगत केही वर्षदेखि दमकमा शुरु भएको श्री कृष्ण रथयात्राको कार्यक्रम यो वर्ष पनि भव्यताकासाथ मनाउन शुक्रबार बसेको बृहत् बैठकले विभिन्न निर्णय गरेको छ ।
भदौ २० गते आयोजना हुने उक्त रथयात्राको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिले वृहत् बैठक बोलाएर जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।
रोहित आचार्यको अध्यक्षतामा भएको बैठक सचिव प्रेम भट्टराईले सञ्चालन गरेका थिए । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता रहेको बैठकमा रथयात्रामा दमक नगरपालिका, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, इलाका प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार कार्यालय, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी, सामाजिक तथा धार्मिक संघसंस्था, सञ्चारकर्मी, विभिन्न क्लब तथा नगरका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ ।
समितिका अनुसार श्रीकृष्ण रथयात्रा धार्मिक आस्था र सनातन संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । भगवान् श्रीकृष्णप्रतिको श्रद्धा र भक्ति अभिवृद्धि गर्दै नयाँ पुस्तामा धार्मिक तथा सांस्कृतिक मूल्य हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । साथै जात, भाषा, वर्ग र समुदायभन्दा माथि उठेर सामाजिक एकता तथा सद्भाव प्रवद्र्धन गर्नु पनि कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइएको छ । रथयात्राले दमकलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ । यसबाट धार्मिक पर्यटन प्रवद्र्धन हुने, स्थानीय व्यापार–व्यवसायमा सकारात्मक प्रभाव पर्ने तथा होटल, यातायात लगायत क्षेत्र लाभान्वित हुने अपेक्षा गरिएको छ । युवापुस्तालाई नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र स्वयंसेवाको भावनातर्फ प्रेरित गर्ने उद्देश्य पनि कार्यक्रमले बोकेको छ ।
बैठकमा प्रमुख अतिथि थापाले यो रथयात्रा दमकको एकताका लागि एक महत्वपूर्ण कार्यक्रम भएको जनाए भने समितिका अध्यक्ष आचार्यले श्रीकृष्ण रथयात्राकुनै एक संस्था वा समुदायको मात्र कार्यक्रम नभई सम्पूर्ण दमकवासीको साझा धार्मिक, सांस्कृतिक र सामाजिक अभियान भएको उल्लेख गर्दै सबै क्षेत्रबाट सक्रिय सहभागिता र सहयोगका लागि आग्रह गरेका छन् । उनले सबैको एकता र सहकार्यबाट मात्र रथयात्रालाई ऐतिहासिक तथा सफल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

Author

You may also like