दमक/ नेपाली कांग्रेसभित्र बढेको आन्तरिक कलहले पार्टीलाई रणनीतिक र कानुनी रूपमा नयाँ मोडमा पु¥याएको छ । एकातिर निर्वाचन आयोगबाट कानुनी आधिकारिकता प्राप्त गरी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको टोली पार्टी मजबुत बनाउन १५ औँ महाधिवेशनको तयारीमा जुटेको छ भने अर्कातिर पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरू बेग्लै भेला र शक्ति प्रदर्शनको तयारीमा देखिएका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा साढे तीन महिनाअघि भएको फैसला पुनरावलोकन हुने संकेतले काँग्रेसभित्र तरङ्ग पैदा गराएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आगामी बिहीबार फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै कांग्रेस विभाजन भने तत्काललाई टरेको देखिन्छ ।
२९ साउनको राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कुर्ने बताएका छन् । दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन् । सर्वोच्चको आदेशपछि १५ औं महाधिवेशन भने अन्योलमा परेको छ । २ भदौबाट वडा अधिवेशन गरेर १४–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने संस्थापन कांग्रेसको तालिका छ ।
आधिकारिकता विवादमा अन्तिम फैसला नहुँदासम्म गगन थापा नेतृत्वकै केन्द्रीय कार्यसमितिले मान्यता पाउनेछ । सर्वोच्च अदालतले बिहीबारको आदेशमा ‘निर्वाचन आयोगले गरेको निर्णय बदर नहुने गरी’ भनेकाले अर्को फैसला नआउँदासम्म वर्तमान केन्द्रीय कार्यसमिति नै आधिकारिक हुने भएको हो ।
न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई ४
कांग्रेस…वैशाखमा कानुनसम्मत ठहर गरेको थियो । त्यही फैसला सच्याउन माग गर्दै कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले ६ साउनमा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १२ साउनमा निवेदन दिएका थिए ।
यता, विशेष महाधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले गगन थापा पक्षका लागि महत्वपूर्ण कानुनी र सांगठनिक मान्यता दिइसकेको छ । आयोगको यस निर्णयले पार्टीका नीति निर्माण, आधिकारिक निर्णय प्रक्रिया र नियमित महाधिवेशन गराउने सम्पूर्ण वैधानिक अख्तियारी वर्तमान केन्द्रीय कार्यसमितिसँग सुरक्षित गरिदिएको छ, जसका कारण कानुनी धरातलमा पूर्वसंस्थापन पक्ष तुलनात्मक रूपमा कमजोर स्थितिमा पुगेको देखिन्छ । यता साउन २८ गते आयोजना गर्न लागिएको भेलालाई मुख्य रूपमा गुटगत अस्तित्व रक्षा र भावी शक्ति सन्तुलनको रणनीतिक प्रयासका रूपमा हेरिएको छ । विशेष महाधिवेशनको वैधतालाई अस्वीकार गर्दै आएको यस पक्षले भेलामार्फत आगामी १५ औँ महाधिवेशनको कार्यसूची, केन्द्रीय निर्णय र शक्ति बाँडफाँडमा आफ्नो उपस्थिति दर्साउने र वर्तमान नेतृत्वमाथि दबाब बढाउने लक्ष्य राखेको छ । दुवै पक्षबीच भइरहेका तीखा आरोप–प्रत्यारोपले पार्टी विभाजनको आशंका जन्माएको भए तापनि कानुनी रूपमा नयाँ नेतृत्व बलियो भइसकेकाले औपचारिक फुट देउवा समूहका लागि सहज भने छैन । तसर्थ, कांग्रेसलाई सम्भावित विभाजनबाट जोगाउन र आगामी महाधिवेशनलाई सर्वस्वीकार्य बनाउन वर्तमान नेतृत्वले सांगठनिक लचकता अपनाउँदै संवादको पहल गर्नु र असन्तुष्ट पक्षले पनि कानुनी यथार्थलाई स्वीकारेर अघि बढ्नु नै पार्टीको दीर्घकालीन हित देखिन्छ ।
काँग्रेसइतर पक्षको भेलामा देउवा सहभागी हुने
दमक÷ यही साउन २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति शेरबहादुर देउवा पनि उपस्थित हुने भएका छन् । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले साउन २८ गते गर्न लागिएको भेलामा पूर्वसभापति देउवा पनि उपस्थित हुने जानकारी दिएका छन् । अहिले भेलाका लागि प्रतिवेदन लेख्ने काम गरिरहेका महतले भेलाका लागि २६ गते देउवा हङकङबाट नेपाल आइपुग्ने बताएका छन् ।
‘२८ गतेको भेलामा पूर्वसभापति देउवा दाइ पनि आइपुग्नुहुन्छ। उहाँ अहिलेसम्मको कार्यक्रममा २६ गते आइपुग्ने कार्यसूची छ’, महतले भने, ‘उक्त भेलामा धेरैभन्दा धेरै साथीहरूको सहभागिता हुन्छ ।’
कांग्रेसमा देउवा पक्षले गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापति भएका गगन थापालाई सभापति स्वीकार गरेका छैनन् । गगन नेतृत्वमा पार्टीले नियमित १५ औँ महाधिवेशन थाल्ने तयारीमा लागिरहँदा संस्थापन इतरसमूह अहिलेसम्म एकजुट भएको छैन । दुवै पक्षका नेताहरू एकले आरोप अर्कालाई प्रत्यारोप लगाइरहेका छन् । जसका कारण कांग्रेस फुट्ने चिन्ता भएको छ । पार्टी फुट्न लागेको हो भन्ने प्रश्न गर्दा महतले खबरहबलाई भने, ‘पार्टी एकजुट गर्ने प्रक्रियामै छौँ । देउवा दाइ पनि आउनुहुन्छ, त्यसपछि छलफल होला । अहिलेसम्म एकजुट गर्ने तयारीमा लागेका छौँ, तर गगनजीहरू लचिलो हुनुभएन ।’

Author

You may also like