दमक/ नेपालमा अहिले पनि १० हजारभन्दा बढी विदेशी नागरिक शरणार्थीका रूपमा बस्दै आएका छन् । नेपाल प्रहरीका अनुसार भुटानी, तिब्बती र म्यानमारका रोहिंग्या शरणार्थीको संख्या मात्रै १० हजार ३२६ छ । तर गृह मन्त्रालयका पुराना तथ्यांक हेर्दा नेपालमा भुटानसहित पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलंका, बंगलादेश र सोमालियाका नागरिकसमेत शरणार्थीका रूपमा बसेको देखिन्छ ।
हाल नेपालमा सबैभन्दा धेरै भुटानी शरणार्थी छन् । प्रहरीका अनुसार उनीहरूको संख्या ६ हजार २७२ छ । तिब्बती शरणार्थी ३ हजार ५२७ र रोहिंग्या ५२७ जना छन् । रोहिंग्यामध्ये ३६४ महिला, १६२ पुरुष र २१६ बालबालिका छन् । उनीहरू काठमाडौंको कपन, लसुनटार, राममन्दिर, लुभु र सुनकोठीलगायत क्षेत्रमा बस्दै आएका छन् ।
नेपालमा भुटानी शरणार्थीको इतिहास भने लामो छ । गृह मन्त्रालयको आर्थिक वर्ष २०७३÷७४ को तथ्यांकअनुसार त्यतिबेला नेपालमा ९ हजार ८०४ भुटानी शरणार्थी थिए । तीमध्ये ३ हजार ४३६ बालबालिका थिए । बेलडाँगीमा २ हजार ७३५, मोरङको शनिश्चरे शिविरमा ६९५ र शिविरबाहिर ६ बालबालिका रहेको तथ्यांक थियो । आर्थिक वर्ष २०७२÷७३ मा भुटानी शरणार्थी बालबालिकाको संख्या ६ हजार १९२ थियो । त्यसको तुलनामा एक वर्षमै बालबालिकाको संख्या २ हजार ७५६ ले घटेको थियो ।
भुटानी शरणार्थीको संख्या घट्नुको प्रमुख कारण तेस्रो मुलुक पुनर्वास हो । एक लाखभन्दा बढी भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापित भइसकेका छन् । उपलब्ध तथ्यांकअनुसार १ लाख ३ हजार ६८ जनामध्ये ९० हजार ३५८ अमेरिका, ६ हजार ७५९ क्यानडा, ६ हजार ६१ अस्ट्रेलिया, १ हजार ५८ न्युजिल्यान्ड, ८७५ डेनमार्क, ५७० नर्वे, ३५८ बेलायत र ३२९ जना नेदरल्यान्डमा पुनःस्थापित भएका थिए ।
तर तेस्रो मुलुक पुनर्वासले भुटानी शरणार्थी समस्याको स्थायी समाधान भने गर्न सकेन । शिविरमा बाँकी रहेकाहरूको ठूलो माग अझै पनि स्वदेश फर्कने अधिकार हो। उनीहरू नेपालमा बस्नुभन्दा भुटान फर्कन चाहिरहेका छन् । तर नेपाल र भुटानबीच स्वदेश फिर्तीको ठोस सहमति हुन नसक्दा उनीहरूको भविष्य अनिश्चित छ । कतिपय शरणार्थीले तेस्रो मुलुक पुनर्वास अस्वीकार गर्दै आफूलाई नागरिकता र देश फर्कने अधिकारबाट वञ्चित गरिएको बताउँदै आएका छन् ।
तिब्बती शरणार्थीको समस्या भने राजनीतिक रूपमा बढी संवेदनशील छ। सन् १९५९ पछि नेपाल आएका तिब्बती र उनीहरूका सन्तान लामो समयदेखि नेपालमा बस्दै आएका छन् । नेपालले चीनसँगको सम्बन्धलाई ध्यानमा राख्दै तिब्बती शरणार्थीका राजनीतिक गतिविधिमा कडाइ गर्दै आएको छ । परिचयपत्र, आवतजावत र राजनीतिक अधिकारका विषय उनीहरूका प्रमुख समस्या हुन् ।
त्यस्तै, म्यानमारबाट हिंसा र उत्पीडनका कारण विस्थापित रोहिंग्या नेपालमा पछिल्लो समय देखिएको शरणार्थी समूह हो । उनीहरूको समस्या कानुनी पहिचान, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षित भविष्यसँग जोडिएको छ ।
यसरी नेपालमा रहेका शरणार्थीको संख्या घट्दै गए पनि समस्या भने समाप्त भएको छैन। भुटानीहरू स्वदेश फर्कन चाहेर पनि फर्कन नसक्ने अवस्थामा छन् भने तिब्बती र रोहिंग्या शरणार्थी कानुनी तथा मानवीय अधिकारको प्रश्नसँग जुधिरहेका छन् । त्यसैले शरणार्थीको संख्या मात्र होइन, उनीहरूको पहिचान, अधिकार, स्वदेश फिर्ती र दीर्घकालीन समाधानबारे राज्यले स्पष्ट नीति बनाउनुपर्ने देखिन्छ ।