दमक/ देशको मुख्य बाली धानको उत्पादन र उत्पादन क्षेत्र बर्सेनि घट्दै गएको पाइएको छ । उत्पादन दरमा वृद्धि भए पनि उत्पादन भने घटिरहेको पाइएको हो ।
कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित तथ्याङ्कअनुसार यस वर्ष नेपालमा ५५ लाख ५० हजार ८ सय ७८ मेक्ट्रिक टन धान उत्पादन भएको छ । यो गत वर्षको तुलनामा १ दशमलव ०५ प्रतिशत कम हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश १ मा रोपाइँ हुने क्षेत्रफल १ दशमलव ७ प्रतिशत घटे पनि धान उत्पादन भने ० दशमलव ६ प्रतिशतले बढेर १२ लाख ४५ हजार ५ सय ४५ टन पुगेको छ । प्रदेश २ मा रोपाइँको क्षेत्रफल ६ र धान उत्पादन ५ प्रतिशतले घटेको छ । यस वर्ष प्रदेश २ मा १४ लाख २० हजार ४ सय ३६ टन मात्रै धान फलेको छ ।
यता प्रदेश ३ मा उत्पादन क्षेत्रफलमा ३ प्रतिशतले ह्रास आउँदा उत्पादन २.२ प्रतिशतले घटेर ५ लाख १० हजार २ सय टनमा सीमित देखिएको छ । गण्डकी प्रदेशमा उत्पादन क्षेत्रफल ४.९ प्रतिशतले घट्दा धानको उत्पादन पनि ४.४ प्रतिशतले घटेको छ । यस वर्ष उक्त प्रदेशमा ४ लाख ८ हजार ७ सय ३७ मात्रै धान फलेको छ । प्रदेश ५ मा रोपाइँ हुने क्षेत्रफल १.३ प्रतिशतले घट्दा धान उत्पादनमा ०.३ प्रतिशत ह्रास आएको छ ।
तुलनात्मक रुपमा कम मात्रामा धान फल्ने कर्णाली प्रदेशमा ०.९ प्रतिशतले रोपार्इं हुने क्षेत्र बढेको छ भने धानको उत्पादन पनि गत वर्ष भन्दा ०.६ प्रतिशतले बढेको छ । यस वर्ष कर्णालीमा १ लाख ३४ हजार ४ सय ७ टन धान फलेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा गत वर्षभन्दा उत्पादन क्षेत्रफल ६.१ प्रतिशतले बढ्दा धान उत्पादन पनि ६.७ प्रतिशतले बढेर ६ लाख ४६ हजार ५९ टन पुगेको छ ।
गत वर्ष मुलुकभर ५६ लाख १० हजार ११ मेक्ट्रिकटन धान फलेको थियो । यसपालि धान लगाउने क्षेत्रफल ३२ हजार ८ सय २९ हेक्टरले घट्दा धान उत्पादनमा पनि ५९ हजार १३३ मेक्ट्रिकटनले कमी आएको छ । अघिल्लो वर्ष १४ लाख ९१ हजार ७४४ हेक्टर जमिनमा धान खेति गरिएको थियो भने यस वर्ष १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा मात्रै धान खेती भएको कृषि विभागले जनाएको छ ।
३१ हजार हेक्टर बाँझै
अघिल्लो वर्षको तुलनामा ३१ हजार हेक्टर जमिनमा यस वर्ष धान रोपाइँ नै हुन नसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताएका छन् । समग्रमा धान खेतीको आकँडा घटे पनि उत्पादकत्वमा भने अघिल्लो वर्षको भन्दा बढोत्तरी देखिएको उनको भनाइ छ । अघिल्लो वर्ष प्रतिकिलो प्रतिहेक्टर ३७ सय ६० किलो रहेको धानको उत्पादकत्व यस वर्ष ४४ किलो प्रतिहेक्टरले बढेर ३८ सय ४ किलो पुगेको छ । मन्त्रालय र कृषि विभाग अन्तर्गतका निकायले सातै प्रदेशमा गरेको स्थलगत अनुगमन पछिको प्रतिवेदन एवं मौसम तथ्याङ्क समेतका आधारमा धान उत्पादनको प्रारम्भिक
अनुमान गरिएको कृषि विभागले जनाएको छ । यस वर्षको उत्पादन गत आर्थिक वर्षको भन्दा कम देखिए पनि उत्पादकत्व भने अहिलेसम्मकै उच्च भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । विवरण अनुसार चैते धानको उत्पादकत्व बर्से धानको तुलनामा उच्च देखिएको छ ।