घनश्याम भण्डारी-
उर्लाबारी, ८ असोज-
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले हालसम्म नगरमा ७ हजार २ सय ८४ वटा धारा जडान गरेको छ ।
संस्थाको २१ औं वार्षिक साधारणसभा संस्थाद्वारा प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १ हजार ७ सय ५९ वटा धारा जडान गर्दा कुल धाराको संख्या ७ हजार २ सय ८४ पुगेको उल्लेख छ ।
उपभोक्ताहरुलाई शुद्ध खानेपानी वितरणमा बृद्धि गर्ने लक्ष्यका साथ अघि बढेको सो संस्थाले गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ७ सय ५९ वटा धारा जडान गरेको संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिए । यो सँगै उर्लाबारी खानेपानीले जम्मा ७ हजार २ सय ८४ वटा धारा जडान गरिसकेको वताए ।
चालु आर्थिक वर्षमा बृहत उर्लाबारी सहलगानी आयोजनाको काम सम्पन्न गरी कम्तिमा २ हजार धारा थप जडान गर्ने संस्थाले लक्ष्य लिएको छ । संस्थाको उपभोक्ताहरुको माग अनुसार पाइपलाइन बिस्तारलाई पनि तीब्र पारेको छ । गत आर्थिक वर्षमा १ सय १२.११६ किमी पाइपलाइन बिस्तार गरि जम्मा ३ सय ६८.००२ किमी पाइपलाइन बिस्तार भईसकेको संस्थाका सचिव मेघराज श्रीपालीले जनाए ।
सन् २०३० सम्ममा सबैको घरमा स्वच्छ खानेपानी पुर्याउने सरकारको लक्ष्य अनुरुप उर्लाबारी खानेपानीले नगरका अन्य आयोजनालाई पनि नगरपालिकामार्फत एकिकृत गर्दै अघि बढेको छ । संस्थाले उर्लाबारी २ मा खानेपानी ट्ंयाकी नभएकाले उक्त क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरुका लागि सरकारसँग सहलगानी कार्यक्रम अन्र्तगत बजेट माग गरिएको र बिस्तृत परियोजना प्रस्तावको अन्तिम तयारीमा रहेको संस्थाका अध्यक्ष पौडेलले जनाए । उपभोक्ताहरुलाई धारा जडान गर्न सहज होस् भनि किस्ताबन्दीमा जडान गर्ने कार्यलाई निरन्तरता दिएको र विपन्न वर्गलाई नगरपालिकाको सिफारिसमा धारा जडान रकममा छुट दिने लक्ष्य राखिएको कार्यालय प्रमुख राजु बुढाथोकीले बताए ।
उर्लाबारी ८ र ९ मा नयाँ आयोजनाको काम सम्पन्न गरी सञ्चालन गर्ने तथा उर्लाबारी १,२ र ३ मा पाइपलाइन विस्तार तथा सुधारको कामलाई दु्रत गतिमा अगाढी बढाउने संस्थाले लक्ष्य लिएको छ ।
शनिवार नगरपालिकाका प्रमुख गंगा खरेलको प्रमुख आतिथ्यता तथा उपप्रमुख मिना खतिवडा पौडेलको बिशिष्ठ आतिथ्यतामा भएको संस्थाको २१ औँ साधारणसभामा कुशल व्यवस्थापकको भूमिका निर्वाह गर्दै आएका कार्यालय प्रमुख राजु बुढाथोकी र उत्कृष्ट कार्यक्षमताका आधारमा पम्प अपरेटर दिलबहादुर मगरलाई पुरस्कृत गरिएको थियो ।