कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

दमक जेसीजका पूर्वअध्यक्षहरुको भेटघाट : पुरानो र नयाँ पुस्तालाई जोड्दै अघि बढ्ने संकल्प

दमक/ नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले जेसीजको पुरानो र नयाँ पुस्तालाई जोड्दै जेसिजलाई समयसापेक्ष अघि बढाउनुपर्ने बताएका छन् ।
शनिवार झापाको दमकमा दमक जेसीज वोर्ड अफ ट्रष्टिजले आयोजना गरेको दमक जेसीजका पूर्वअध्यक्षहरुको भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अधिकारीले सामाजिक उत्तरदायित्व बोकेको निष्पक्ष संस्थाको रुपमा देखिएको यस संस्थाले आफ्नो भूमिकालाई समुदायसामु अझै स्थापित गरेर अघि बढ्नुपर्ने बताए । उनले जेसीजले विभिन्न क्षमता भएका युवालाई जोडेर जानुपर्छ भन्ने बोध जेसीजका हरेक शाखाका नेतृत्वहरुमा हुनुपर्ने सुझाएका छन् ।
वोर्ड अफ ट्रष्टिज दमकका अध्यक्ष गञ्जबहादुर दाहालको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले जेसीजको इतिहास र वर्तमानलाई जोड्न यो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारेका थिए । उनले भने–‘संस्थालाई चलायमान बनाउन सबैको साझा दायित्व हो, सबै मिलेर अघि बढ्ने हो भने संस्थाको अभियानलाई मूर्त रुपदिन सकिन्छ ।’
यसैगरी कार्यक्रमका सञ्चालक तथा वोर्ड अफ ट्रष्टिज दमकका सचिव सन्तोष अधिकारीले वोर्ड अफ ट्रष्टिज दमकले अहिलेसम्म गरेका कार्यहरु र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । उनका अनुसार भेटघाट कार्यक्रममा दमक जेसीजको निर्माणाधिन तालिम भवनलाई सम्पन्न गर्न शाखा तथा समाजका बौद्धिक र समाजसेवी ब्याक्तित्वहरुसँग सम्वन्वय गर्ने, जेसीजलाई चलायमान बनाउन सल्लाहकारको रुपमा संस्थाले भूमिका निर्वाह गर्ने, दमक जेसीजको मातहातमा रहेको सम्पत्ती र कोषहरुलाई ब्यवस्थित एवम् संरक्षण गर्ने लगायतका कार्य गर्दै वोर्ड अफ ट्रष्टिज दमक अघि बढ्ने लगायतका निर्णय भएका छन् । संस्थाले यो वर्षको तिहारमा देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ भने आगामी वर्षदेखि तिहार विशेष कार्यक्रम गर्ने विषयमा छलफल र परामर्श गर्दै अघि बढ्ने जनाएको छ ।
कार्यक्रममा दमक जेसिजका वर्तमान अध्यक्ष अध्यक्ष राजेन्द्र विमलीले संस्थाको गतिविधि र भौतिक अवस्थाको बारेमा जानकारी गराएका थिए भने पूर्व अध्यक्षहरुले आवश्यक सल्लाह र सुझाव राखेर संस्थालाई एकरुपताका साथ अघि बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा संस्थापक सदस्य तथा पूर्व अध्यक्ष पदम कोइराला, पूर्वअध्यक्षहरु नित्यानन्द ताजपुरिया, नरेन्द्र बराल, लोकबहादुर अधिकारी, केशव आचार्य, संजिव बराल, सुयोग खरेल, कमल कटुवाल लगायतको उपस्थिति रहेको थियो ।
भेटघाट कार्यक्रममा पूर्व अध्यक्षहरुले निकट आइरहेको स्थानीय निर्वाचनमा जेसिजले बौद्धिक बहसको बातावरण बनाई दमकलाई निष्पक्ष नेतृत्व ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझावसहितको साझा धारणा राखेका थिए ।
वोर्ड अफ ट्रष्टिज दमकको भेटघाट तथा शुभकामना कार्यक्रम दमकस्थित पूर्वसन्देश दैनिकको सभाहलमा सम्पन्न भएको थियो ।

Author

You may also like