ओझपूर्ण, तेजस्वी, तार्किक कतै कसैको पक्षमा नलाग्ने साझा व्यक्तित्वका रुपमा चिनिएका मानवअधिकारवादी नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाको देहान्तले एक युगको अन्त्य गरिदिएको छ । ढुंगानाले जुन छवि बनाए, जसरी सबैको साझा व्यक्तित्व हुने बाटो लिए त्यो बाटो लिनेहरु अहिले छैनन भन्दा गलत नहोला । उहाँ पछिका एकादुई सभामुखहरुले निपष्क्षता दिए पनि अधिकांश सभामुखहरु विवादित बनेर बाहिरिएको अवस्थामा ढुंगानाले सिकाएको पाठ सिक्दा नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । उनका विचार, कर्मद्वारा स्थापित मूल्य र योगदान भने सदैव राष्ट्रका निम्त स्मरणीय रहिरहनेछ ।
जोकोही नेताले राजकीय सम्मान पाउँदैन र राजकीय सम्मानको उपहाँस हुने गरी त्यो सम्मान दिनुपनि हुँदैन तर ढुंगानाको योगदानले प िन त्यो सम्मान पाएर न्याय भएको छ । ८३ वर्षको जीवनमा तीन वर्षसम्म (२०४८ सालदेखि २०५१ सम्म) प्रतिनिधिसभाको सभामुख भएको समय ज्यादै थोरै नै हो । त्यो भूमिकाले त्यो सभामुख पदको गरिमा बढाएको थियो । तर उनको व्यक्तित्वको समग्र पहिचान भने नेपाली समाजको लोकतान्त्रिक तथा अग्रगामी रुपान्तरण, मानवअधिकार र वहिष्करणमा परेका समुदायको पक्षमा हुने हरेक आन्दोलन र संघका पक्षपातीका रुपमा बनेको थियो । शान्ति र न्यायका लागि निरन्तर वकालत गर्ने उनको छवि सदवै अनुकरणीय रहिरहनेछ । यस दृष्टिले दमननाथ ढुंगाना नेपाल र नेपाली समाजमा सधैँ जीवित रहिरहने विश्वास गर्न सकिन्छ । सभामुख हुँदा पार्टीको स्वार्थभन्दा माथि उठेर संसदीय र संवैधानिक मूल्य–मान्यताबाट दायाँ–बायाँ नगरी भूमिका निर्वाह गर्नुभयो । राजनीतिक विवाद समाधान गर्ने मुख्य थलो संसद् नै हो भन्ने मान्यताप्रतिको निष्ठाले गर्दा उनले प्रतिपक्षको सबै विरोध संसद्मा ल्याउनको लागि प्रेरित गरिरहने भूमिकाकै कारण सरकारले त काम गर्ने हो, संसद् भनेको प्रतिपक्षकै हो भन्ने मान्यता स्थापित गराएका थिए ।
सशस्त्र द्वन्द्वको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सडक आन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाबीच संवाद सम्पर्क सूत्रका रूपमा ढुंगाना र तुलाधरले काम गरेर सशस्त्र द्वन्द्वलाई शान्तिप्रक्रियामा रुपान्तरण गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको योगदान पनि अतुलनीय छ । विद्रोही पक्ष र सरकारबीच वार्ता गराउन पनि मानवअधिकारवादी नेताहरु ढुंगाना र अर्का पद्यमरत्न तुलाधर मिलेर मध्यस्थता गर्ने गरेका थिए । उत्पीडित वर्ग र समुदायका एजेन्डालाई सम्बोधन गराउन सदवै लागिपर्ने भूमिकाले ढुंगानालाई लोकतन्त्र, संघीयता, समावेशीको पक्षमा बलियोरुपमा उभ्याएको थियो । यस्ता अतुलनीय योगदानका प्रतिमूर्ति ढुंगानाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली ।