समाचार

पर्यटन प्रवर्धनमा १ करोड ७० लाख

पुस २२ गते, झापा,

पर्यटन वर्ष चलिरहँदा झापाको शिवसताक्षी नगरपालिकाले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । नगरले मुख्य दुई पर्यटकीय स्थानको विकासमा डेढ करोड रुपैयाँभन्दा बढी विनियोजन गरेको छ ।
नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा १ करोड ७० लाख रुपैयाँको पूर्वाधार निर्माण गर्ने भएको हो । यो योजना चालू आर्थिक वर्षको असार मसान्त सम्ममा निर्माण भइसक्ने नगरपालिकाले जनाएको छ । नेपाल भ्रमण वर्षकै मौका पारेर यहाँ पर्यटकीय क्षेत्रको विकास गर्न लागिएको हो ।
सङ्घीय सरकारको संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयद्वारा विनियोजित पर्यटकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ९० लाख र शिवसताक्षी नगर सभाबाट निर्णय भएको ८० लाख रुपैयाँमा नगरको धार्मिक तथा पर्यटकीय सताक्षीधाम र दोमुखामा पर्यटक लोभ्याउने पूर्वाधार निर्माण हुन लागेको हो । शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले आन्तरिक तथा बाह्य पर्यटकका लागि दोमुखा र सताक्षीधाम १ नम्बर प्रदेशको पहिलो रोजाइको गन्तव्य निर्माण हुने बताए । नगर प्रमुख शेर्माले दोमुखामा आन्तरिक तथा बाह्य पर्यटकका लागि स्विमिङ पुल र कनकाई नदीको पश्चिम तटीय क्षेत्रमा तटबन्ध गर्ने बताए। निर्माण भएका पर्यटकीय पूर्वाधारको सुरक्षाका लागि नदीको कटान नियन्त्रणका पहिलो प्राथमिकता रहेको नगर प्रमुख शेर्माले बताए ।
यस्तै सताक्षीधाम क्षेत्रमा सङ्घीय संस्कृति पर्यटन तथा उडडयन मन्त्रालय र शिवसताक्षी नगरको ९० लाख रुपैयाँले सताक्षीधाम मन्दिर परिसरमा ब्लक बिछ्याउने र २५ फिट उचाइको शिव मन्दिर निर्माण हुने नगरपालिकाका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र दाहालले बताए । दाहाललका अनुसार शिवको मूर्ति खुला आकाशमा सताक्षीधाम परिसरको पदमार्गबाटै देख्न सकिने गरी निर्माण हुने छ । स्थानीय सरकार गठनपछि नगरका सताक्षीधाम र दोमुखा पर्यटकीय क्षेत्रमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन्। सङ्घीय, प्रदेस र स्थानीय सरकारको संयुक्त लगानीमा दुई वर्षको अवधिमा करोडौंको योजना नगरका धार्मिक तथा पर्यटकीय क्षेत्रमा परेको नगरका प्रमुख लेखा अधिकृत भीबबहादुर खवासले जानकारी दिए ।

Author

You may also like