कोभिड अस्पतालमा सार्ने पहल भइरहेको नगर प्रमुख थापाको भनाई
दमक/ होटल व्यवसायी संघ दमकले मानव सेवा उद्धार सेवा आश्रममा रहेका असहाय मानवहरुका लागि खाद्यान्न तथा लत्ताकपडा सहित विविध सामग्रीहरु सहयोग गरेको छ । आइतबार दमक(२ को पुरानो वडा कार्यालय भवनमा रहेको आश्रममा पुगेर होटल व्यवसायी संघ दमकको टोलीले सहयोग सामग्रीहरु आश्रमका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठ र झापा अध्यक्ष रेवत राज भण्डारीलाई हस्तान्तण गरेको हो । त्यस अवसरमा दमक नगरपालिका प्रमुख राम कुमार थापाको प्रमुख अतिथिका रुपमा उपस्थिति रहेको थियो ।
दमक नगरपालिका र मानव सेवा उद्धार सेवा भक्तपुरको सहकार्यमा संचालनमा ल्याइएको सो आश्रममा हाल १ महिला र १७ पुरुष गरी जम्मा १८ जना असहायहरुलाई आश्रय दिएर राखिएको छ । दमक र आसपासमा रहेका क्षेत्रहरुमा बेवारिसे अवस्थामा फेला परेका सडकमा रहेका विभिन्न उमेर समूहका मानिसहरुलाई आश्रममा आश्रय दिएर राखिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका दमक नगर प्रमुख थापाले विशुद्ध मानवीय सेवाको भावनाले ओतप्रोत भएर सो आश्रम संचालनमा ल्याइएको बताए । दमक २ बेलडाँगीमा रहेको पहिले कोभिड अस्पताल रहेको भवनमा सो आश्रम संचालन गर्ने तयारी रहेको भएपनि विभिन्न चलखेल र षड्यन्त्रका कारण हाल समस्या भइरहेको खुलासा गरे । कोभिड अस्पताल रहेको ठाउँमा आश्रम संचालन गर्न दिन कोशी प्रदेश सरकारका मुख्यमन्त्री र सम्बन्धित सरोकारवाला सरकारी निकायमा समेत सहयोगका लागि अनुरोध गरिएको समेत नगर प्रमुख थापाले जानकारी गराए ।
बेवारिसे र सडक मानवहरुको उद्धार र व्यवस्थापन गर्ने कुराको अधिकार संविधानले समेत स्थानीय तहलाई दिएकाले सोही अनुसार दमक नगरपालिकाको १५ औं नगर सभाको निर्णयबाट आश्रम संचालनमा ल्याएको र हाल सम्म भएको प्रयास सकारात्मक साथै भविष्यमा उपलब्धि दिने खालको भएको समेत दमक नगर प्रमुख थापाले प्रकाश पारे । तर आश्रमलाई फराकिलो र उचित ठाउँ पहिलेको कोभिड अस्पतालनै भएकाले त्यसका लागि वन कार्यालयले पनि निषेध नगरी ठाउँ उपलब्ध गराउनुपर्ने उनको धारणा थियो । अहिले आश्रम रहेको ठाउँ केही साँघुरो र अनुकूल नरहेको मानव उद्धार सेवा आश्रमका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठ र दमक अध्यक्ष रेवत राज भण्डारीले गुनासो गरे ।
होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र दंगाल, कार्यक्रमको अध्यक्षता गरेका होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल र कार्यक्रम संचालक होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा सहयोगदाता संस्थाका महासचिव भूपेन्द्र न्यौपानेले बेवारिसे र असहाय सडक मानवहरुलाई आश्रय दिने काम महान भएको भन्दै दमकका होटल व्यवसायीहरुको तर्फबाट सकेको सहयोग गरेको र आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिइने बताए । सहयोग सामग्रीमा खाना पकाउन प्रेसर कुकर, ग्यास चुल्हो, केही भाडावर्तन समेत रहेका छन् । त्यस अवसरमा होटल व्यवसायी संघ दमकको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, केही होटल व्यवसायी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।