फरक भुगोल भित्र फरक फरक घटनाका कथाहरु संस्कृति र धर्मका फरक फरक अभ्यासहरु हुन सक्दछन् । एउटै संस्कृति भित्र पनि अनेकौँ किसिमका बहुलवादी विचारहरु, राजनीतिक आग्रह र पूर्वाग्रहहरु हुन सक्दछन् । तर, मानवीय आवश्यकता र सहयोगको भावनाले मानिस मानिसबीच अपनत्व र परस्पर विश्वासको वातावरण निर्माण गर्दछ । वर्तमान् एक्काइसौँ शताब्दिलाई सुचना प्रविधि तथा मानव विकासको शताब्दिको रुपमा लिन सकिने धेरै आधारहरु भेटाउन सकिन्छ । अहिले सम्पुर्ण संसार नै पश्चिमेली संस्कृतिको मायाजालमा फँस्दै गइरहेको छ । पुँजीवादी अभिजात्य संस्कारले मानव जातिका समस्त ज्ञान, विज्ञान, कला, साहित्य, दर्शन, सामथ्र्य र चिन्तनलाई वैश्विक रुपमै मानव जातिको अभ्युदयको लागि बहुउपयोगी हुने विचारको रुपमा आत्मसात गर्न थालिएको छ । पुरातन संस्कृति र परम्परा भित्रका गहकिला विचार र संस्कारलाई आ–आफ्नो परम्परा भित्रैबाट समूल रुपमा प्रतिस्थापन गराउने प्रयासहरु पनि भइरहेको छ । औधोगिकृत अर्थव्यवस्थाले उत्पादन गरेका अतिविलासितापुर्ण तथा आरामदायक आवश्यकताका वस्तुहरु अब ग्रामिण क्षेत्रहरुमा पनि एउटा अनिवार्य आवश्यकताकै रुपमा प्रयोग गर्न थालिएको छ । अर्थशास्त्र अनुसार चल्ने अर्थतन्त्र अब वैश्विक रुपान्तरण र परिवर्तनको धारसंगै बगिरहने प्रवृत्ति बढ्दै छ । मानवीय श्रम, उर्जा, उत्साह, श्रोत साधन, प्रविधि, धर्म र पाप सबैलाई अब औद्योगिक वस्तु सरह प्रयोग गर्न थालिएको छ । सबै किसिमका उत्पादहरुलाई व्यवसायीक प्रयोजनको लागि गुणस्तरीय बनाउने अभियानले संसारमा प्रतिस्पर्धात्मक उत्पादन प्रणालीको माग बढ्दै गइरहेको छ । निजीकरण, भूमण्डलिकरण, व्यापारीकरण जस्ता शब्दहरुले नाफामुखी क्षेत्रहरुलाई मात्र महत्व दिइरहेको हुनाले प्रतिस्पर्धामा टिक्न नसक्ने व्यक्ति, समाज, संस्था, संस्कृति र विचारहरुले परनिर्भरता र आधुनिकीकरण बाँचिरहनुपर्ने बाध्यात्मक परिस्थितिहरु निर्माण भइरहेको देखिन्छ । ठूला र शक्तिशालि देशहरु माथि नै भुरेटाकुरे देशहरु अतिपरनिर्भर हुने हुँदा पुँजिवाद भित्रका समस्त दुर्गुणहरुको सिकार त्यहाँका नागरिकहरु नै हुनु पर्ने अवस्थाहरु सिर्जना भइरहेको छ ।
एकातिर संसारमा शान्तिबहाली हुनुपर्ने विचारलाई स्थापित गर्ने प्रयास गरिँदै छ भने अर्को तिर हरेक समस्याको समाधान गर्न युद्ध र सामरिक कुसलताको प्रदर्शन गर्ने युद्ध अभ्यासहरु पनि संसारमा बढ्न थालेको छ । दुइपक्षीय र बहुपक्षीय, अन्तरदेशीय विवादहरु लगातार बढ्दै गइरहेको छ । विभिन्न देशहरु बिच उत्पन्न हुने गरेको असहमति र विवादले उग्र रुप लिँदा भयानक युद्धको विभिषिका समेत झेल्नु पर्ने अवस्थाहरु टड्कारो रुपमा देख्न सकिन्छ । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पश्चात् जन्मिएको नयाँ युद्ध उन्मादहरुले तेस्रो विश्वयुद्धका लागि मलजल गर्ने र युद्धको नेतृत्व गर्दा विश्वमा आफू अझ शक्तिशाली बन्ने आत्मविश्वासका साथ विश्वको अर्थव्यवस्था र विश्व शान्तिलाई ठूलो खलल पार्ने कार्य गरिरहेका छन् । विश्वका सर्वाधिक शक्तिशाली संस्था संयुक्त राष्ट्र संघको भूमिका दिन प्रतिदिन कमजोर र निस्प्रभावी भइरहेको छ । विश्वका ठूला र बलिया राष्ट्रहरुको दादागिरी संसारकै अगाडि देखापर्न थालिसकेको छ । अमेरिका, ब्रिटेन र रुष विश्वयुद्धका विजेता भएर पनि चक्रव्युँहमा फँस्दै छ । तेस्रो विश्वयुद्धको घण्टी बज्न थालेदेखि नाटो सैन्य गठबन्धन भित्रका महाशक्ति राष्ट्रहरु मैदानमा ओर्लिन सक्ने चुरीफुरीहरु देखाइरहेका छन् । नाटो गठबन्धनलाई चुनौति दिन रुष, चिन, उत्तरकोरिया, इरान लगायतका कतिपय इस्लामिक राष्ट्रहरुको ठूलो अन्तरजाल निर्माण हुँदै गइरहेको छ । जति बेला पनि विश्वयुद्ध प्रारम्भ भइनै सक्यो भन्ने किसिमबाट सैन्य अभियानहरु निरन्तर रुपमा चलिरहँदा युद्धहरुबाट हुने अपुरणिय आर्थिक र मानवीय क्षतिहरुको साक्षी युक्रेन, सिरिया, लेवनान तथा फिलिस्तिन क्षेत्रहरु जस्ता कैयौँ मुलुकहरु छन् ।
अहिले युद्धको प्रमुख मोहरा बन्न पुगेको इजराइल र फिलिस्तिन बिचको युद्धले अरब लगायत सम्पुर्ण मध्यपुर्वलाई नै युद्धको चपेटामा पार्न सक्ने परिस्थिति निर्माण भइसकेको छ । इसराइलका गाजापट्टि क्षेत्रबाट इस्लामिक आतंकवादी गठबन्धन हमासले छापामार युद्धको सुरुवात गरेदेखी नै सबै इस्लामिक आतंकवादी संगठनहरु इसराइलमाथि खनिएका छन् । फिलिस्तिनका आम मुस्लिम नागरिकहरुलाई मर्नु न बाँच्नु सम्मको स्थितिमा छोडेर सुरुङ भित्रैबाट हमास समर्थकहरुले इजराइलका मुख्यमुख्य सहरहरु र सैन्य अखडाहरुमाथि रकेट र ड्रोनले हमला गरेर ठूलो क्षति पुर्याउने कार्यहरु गरिरहेका छन् । गाजा क्षेत्रमा बसोवास गर्ने मुस्लिमहरुलाई त्यहाँबाट खेदाएर सम्पुर्ण गाजापट्टि क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन इजराइलले घातक अस्त्र शस्त्रहरुको प्रयोग गर्दै ठूलो मानविय समस्या सृजना गराइरहेका छन् जसको परिणामस्वरुप विश्वभरि नै छरिएर रहेका चरमपन्थी इस्लामिक आतंकवादी समुहहरुले इसराइललाई सम्पुर्ण रुपमा समाप्त पार्ने गरि युद्ध चलाइरहेका छन् । लेवनान, सिरिया, इरान लगायतका देशहरुले इसराइलको विरोधमा युद्धको मोर्चा नै खोलेर बसेका छन् । ईसराइललाई हरेक किसिमले सघाउने राष्ट्रहरु मध्ये अमेरिका अहिले सबै भन्दा अगाडि रहेको छ । त्यस बाहेक युरोपका अन्य देशहरु जस्तै बेलायत, फ्रान्स, जर्मनी लगायतका देशहरुपनि ईसराइललाई समर्थन गर्ने रणनीतिनै अख्तियार गरेको छ । ईसराइल र फिलिस्तिन बीच चलेको लामो युद्ध समाप्त हुने कुनै संकेत देखिएको छैन । त्यस्तै युक्रेन र रुष बीच चलेको युद्ध पनि लम्बिँदै छ । त्यस युद्धमा युक्रेन र रुष दुबै तर्फ ठूलो मात्रामा धनजनको हानी नोक्सानी भईरहेको छ । यस्तो अवस्थामा रुष र युक्रेन बीच चलेको अन्त्यहीन युद्धले विश्वमा ठूलो आर्थिक अस्थिरता निर्माण हुन सक्ने अवस्था विद्यमान छ । विश्व व्यापारमा रुष र युक्रेन दुबै देशहरुको महत्वपूर्ण योगदान र भूमिका रहेको हुनाले दुवै देशहरुबाट खासगरी विकाशशिलदेशहरुले प्राप्त गर्ने खाद्यान्न पदार्थ, ईन्धन, यान्त्रिक उपकरणहरु लगायतका वस्तुहरुको मुल्यमा लगातार वृद्धि हुँदै गइरहेको छ जुन कारणले गर्दा विकाशसील देशहरुलाई आफ्नो अर्थव्यवस्था धान्न समस्या पर्न थालेको छ ।
विश्वमा शान्ति र स्थापना कार्यलाई प्राथमिकाता दिनु पर्ने ठाउँमा कतिपय देशहरुमा आन्तरिक विद्रोहले नै अराजकता सृजना हुँदै गइरहेको छ । कुनै समयमा अमेरिकाली विकास मोडलमा चलेको अफगानीस्तानमा आज तालेवानि आतंकवादीको सरकार छ जसले लोकतंत्रलाई जडैदेखि काट्ने काम गरिरहेको छ । चिनको समर्थनमा चलेको पाकिस्तानमा त्याहाँको सेनाबाट समर्थन प्राप्त गरेका राजनीतिक दलहरुको कठपुतली सरकार छ । बांगलादेशमा आन्तरिक विद्रोहले नै देशलाई तहस नहस पार्ने अवस्थामा पुर्याइ दिएको छ । जनताका आधारभूत आवश्यकताहरु पुरा गर्ने सवालमा त्यहाँका सरकारहरुले सिन्को सम्म भाँच्दैनन् । भारत विरोधी गतिविधिमा आतंकवादी संगठनहरुलाई उचालिरहने पाकिस्तान सरकारले लोकतंत्रको नाउँमा अलिकति पनि संवेदनशील छैन । बांगलादेशमा पनि पाकिस्तान कै आइडियोलोजि र पोलिटिकल थ्योरी प्रयोग गरिँदै छ । त्यहाँको सरकार जनताको जिउ धन र नागरिकहरुको हक हित र अधिकारको संरक्षण गर्न पुर्ण रुपमा असफल र असमर्थ भइसकेको छ । नेपालमा पनि सबै थोक राम्रै छ भन्न मिल्दैन । नेपाल दिन प्रतिदिन परनिर्भर हुँदै छ । धनीहरुको माथि माथि उक्लिँदै छ भने गरीबहरुको जीवनयापन गर्ने आधारहरु कहाली लाग्दो अवस्थामा छ ।अन्तरराष्ट्रिय समुदायमा नेपालको विश्वसनियता दिन प्रति दिन घट्दो छ । यस्तो अवस्थामा नेपालमा पटक पटक हुने सरकार परिवर्तन को अवस्थालाई जनताले श्रीलंका, अफगानिस्तान, बांगलादेश र पाकिस्तान संग तुलना नगर्लान् भनेर भन्न सकिन्न । नेपाल भारत संगको विकासको दौडमा निकै नै पछाडि रहेको देखिन्छ । तर, यस सम्बन्धमा सरकारले कुनै चासो लिएको छ भने जस्तो लाग्दैन ।
(लेखक उर्लाबारी बहुमुखी क्याम्पसका सहप्राध्यापक हुनुहुन्छ ।)