–: नकुल काजी –:
अहिलेको नेपाली राजनीति र संविधान निर्दिष्ट राज्यव्यवस्थाकै अवयवहरू पनि ‘दाल–भात–डुकु एकैठाउँ गिजोले’ जस्तो अवस्थामा गज्मज्जिरहेको भान हुन्छ ! देशको सबभन्दा जेठो र ठूलो पार्टी नेपाली काँग्रेसमा स्पष्ट धाँजो परेको मात्र होइन, वर्षाैपछि पुनः पहिरो नै लडे समान भएको छ र त्यसका पुराना–पाका नेताहरू लगभग अरल्लिरहेको स्थितिले पहिलेको तुलनामा एक प्रकारको सन्नाटा ल्याएको छ ।
दोस्रो ’जुझारु पार्टी’ भनेर नित्य भ्यागुते दम्भमा प्रस्तुत भइआएको एमालेका मूल नेता नै, गर्दै–भन्दै जाँदा, बाहिर आँट र साहसको गफ प्रक्षेपणमा सक्रिय नै देखिए पनि कतिपय, बिल्कुल विपरीत ध्रुबका, पार्टीहरूसँग ’लेनदेन’–को खेलो ननारी सफल नहुने हविगतमा पुगेका छन् भनिँदैछ । किनभने, सो पार्टी एकाधिपत्य शैलीमा चलेको त छँदैछ ।
तेस्रो ‘ठूलो शक्ति’ भनेर जन–संग्रामी धङधङीको उत्ताल भावभूमिमाथि उभ्याएर चर्चा मात्रले सम्पोषित माओवादी चाहिँ आफ्नो ’कुल परिचायक पहिचान’ नै निर्ममतापूर्वक विसर्जन गर्न विवश भई १६÷१७ वटा ‘गन्ती मात्रका पार्टी’–हरू समेत समाविष्ट झुण्डसँग लहरिनु परेको स्थितिमा ताउर–माउर गरिरहेको छ । उसँग अब विगत ’भयङ्करी’–को फलाको नै मात्र जीवन्त साख बाँकी छ भन्दैछन् जानिफकारहरू ! यथार्थ के हो, उनीहरू नै जानुन् ।
अतः यिनै तीन पार्टीले गणतन्त्रोत्तर शासन–सत्ताको रजगजमा पालो फेरी–फेरी उफ्रीपाफ्री गर्दै आएका हुन् । जेन–जेड विद्रोहले धेर–थोर मात्रामा यी तीनै पार्टीका यथार्थलाई नागरिक सामू उदाङ्ग पारिदियो । फलतः अहिलेको नागरिक कित्तामा उत्सर्जित, खासगरी विगत एक दशकदेखि, पिलिँदै आएका घाउहरूको डाहा र आधारभूत पीडा, चरम अविश्वास, असन्तोष र आक्रोश एवम् राज्यका पूर्व–शासनाधिकारीहरूबाट विभिन्न तरिकाबाट हुँदै आएका छलछाम र शोषण आदिबाट प्रकीर्ण मानसिकताले जन्माएको आम नकारात्मकताको मन्टो उठ्न गइरहेको हो । जेन–जेड विद्रोहले जनस्तरमा ‘युगान्तक परिवर्तनकारी’ सम्मान पाएर अहिले देशको समग्र राजनीतिक परिधिभरि पनि भरिएको छ । वस्तुतः जेन–जेड पुस्ताभित्र अनेक पक्ष उदाएको थिएन भने त्यसले प्रारम्भमा आँकेको मार्गचित्रलाई प्राप्त जन–समर्थनले नेपालको सन्दर्भमा पनि ‘राजनीति’–कै उत्पतिको सक्कली परिभाषामा स्थापित गर्ने थियो । तर, त्यसमा पनि दुर्भाग्यवश पुरानाहरूको विग्रही दशा र बाह्य चलखेल केही मात्रामा हाबी हुन गएको अनुमान गर्न असजिलो छैन । फलतः शुरुको मार्गचित्र अल्मलिएको अवस्थामा देखिन्छ जेन–जेड शिविर अहिले । यद्यपि, नेपालमा जेन–जेडको साहसिक अवतरणले ऐतिहासिक ख्याती कमाएको त छ नै र त्यसको साहसिक आँटबाट प्रणोदित जन–भावधाराले चाहिँ यो वर्तमानलाई धन्य तुल्याइरहेकै बुझिन्छ । अन्यथा, उसलाई अनेक किसिमबाट महत्वहीन सावित गर्ने न्वारानदेखिको शक्ति लगाउने प्रयासमा उतारू मानिएका ’जेठा हकदावीवाला’ पार्टीहरू पनि अहिले मध्यावधी निर्वाचनको दौढ जित्न उसको साथ–सहयोगका ’बबुरा याचक’ बनिरहेका देखिने थिएनन् होला !
अपदस्थ भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुका वरिपरि गणेश चक्कर लगाउनु मात्र नेपाली कांग्रेसको ‘राजनीतिक कत्र्तव्य’ ठानिआएका र आँखीभूइँ फुलिसकेका ‘पुराना’ अनुहारहरूको रुवाबासी जति नै करुण भए पनि त्यसका प्रति नेपाली मनमा सहानुभूति जाग्ने अवस्था एकदमै क्षीण छ । यसका प्रमुख कारणहरूमध्ये, पश्चिमा दुनियाँलाई वाक्क खेलाइरहेका उनीहरूकै भाषामा ‘नेपोबेबी’ (ल्भउयदबदथ) भनिनेहरू जस्तै, अनुहार र बानी व्यहोराकाहरूको समर्थनमा उभिएको अनि तिनै अनुहारहरूका स्वार्थ प्रयोज्य लहैलहैमा फँसेको स्वयम् पदलोलुप मूल नेतृत्व पनि एक हो । अर्काे, एमालेले राज्यसत्ता हत्याएर अर्का पक्षलाई ’पालो’–को लालीपपमा भुल्याउँदै एकाधिपत्य, दलीय पक्षपाती, स्वेच्छाचारी, हुकुमी र अधिनायकीय ढबको शासन लादेको समय–सालका सम्झनाहरू त झन् जन–जनका अभ्यन्तरमा पोल्दो अनुभूति बनेर रहेका छन् । यो पक्ष पनि ‘राज्य’–को परिभाषामा अनिवार्य, अपरिहार्य र अप्रतिम दृष्टिले सर्वाेपरि मानिने ‘सेवाग्राही नागरिक’–का हकमा स्वीकार्य होला भन्ने अपेक्षाको सूचीमा पर्दैन । उता नेपाली कम्युनिष्ट पार्टीमा विसर्जित भएको माओवादीको क्रान्तिकारी छवि जो–जति थियो, त्यो पनि, अब ठूलो ‘हा–हुकारी’ हुद्दामा रूपान्तरित भएपछि त्यसैमा अल्मलिने देखिँदो छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी इत्यादि उल्लेयोग्य वरीयताका पार्टीहरूले गजबै प्रगति गरे पनि यसै फालमा उनीहरू संवैधानिक व्यवस्थापकीय विधि–प्रक्रियाहरू पूरा गर्ने हैसियतमा उत्रिन सक्लान् भनिहाल्ने अवस्थामा उभिनसक्ने सम्भावना देखिइरहेको छैन । यो सर्वव्यापी कलही– कचिङ्गले र किचकिचे गिजोलाग्रस्त अवस्थामा हुने चुनावमा नयाँ–पुराना कुनै पार्टीले पनि बहुमत प्राप्त गर्न सम्भवै छैन । चुनाउ हुने अब दिनगन्तीले चालीसवाँ दिन हो अब बाँकी उनन्चालीस दिनमा स्वाभाविकरूपले हुनसक्ने ध्रुबीकरण (उयबिचष्शबतष्यल) – ले अझ के–के उलटफेर हुने हो, भन्न सकिन्न ! तर, अवश्यै केही त हुन्छ नै ! यो तानातानमा व्यस्त समयको प्रतिपक्षमा धेरथोर बलियै सावित भएका मझौला–साना पार्टीहरूको ठूलासँग वा आपसमै गठजोड हुने वातावरण बने पनि, यहाँसम्मका नेपाली अनुभवहरू छाम्दा, तिनको आयु लामो होला र राज्यलाई स्थिरता दिने हविगतमा पुगेर अडिइरहलान भन्ठान्न कपाल कन्याउनै पर्ला । अतः जम्मैमा, नेपाली राजनीतिभित्र मुख्यतः सत्ताप्राप्ति लक्षित दौढले नै ‘राजनीति’–को असली स्वरूपलाई बेस्सरी गिजोल्दै आइरहेको देख–भोगको अनुभवले ‘नयाँ सन्दर्भको उदय’ त्यति सरल सम्भव ठहर गर्नसकिने समेत देखिँदै छैन । अर्थात् , यो मध्यावधी चुनाउमा अझ अपूर्व विभाजित मतदाताबाट कोरलिने परिणाम पनि उस्तै र उत्तिकै खण्डित रूपमा आउने सम्भावना बलियो छ – जसले भोलि फेरि पनि नागरिकका मौलाउँदा समस्यालाई अपेक्षानुकूल सम्बोधन गर्ने र लोकतान्त्रिक गणतन्त्रको पक्षपोषण गर्न सक्षम एवम् तदारुक व्यवस्थापिका बन्ला भनिनु सही नहुन सक्तछ । अर्थात् , त्यसले राज्यको शासकीय संरचनालाई देश र देशवासीका अन्तरभावित लयमा फर्काउन सक्ने क्षमता पनि राख्ला भनेर बढी आशान्वित हुन सकिने स्थिति टाढै देखिँदो छ !
जनकपुरधाम र झापा–दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूको स्वागतमा ’सामाजिक सञ्जाल’ रमाएकै जस्तो चुनाउको परिणाम पनि रमायो भने त्यसले नेपाली राजनीतिक इतिहासमा अदम्य कोशे–ढुङ्गो अवश्यै स्थापित गर्ला । तर, वर्षाैंदेखि ‘देशको यो समयखण्ड’ अंशबण्डा गरेर निर्बाध र स्वच्छन्द जोतभोग गर्न पाई काँधिएर जोदाहा भएका ‘पूर्ववर्ती’–हरूले बाटो ढुक्नु , अहिले हेरिरहँदासम्म, पटक्कै असम्भाव्य छैन । थप, ‘देशको स्थायी सरकार’ मानिने आर्थिक–प्रशासनिक संयन्त्रहरू, उद्योग–धन्धामा घुस्रिएका विदेशी परजीवीहरू, तिनका बिचौलिया–दलालहरू इत्यादि पनि सुध्रिएर–सप्रिएर ‘नयाँहरू’–का संगति बनी सहयोगमा जुट्ने सम्भावना त झन बलियो छँदैछैन ! उनीहरूलाई पनि ‘नूनको सोझो’ उखान लत्याउन निकै नै सकस पर्ला । पुरानाहरूका ‘अनुकम्पारूपी मानु’ खाँदै आएका र खाइरहेकाहरूले तिनै ’पुराना’–लाई परास्त गरेर आएका ’नयाँ’–हरू र तिनका सदाचारी सुधारमा समूल सोच–अवधारणा समेतका लागि सहृदयी हुन्छन् भनेर हत्तपत्त विश्वास गर्नु स्वतः गल्ती हुनेछ । त्यसो भए नयाँहरूका लागि यो अर्काे सम्वेदनशील मनोवैज्ञानिक लडाइँ पनि जिउँदै बाँकी रहेको मान्नै पर्दछ ।
हालै, अथवा चुनाउको गतिबिधिमा तापक्रम बढ्न थालेका बेला यो भूगोलबन्दी (बढी इण्डियन जमिनले घेरिएको) राष्ट्र नेपालको विभिन्न पार्टीका केन्द्रीय नेताहरूले, विभिन्न बहानाको बर्काे ओड्दै, इण्डिया भ्रमण गरेका थिए । यो प्रसंग पनि आजको सन्दर्भमा जोड्नुपर्ने त पुराना कतिपय कालखण्डका तिता–टर्रा अनुभवहरूले नै अनिवार्य गराँउँछ । अझ हाल मधेश खण्डमा बढिरहेको क्षेत्रीय भावनाप्रद उखरमाउलो र इण्डियन जनसंख्याको हाल–साविक अतिक्रमणको प्रकोपलाई मध्यनजरमा राख्ता यो विषय पनि ’नयाँ’ भनिने ’परिवर्तनकारी’ पक्षले नजरअन्दाज गर्नु उनीहरूकै लागि थप जोखिमपूर्ण नहुन पटक्कै सक्तैन । अतः यी सबै कोणहरूबाट मीमांसा गर्दा – आजको राजनीतिक ‘डोरी तानातान’–मा, जनअपेक्षा प्रेरित ‘नयाँ’–को जितका पक्षमा जतिसुकै घनघोर समर्थन जुटे पनि अपेक्षित परिणामलाई अभ्यासमा आकृत गराउन भने सजिलो र छिटो सम्भव हुने पटक्कै देखिँदैन । त्यसो भए मध्यावधी चुनावको महत्वलाई कहाँनेर र कसरी सकारात्मक रूपमा लिपिबध्द गर्ने भन्ने कलमी अन्योल अन्ततः दुर्दम अनुभूत हुने नै भयो !!…हुन त, अझ अरू थुप्रै झीना–मसिना तर प्रभावोत्पादक विषयहरू बाँकी छन् – जो परिपक्क भइहालेका छैनन् ।
त्यसैले, बस्, आजलाई यति नै !!…