दमक । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापामा ६ दिनको राजनीतिक बसाई सकेर शनिबार काठमाडौं फर्किएका छन् । माघ ६ गते उम्मेदवारी दर्ता गर्न झापा आएका ओलीले बसाईका क्रममा विभिन्न कार्यक्रममा सरिक भई उनी शनिबार काठमाडौं फर्किएका हुन ।
भदौ २३ र २४ को आन्दोलनपछि पार्टीभित्र ‘स्थान हद’को प्रसङ्ग उठेपछि ओली पहिलो पटक माघ ५ गते चन्द्रगढी विमानस्थल हुँदै निर्वाचन क्षेत्र झापा–५ मा आएका थिए । आन्दोलनका क्रममा आगजनी भएर घर प्रयोगयोग्य नभएपछि उनले यो पटक होटलमै बसेर कार्यक्रम सञ्चालन गरे ।
श्रीमती राधिका शाक्यसहित आएका ओलीले उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएपछि अधिकांश समय कार्यकर्तासँग बिताए । उनले झापा–५ अन्तर्गतका दमक नगरपालिका, कमल गाउँपालिका, गौरादहका ८ र गौरीगञ्जका ४ वडा गरी २९ वटै वडा कमिटीका पदाधिकारीसँग छलफल गरे ।
गौरादह नगरपालिका–महारानीझोडास्थित एकीकृत सामूहिक कृषि समूहमा वडास्तरीय कमिटीको रिपोर्टिङ सुन्दै ओलीले पार्टीभित्रको असन्तुष्टिबारे कार्यकर्ताका गुनासा सुने । कतिपय कार्यकर्ताले तल्ला तहका नेताप्रति माथिल्लो कमिटीको बेवास्ता र पार्टी सञ्चालनमा देखिएको कमजोर संरचनाबारे गुनासो गरेका थिए ।
झापामा रहँदा ओली आफ्ना कार्यकर्तालाई सन्तुष्ट पार्नमै व्यस्त देखिए । उनले दैनिक करिब २५ सय जना भेट्नुपर्ने बाध्यता रहेको बताउँदै भने, “भेटघाट धेरै भयो, तर बात मार्न पाइनँ ।” उनले भूगोलमा सक्रिय नभएका नेताहरूसँग आफैं संवाद गर्ने प्रतिबद्धता जनाए ।
झापाबाट फर्कंदै ओलीले विराटनगरस्थित सिंहासन रेष्ट्रो प्रा.ली.मा एमाले नेता(कार्यकर्तासँग छोटो भेटघाट गरी काठमाडौं फर्किएका हुन् ।
फर्किने क्रममा अनेरास्ववियुका कोषाध्यक्ष तथा जेन–जि विद्यार्थी नेत्री कृष्टिना बस्नेतसहितको टिमद्वारा सञ्चालन गरिएको विराटनगर–कञ्चनबारीमा अवस्थित सिंहासन रेष्ट्रो प्रा.ली. को निरीक्षण गरेर फर्किएका छन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र साह काठमाडौं फर्किएका छन् । कोशी प्रदेशका सात जिल्लाको राजनीतिक तथा धार्मिक भ्रमण पूरा गरी उनी काठमाडौं फर्किएका हुन । उम्मेदवारी दर्ताका लागि जनकपुर हुँदै झापा आएका साहले मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा समर्थकहरूसँग भेटघाट गरेका हुन् ।
जनकपुरमा सभा सम्बोधन गरेर उनी माघ ५ गते साँझ कोशी प्रदेश प्रवेश गरेका थिए। सोही दिन उर्लाबारीस्थित ससुरालीमा बास बसेपछि भोलिपल्ट झापा(५ मा पुगेर उम्मेदवारी दर्ता गरे। त्यसपछि दमकमा रहेका उनले झापा, मोरङ र सुनसरीका झन्डै तीन हजार समर्थकसँग भेटघाट गरे ।
माघ ७ गते इलाम पुगेका शाहले त्यहाँका स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटेपछि माघ ८ गते ताप्लेजुङ गए। उनले फिदिममा समर्थकहरूलाई भेटेर पाथीभरा मन्दिरको दर्शन पनि गरे । त्यसपछि पाँचथर हुँदै माघ ९ गते तेह्रथुम पुगेका शाहले त्यहाँ रास्वपाका उम्मेदवारहरूसँग संयुक्त कार्यक्रममा सहभागी भए।
माघ १० गते संखुवासभामा पनि उनले भेटघाट कार्यक्रम पूरा गरेपछि धनकुटा पुगे। भीमनारायण चोकदेखि मदनचोकसम्म पैदल हिँड्ने योजना भए पनि उनले सवारीमै परिक्रमा गर्दै मतदातालाई अभिवादन गरे। त्यसपछि इटहरीमा समर्थकलाई गाडीबाटै ‘हाइहेल्लो’ गर्दै विराटनगर पुगेका शाहले स्थानीय नेता र उम्मेदवारसँग भलाकुसारी गरे ।
विराटनगरबाट काठमाडौं फर्कँदा उनको विमान करिब एक घण्टा ढिलो हुँदा उनले एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा समय बिताए। सो अवसरमा ठूलो संख्यामा समर्थकहरू भेट्न पुगेका थिए ।
रास्वपाका नेता तथा ताप्लेजुङका उम्मेदवार वीरेन्द्र श्रेष्ठका अनुसार बालेन शाहको कोशी प्रदेश भ्रमणपछि पार्टीप्रतिको जनसमर्थन बढेको छ। “उहाँ आएपछि हाम्रो पक्षमा माहोल बलियो भएको छ,” श्रेष्ठले भने ।

Author

You may also like