देश–समाज मुख्य समाचार स्थानीय

जहाँ ‘हेभिवेट’ त्यहाँ सुरक्षा ‘थ्रेट’

दमक/ आसन्न प्रतिनिधीसभाको निर्वाचनका क्रममा देश चुवनामय भएको छ । चुनावी प्रकृया अघि बढि रहँदा शान्ति सुरक्षा प्रतिको जोखिम भने मत्थर भई सकेको छैन । एकातर्फ लुटिएका हतियार सवै फिर्ता आएका छैनन् भने ‘हेवीवेट’ नेताहरुको उम्मेद्वारी रहेको क्षेत्रमा थप सुरक्षा संवेदनशिलता बढेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन ४१ दिन बाँकी रहँदा राजनीतिक दलहरूले चुनावी गतिविधि तिव्र पारेका छन् । घरदैलोदेखि सामाजिक सञ्जलाबाट चुनावी प्रचार मात्रै होइन आफुविरूद्ध निर्वाचन लड्न लागेका उम्मेदवारलक्षित भ्रामक सूचनाको प्रचारप्रसार पनि भइरहेका छन । तर चुनावी प्रचारमा प्रविधिको प्रयोग बढेसँगै सुरक्षा चुनौती पनि बढिरहेको सुरक्षा निकायको विश्लेषण छ । गत बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा पनि सामाजिक सञ्जालमा भइरहेको द्वन्द्व जुनसुकै बेला भौतिक रूपमा देखिन सक्ने जानकारी गराइएको थियो । खासगरी अहिलेको निर्वाचनमा सुरक्षा निकायले तीनवटा निर्वाचन क्षेत्रलाई अति संवेदनशील भनेको छ ।
पहिलो झापा–५, अरु कहाँ ?
सबैभन्दा संवेदनशील मानिएको निर्वाचन क्षेत्र हो– झापा ५ । यो क्षेत्र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदै आएको क्षेत्र हो । २०४८ सालदेखि एकपटक मात्रै निर्वाचन हारेका अध्यक्ष ओलीसँगको प्रतिस्पर्धामा यस पटक रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि छन् । ओली र शाह दुवैलाई आआफ्नो पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । दुई मध्ये एक उम्मेदवारले हार्ने निश्चित भएकाले पनि यहाँ प्रतिस्पर्धा कडा हुने आकलन गरिएको छ । घरदैलोमा व्यस्त दुवैका समर्थक एक अर्काप्रति आक्रामक छन् । मनोनयन दर्ताकै दिन पनि दुई पक्षबीच धकेलाधकेलको स्थिति बनेको थियो । सामाजिक सञ्जालमा एकअर्काप्रतिको आक्रामक टिप्पणी र मैदानमै पनि कार्यकर्ताबीचको तिक्तताले सुरक्षा संवेदनशिलता बढाएको बिश्लेषण गरि यहाँ सुरक्षाकर्मी समेत थप गरिने भएको छ ।
यस्तै सुरक्षा निकायले अति संवेदनशील मानेको अर्को क्षेत्र हो– सर्लाही ४ । यो क्षेत्रमा पनि नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाबाट अमरेशकुमार सिंह प्रतिस्पर्धामा छन् । कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । अमरेशले कांग्रेसबाटै विद्रोह गरेर अघिल्लो निर्वाचनमा स्वतन्त्र जित हाँसिल गरेका थिए । नेपाल भारत सीमा नजिकको निर्वाचन क्षेत्र भएकाले पनि सर्लाही–४ लाई अति संवेदनशील मानिएको छ । यस्तै सप्तरी पनि फागुन २१ को निर्वाचनमा सुरक्षा चुनौती धेरै रहेको सुरक्षा निकायको विश्लेषण छ । सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत उम्मेदवार छन् भने जनमत पार्टीबाटै प्रदेश सांसद जितेर मधेश प्रदेशको मुख्य मन्त्रीसमेत बनेका सतिशकुमार सिंह पार्टी परिवर्तन गरी आफ्नै पूर्वअध्यक्षविरूद्ध स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका छन् । यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा–२ बाट सीके राउतसँग पराजित उनी यसपटक रास्पवाका अमरकान्त चौधरी र एमालेका ताराकान्त चौधरीसँग प्रतिस्पर्धा गर्दै छन् । खासगरी सप्तरी २ र ३ मै शक्तिशाली मानिएका मधेशी नेताहरूको प्रतिस्पर्धा हुने हुँदा यो क्षेत्रलाई संवेदनशिल मानिएको छ । यस्तै बाजुरा, दोलखा, स्याङ्जा, बागलुङ लगायतका केहि जिल्लालाई सुरक्षा जोखिम मानिएको छ ।
बिषेस सतर्कता
झापामा हालै मात्र जिल्ला प्रहरी प्रमुख पनि फेरिएका छन् । नयाँ जिम्मेवारी लिएर आएका प्रहरी प्रमुखले समेत यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् । प्रतिनिधिसभा निर्वाचनलाई विशेष प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकी नयाँ प्रहरी उपरीक्षक –एसपी बसुन्धरा खड्काले मातहतका प्रहरीलाई कडा र स्पष्ट निर्देशन दिएकी हुन् ।
झापा आइपुगे लगत्तै एसपी खड्काले दमक क्षेत्रको सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिई आवश्यक निर्देशन दिएकी हुन् । उच्च जनघनत्व र राजनीतिक गतिविधि बाक्लो रहने दमकलाई निर्वाचन सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्रका रूपमा लिँदै उनले स्थानीय प्रहरी नेतृत्वसँग समन्वय बैठक गर्दै सम्भावित चुनौती र आवश्यक तयारीबारे निर्देशन दिएकी थिइन् । प्रहरी स्रोतका अनुसार दमक, बिर्तामोड र मेचीनगर क्षेत्रलाई ‘विशेष निगरानी क्षेत्र’ का रूपमा राखेर सुरक्षा रणनीति बनाइँदैछ । निर्वाचन अवधिमा गस्ती, चेकजाँच र सूचनात्मक संयन्त्रलाई थप सक्रिय बनाइने छ ।
हतियार बुझाउन अटेर
प्रशासनले ईजाजत प्राप्त तथा अवैध सवै प्रकारका हतिया बुझाउन आग्रह गरे पनि झापामा अटेर गरेको पाईएको छ ।
आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय झापाले हतियार बुझाउन दोस्रो पटक सूचना जारी गरेपनि अहिलेसम्म कसैले पनि बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउन पहिलो पटक पुस २९ गते सूचना जारी गरेको थियो ।
झापामा १ हजार २ सय ३७ वटा हतियार दर्ता छन् । त्यसपछि माघ ८ गते दोस्रो पटक सूचना जारी गरिएको छ । माघ २० गतेभित्र अनिवार्य रूपमा हतियार बुझाइसक्न सूचित गरिए पनि अहिलेसम्म कसैले पनि नबुझाएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । त्यस्तै जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको १५ थान हतियार अझै गायब रहेको उनले जानकारी दिए ।

Author

You may also like