मुख्य स्वास्थ्य

जनशक्ति अभावमा प्रादेशिक आयुर्वेद अस्पताल

कमल, २४ मंसिर ।
झापाको कमल–६ लखनपुरमा रहेको प्रादेशिक आयुर्वेद अस्पताल आवश्यकता अनुसार जनशक्ति, बजेट र औषधी अभावले पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । औपचारिक रुपमा १४ महिनाअघि नै सञ्चालनमा आएको आयुर्वेद अस्पतालमा आकस्मिक सेवा समेत सुरु हुन सकेको छैन । अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ कुमार ठाकुरका अनुसार अहिले अस्पतालमा ओपीडी सहितका केही सेवाहरुलाई सुचारु गरेर आएका विरामीहरुलाई सेवा प्रदान गरिँदै आएको छ । “अहिले निःशुल्क वितरण गर्नुपर्ने आयवेर्दिक औषधीको समेत अभाव खड्किएको छ“, ठाकुरले भने । “औषधी नपाएपछि विरामीहरु नआउने र अस्पतालप्रतिको दृष्टिकोण समेत नकारात्मक बन्ला भन्ने चिन्ता छ“, उनले भने ।
५० शैया क्षमताको प्रादेशिक आयुर्वेद अस्पतालमा स्थायी र अस्थायी गरेर १९ जना मात्र कार्यरत छन् । “कम्तीमा पनि ५० जना जनशक्ति हुने हो भने इमरजेन्सी लगायतका सेवा सुचारु गर्न सकिन्छ“, डा.ठाकुरले प्रष्ट पारे । अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार इमरजेन्सी लगायतका सेवा सुचारु गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । आवश्यकता अनुसार दरबन्दी कायम गरेर जनशक्ति राख्नका लागि र आवश्यक औषधीको माग सम्बन्धित स्वास्थ्य मन्त्रालयमा गरेको ठाकुरको भनाइ छ । २५ करोडभन्दा बढीको लागतमा बनेको सुविधासम्पन्न भवनको २० प्रतिशत पनि अहिले प्रयोगमा आउन नसकेको उनले जानकारी गराए । अस्पताललाई प्रभावकारी बनाउने र सेवा थप्दै जाने आफूहरुको योजना रहेको ठाकुले बताए ।
यस आयुर्वेद अस्पताललाई प्रदेशकै प्रेषण अस्पताल तथा भरपर्दो अस्पतालको रुपमा विकास तथा विस्तार गर्ने भनेर कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेकाले यसै अनुसार आगामी दिनमा बजेट र जनशक्ति उपलब्ध हुने विश्वास रहेको डा.ठाकुरले बताए । जनशक्ति, बजेट र औषधी अभाव नभएमा अस्पतालले चाँडै नै फड्को मार्ने अवस्था रहेको छ ।
“थोरै जनशक्ति भए पनि पञ्चकर्म, भिडियो एक्स–रे, ल्याव लगायतको सेवा सुरु गरिएको छ । दैनिक ८० जनासम्म विरामी आउन थालेको र सेवा विस्तार भएपछि विरामीको सङ्ख्या बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । आयुर्वेद उपचार पद्धतिमा जनविश्वास बढ्दो छ तर त्यस अनुसारको सेवा दिन भने चुनौती छ“, उनले भने । यसैबीच शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरेर पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको उपचार सुरु गरिने जनाएको छ । सेवा सुरुवातको अवसरमा आउँदो मङ्सिर २५ र २६ गते पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको उपचारका लागि अस्पताल परिसरमा नै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा आउने विरामीहरुको जाँच उपचार पूर्ण रुपमा निःशुल्क हुने डा.ठाकुरले बताए । “ल्यावदेखि लिएर औषधीसम्म कुनै पनि खर्च लाग्दैन“, उनले भने ।

Author

You may also like