दमक, १७ कार्तिक
आज कात्तिक १७ र भोलि १८ गते ६ महिनादेखि ५९ महिनासम्मकालाई भिटामिन ए र १ बर्षदेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
सरकारले पालिकाहरुका वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।
भिटामिन ए र जुकाको औषधि खुवाउनका लागि दमक नगरको स्वास्थ्य शाखाले पनि उसैगरी तयारी गरेको छ । नगरमा भिटामिन ए र जुकाको औषधि खाने उमेर समूहका बालबालिकाको संख्या ८ हजार हाराहारी रहेको नगर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जनाए । नगरमा एउटा अस्पताल, १० वटा आधारभूत स्वास्थ्य चौकी, २० वटा खोप केन्द्रबाट ५० जना स्वास्थ्य स्वयमसेविकाले भिटामिन ए र जुकाको औषधि खुवाउने छन् ।
बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ ।
यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।