उर्लाबारी, १७ कार्तिक
उर्लाबारी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयको अनुगमन थालेको छ ।
भौतिक पूर्वाधारले सुविधा सम्पन्न विद्यालय बनाउने उद्देश्यले विद्यालयहरुको अनुगमन सुरु गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
विद्यालयहरुको भौतिक अवस्थिति अनुगमन गरेर प्राथमिकताका आधारमा विद्यालयलाई बजेट उपलब्ध गराइने उनको भनाई छ । बिदाका कारण विद्यालयको पठनपाठन बन्द रहेपनि पूर्वाधार पक्षको अनुगमन गरिएको हो ।
मेयर खरेलको नेतृत्वमा बुधबार उर्लाबारी ८ र ९ का सार्वजनिक मावि, महाराज आधारभुत विद्यालय, राजघाट आधारभुत, प्रभात आधारभुत, बहादुरबाबा आधारभुत र अरनिको माविको अनुगमन तथा निरीक्षण गरिएको हो ।
शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल चलाइँदै आएको र कार्यान्वयनका लागि अनुगमन थालिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेले बताए ।
प्रमुख घिमिरे का अनुसार पालिकाका सम्पुणर् विद्यालय हरुको अनुगमन पश्चात् कुन विद्यालय मा के काम गर्नुपर्ने हो सोहिअनुरुप कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यालय अनुगमनमा नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, शिक्षा शाखा प्रमुख अशोक घिमिरे, नगर शिक्षा समिति सदस्य पुणर्प्रसाद घिमिरे, इन्जिनियर पोखराज साहलगायतको टोली सहभागी थियो ।