पूर्वी क्षेत्र अर्थात कोशी प्रदेशमा यसबेला नाटकको माहौल छ । ती नाटक टिकटमा प्रदर्शन गरेर नाट्य क्षेत्रका कलाकारहरुको समय र श्रमको सम्मानको बाटो अघि बढाइएको छ । दमकमै ऐतिहासिक विषयका दुइवटा नाटक तयार छन् । त्यसमध्ये ‘जयमाया आफू मात्रै लिखापानी आईपुगी’ शुक्रबारबाट प्रदर्शन सुरु भएको छ ।
दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि त्यहाँ रहेका नेपाली मुलका मानिसहरु ज्यान जोगाउन लिखापानी भागेको अवस्थाको जीवन भोगाइलाई कलाकारहरुले सो नाटकमा जीवन्त रुपमा उतारेका छन् ।
नाट्य क्षेत्रको विस्तारमा लागेको कदम थिएटर दमकले साहित्यकार इन्द्रबहादुर राईले लेखेको कथामा आधारित नाटक असोज २१ गतेसम्म १० दिन मञ्चन गर्ने भएको छ । जीवन वरालको निर्देशनमा नाटक तयार भएको हो ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइ सहितका सामाजिक व्यक्तित्वहरुको समेत नाटक हेर्ने निमन्त्रणाका भिडियो क्लिप्सले स्थानीयलाई नाटकको स्वादप्रति आकर्षक गर्ने ध्याउन्ते गरेको देखिन्छ । ‘दमक नाटक गर्छ’, ‘दमक नाटक हेर्छ’ भन्ने नाटकप्रतिको लगाव सिर्जना गरिएको स्लोगन अगाडि राखेर कदम थिएटरका युवाहरु साइकिलिङ गर्दै नाट्य प्रचारमा चोक वस्ती घुमेका छन् । केहि प्लेकार्डमा भनें ‘म नाटक गर्छु,’ ‘म नाटक हेर्छु ’ लेखेर दुवै नाटकका पोष्टर राखेर नाटक हेर्न निम्तो बाँढ्दै टोली घुमेको थियो ।


-बसोबासको इतिहास खोतल्दै ‘झोडा’-
चुलाचुली रंगमञ्च इलामले जंगल अवस्थामा रहेको क्षेत्रमा कसरी बसोवास अघि बढ्यो भन्ने इतिहासलाई खोतल्दै ‘झोडा’ नामक नाटक असोज २६ देखि ३० सम्म दमकको किरात भवनमा प्रदर्शन हुने भएको छ । जसका लागि कलाकारहरु अभ्यासमा व्यस्त छन् ।
साहित्यकार गणेश रसिकको उपन्यास आकाशगंगाको ओतमुनिमा आधारित रहेर चेतन डरको परिकल्पना/निर्देशनमा सो नाटक तयार भएको हो । सुरस सम्पाहाङ राईको निर्माण, सुमन लिङदेनको नाट्य रुपान्तरण र सूर्य लिम्बूको व्यवस्थापनमा फरक तथा ऐतिहासिक विषयको नाटकले दर्शकको प्रतिक्षा गरिरहेको छ ।


उता, झापाको पूर्वी क्षेत्रमा नाट्य सक्रियता देखाइरहेको परिवर्तन थिएटरले ‘म्लेच्छ’ नामक नाटक असोज २५ देखि कार्तिक ३ सम्म प्रदर्शनको चाँजो मिलाएको छ । पर्वत पोर्तेलको लेखन र गणेश वस्नेतको निर्देशनमा मेची सामुदायिक भवन काँकडभिट्टामा नाटक प्रदर्शन हुनेछ ।


पूर्वकै पुरानो नाट्य संस्था मोरङको विराटनगरस्थित आरोहण गुरुकुलले पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति मुनामदनमा आधारित नाटक ‘मुनामदन’ प्रदर्शन गरिरहेको छ । विराट आदर्श साहित्य मञ्चमार्फत कटवाल दीपकको नाट्य रुपान्तरणमा असोज ४ देखि १५ सम्म सो नाटक प्रदर्शनमा छ ।

Author

You may also like