दमक, १ फागुन। दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले सडक विद्युत महसुलको बक्यौता असुल गर्न ताकेता गरेपछि नगरपालिकाले पनि विद्युतको पोलको भाडा लिने निर्णय गरेको छ ।
नगरभित्र गाडिएका विद्युत पोल र विद्युत ट्रान्सफर्मर बापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ । नगरपालिकाको गत माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एक सय ७० विद्युत मिटरमा उठेको महसुल बापतको बक्यौता छ करोड ९३ लाख ६१ हजार तिर्न विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफलसमेत भएको जनाइएको छ ।
नगर प्रमुख रामकुमार थापाले कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्तीबापतको विद्युत महसुलका कारण नगरपालिकाका नाममा विद्युत महसुलको बक्यौता देखिएको बताए । ‘अब उप्रान्त कुनै पनि टोलमा नगरपालिकाका नाममा विद्युत मिटर राख्न अनुमति वा सिफारिस नदिने र त्यसरी सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने र सो पछि भने सम्बन्धित टोल विकास संस्थाले आफैँले बेहोर्ने गर्नुपर्ने गरी मात्रै सिफारिस दिने पनि नगरबैठकले निर्णय लिएको छ ।’– उनले भने ।
नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोष कुमार चौधरीले यस विषयमा नगरपालिकाले निर्णय गरेको आधिकारिक पत्र नआएको बताए । उनले भने– ‘आधिकारिक पत्र आएको छैन, पत्र आयो भने हामी माथिल्लो निकायलाई सोधेर निर्णय लिन्छौं, तर यो किसिमको समस्या यसअघि विराटनगरमा पनि आएको भए पनि पालिकाले कर वा शुल्क लिने प्रावधान विद्युत प्राधिकरणको नियमावलीमा नभएकाले कार्यान्वयन हुन सकेन । दमकको सन्दर्भमा के हुन्छ, अहिले भन्न सकिन्न ।’
नगर सभाले पास गरेको आर्थिक ऐन २०८० मा उल्लेख भए अनुसार मासिक रूपमा प्रतिपोल १ सय रुपियाँ, टेलिफोन पोलको ५० रुपियाँ, ट्रान्सफर्मर तथा टेलिफोन क्याबिनेट १ हजार रुपियाँ र इन्टरनेट केवलको प्रति बक्स २५ रुपियाँ तोकिएको छ । अहिले इन्टरनेटको केवलको पैसा पनि विद्युत प्राधिरकणले नै लिँदै आएको छ सोही अनुसार विद्युत पोलहरूको गणनाको तयारी भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए ।
त्यसैगरी नगरपालिकाले वडा नं ६ स्थित नगरपालिकाको स्वामित्वमा रहेका पसल क्लबको सम्झौतामा उल्लेख भएअनुसार व्यवसायीले नियमितरुपमा तिर्नुपर्ने भाडाको बक्यौता हालसम्म ४४ लाख रहेकाले सोको असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ ।