मुख्य स्थानीय

तमोर करिडोर सडकमा बजेट अभाव

धनकुटा, १५ माघ। पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव भएको छ ।

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जनाए । आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको चार अर्ब १६ करोड लागतमा २०७९ कात्तिकबाट तीन वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो । कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष ४८ करोडको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०÷८१ मा ५८ करोड विनियोजन भएको थियो । तर पुस मसान्तको छ महिनाभित्रमा ४० करोड सकिसकेको आयोजना प्रमुख निरौलाले जानकारी दिए । ‘अब आयोजनालाई विनियोजित रकम १८ करोड बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम २५ करोड छ ।’– उनले भने ।

आयोजना निरन्तरताका लागि चालु आवको असार मसान्तसम्मका लागि सरकारलाई थप एक अर्ब २० करोड माग गरेको उनले जानकारी दिए । सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजनामा असर पुग्ने निरौलाले जानकारी दिए । पछिल्लो अनुगमनका क्रममा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए ।

आयोजनाका लागि देखिएको आर्थिक समस्या समधान गर्न धनकुटाबाट निर्वाचित सांसदमार्फत सहयोगका लागि सरकारलाई अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिए । आर्थिक अभाव तथा आयोजनाका समस्याका बारेमा जिल्लामा थप छलफल गरेर सरकार र मन्त्रालयलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जनाए । भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीन स्वशासित क्षेत्र तिब्बतलाई किमाथाङ्कासँग जोड्न २०६५ सालमा आयोजना सुरु गरिएको थियो ।

You may also like