दमक, १६ माघ। हात्तीले दुःख दिएर जनधनको क्षति भइरहेको अवस्थालाई मध्यनजर गर्दै कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष हात्ती प्रभावित क्षेत्रमा हात्ती करिडोर निर्माणका लागि अध्ययन गर्ने भएको छ ।
झापा, मोरङ र सुनसरीमा हात्तीको जैविक मार्गको विस्तृत अध्ययन सकेर त्यस क्षेत्रको स्याटेलाइट म्यापिङ गरी हात्ती करिडोर निर्माण गर्ने योजना कार्यान्वयन गर्न लागेको हो ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले हात्ती प्रभावित क्षेत्रमा हात्ती करिडोर अध्ययन र निर्माणकालागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उनले पहिलो चरणमा झापा, मोरङ र सुनसरीमा अध्ययन र स्थलगत निरीक्षण गर्ने, आहार, जलासय र जैविक बाटो निमार्ण गरिने मन्त्री उप्रेतीले पूर्वसन्देशलाई बताए ।
‘चालु वर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै मन्त्रालयले हात्ती मानव द्वन्द्व न्यूनिकरण गर्न हात्ती करिडोरको अध्ययन गरी त्यसको सीमाना पहिचान गर्ने र उचित व्यवस्थापनका लागि आवश्यक रणनीति तर्जुमा गर्ने छ ।’– उनले भने । हात्ती करिडोर निर्माण गरी जैविक मार्गको सुरक्षा गर्ने र वन्यजन्तु मानव द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सरकारले अध्ययन गर्न लागेको मन्त्री उप्रेतीले जानकारी दिए ।
झापाका हात्ती प्रभावित क्षेत्रका स्थानीयलाई प्राकृतिक प्रकोपको भन्दा पनि हात्तीले वर्षदिन भरी पुग्ने धान, मकै र फलफूल नष्ट गरिदिने हो कि भन्ने चिन्ताले सताउने गरेको दमक नगरपालिका ३ का वडाध्यक्ष नवीन बराल बताउँछन् । गाउँमा हात्ती आएपछि युवाहरु हात्ती धपाउन निस्कने गरेको र उनीहरु घर नफर्केसम्म घरमा रहेका अन्य सदस्य पनि त्रासमा बस्नु परेकोले हात्ती धपाउन प्रदेशस्तरीय संयन्त्र बनाउन उचित हुने बताए । उनले हात्ती पीडितहरुलाई राहतसँगै बाली बीमा गर्न प्रदेश र स्थानीय तहले योजना तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन् ।
झापामा हात्ती प्रभावित क्षेत्र भनेर चिनिने मेचीनगर मुख्य हो । झापा मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर रहेकाले हात्तीले मान्छे मारेर र मान्छेले हात्ती मारेर समाधान नभेटिने बताए । विभिन्न अभ्यास गरिँदै आएको हात्तीलाई जंगलमा नै अल्मल्लिने विकल्पको खोजी नै उत्तम उपाय भएको उनको सुझाव छ । हात्तीले नखाने र बजारमा महँगो मूल्यमा बिक्री हुने भएकाले अन्नबालीको साटो सुपारी, मरिच र तेजपत्ता खेती धमाधम विस्तार गरिनु अर्को विकल्प भएको उनको सुझाव छ ।
कोशी प्रदेशको झापा जिल्लास्थित जलथल जंगलमा हालपनि झण्डै १५ वटाको संख्यामा रैथाने हात्तीहरु रहेको र बेलाबेलामा भारतबाट आउने हात्तीले झापा, मोरङ र सुनसरीका जंगल आसपासका बस्तीहरुमा क्षति गर्ने गरेको छ ।
जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जंगलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने छजना घाइते भएका थिए । यसैगरी, २०७९ मा सात जनाको मृत्यु र आठजना घाइते भएको उनले जानकारी दिए ।
प्रदेश….. डेढ वर्षको अवधिमा छ हात्ती मरेको तथ्यांक वन कार्यालयमा रहेको छ । गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।
पूर्वी तराइका जिल्लाहरु चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिमबंगालको वन्यजन्तु संरक्षण गरिने सो जंगलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । चार दशकदेखि गुज्रिरहेको जंगली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरीका बासिन्दा आक्रान्त छन् ।