दमक, १६ माघ।
सरकारले आफ्ना माग सुनुवाई नगरेको भन्दै मिटर ब्याज पीडितहरुले सहिद दिवसको अवसर पारेर आन्दोलनका रुपमा मंगलबार पूर्वी नाका काँकरभिट्टा र पश्चिमी नाका कंचनपुरको गड्डाचौकीबाट एकसाथ न्याय मार्च (पैदल यात्रा) सुरु गरेका छन् ।
‘मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’को आयोजनामा पहिलो चरणमा विहान १०ः१५ मा काँकरभिट्टाबाट केन्द्रीय अध्यक्ष अवशेष कुशवाहा र गड्डाचौकीमा प्रवक्ता निर्ग नवीनको नेतृत्वमा न्याय मार्चपास सुरु भएको हो ।सोमबार काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै आर्थिक अपराधबाट पीडित बनाइएका किसान मजदूरलाई अपराधीहरुको चुंगुलबाट मुक्त गराउन सरकारलाई दबाब दिने उद्देश्यले न्याय मार्च गर्न लागिएको अध्यक्ष कुशवाहाले जानकारी गराएका थिए । समितिले आज कार्यक्रमको तीन बर्षको लामो संघर्षपछि उपत्यका बाहिर पहिलोपटक जिल्लाका पीडितहरुलाई समेत समेटर यात्राको आरम्भ गरेकाे अध्यक्ष कुशवाहाले बताए । उनले देशभर पाँच लाख बढी मिटरव्याज पीडित रहेको जानकारी दिँदै भने ‘मुद्दा लड्दा लड्दै हामीले सर्वस्व गुमाइसक्यौं । तर हाम्रो कुरा सरकारले सुनेन, आयोगले पनि बेवास्ता ग¥यो । सरकारको ध्यानाकर्षण गराउँदै हामीले एकैपटक पूर्व र पश्चिमबाट यात्रा तय गरेका हौं ।’ पूर्वी काँकरभिट्टाबाट र महेन्द्रनगरबाट हिंडेको यात्रा चितनवमा पुगेर १५ दिनपछि एकै साथ काठमाडौं प्रवेश गर्ने उनले जनाए । मार्चपासमा सहभागि सडकमै खाने र सडकमै सुत्ने कार्यक्रम रहेको बताए । यस अघि मिटर व्याज पीडितहरुले काठमाडौंमा न्याय मार्च गरेका थिए ।
झापामा १ सय १९ उजुरी
जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन तथा मिटरब्याजविरुद्ध १ सय १९ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा १ सय १६ वटा, दुईवटा उजुरी जाँचबुझ आयोगबाट झापामा आएको र एउटा अन्य जिल्लाबाट आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । उनका अनुसार ४६ वटा उजुरीलाई मेलमिलापमा टुंग्याइएको छ । त्यस्तै, १६ वटा सम्बन्धित निकायमा कारबाहीका लागि लेखिपठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए । बाँकी उजुरी कारबाहीको प्रक्रियामा रहेको उनले बताए । मिटरब्याजको चंगुलमा फसेपछि झापाका मिटरब्याज पीडित संगठित हुन थालेका छन् । उनीहरू मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिमा आबद्ध भएर झापामा समिति गठन भएको संघर्ष समिति केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् । झापामा हाल सयभन्दा बढी मिटरब्याज पीडित संघर्ष समितिको सम्पर्कमा आएको उनको भनाइ छ ।