समाचार स्थानीय

सांसदसहितले नेत्रपार्कमा श्रमदान गर्दै

बिर्तामोड, १५ माघ। बिर्तामोड नगरपालिका ७ नम्बर वडा कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहले माघ ८ गतेदेखि आयोजना गरेको बृहत् श्रमदान अभियानबाट नेत्रपार्कको सुन्दरता खुल्दै गएको छ । जहाँ सांसददेखि नगरका जनप्रतिनिधिहरु समेत श्रमदानमा जुटेका छन् ।

राज्यको करोडौ बजेट खर्चेर लथालिङ्ग छोडिएको अवस्थामा रहेको नेत्रपार्कका लागि स्वतःस्फूर्त श्रमदानमा उत्रिएका स्थानीयहरुले लगातार एकसाताको कामले झाडी फाँडिएर पार्कको सुन्दरता खुल्दै जान पाएको हो । ८ सयजनाले स्वतःस्फूर्त श्रमदान गरिसकेका छन् । शनिवार विदाका दिन करिब दुई सयजना श्रमदानमा खटिएका थिए । प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेल, एमालेका नगर इञ्चार्ज देवराज कार्कीलगायत शनिवारको श्रमदानमा सहभागी भएका थिए ।

श्रमदान गर्ने कार्यमा स्थानीय क्लब, टोल विकास संस्था, जनप्रतिनिधि, मजदुर, व्यवसायी, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको छ । स्थानीय एनवाईसी क्लब, न्यूस्टार क्लब, रेखा टोल विकास, झोलुङ्गे टोल विकास, सीताराम टोल विकास, बाह्रघरे टोल विकास, सिमसार टोल विकास संस्था, सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता रहेको छ । श्रमदानमा बिर्तामोडभरिकै नगरवासीहरुको सहयोग रहेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । उनले श्रमदानसंगै खाजा, पानी र रंगरोकनको सामानमा पनि स्वतःस्फूर्त सहयोग प्राप्त भइरहेको जानकारी दिए । पार्कमा रहेका रुख रंगरोकन गर्न बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, २ का वडाध्यक्ष किशोरकुमार पौडेल, पूर्व वडा सदस्य लक्ष्मी बाँस्कोटालगायतले रंग उपलव्ध गराएका छन् । त्यस्तै पदम खत्रीको स्मृतिमा सरोज न्यौपानेले एउटा ट्युबवेल गाडिदिएका छन् भने ३ वटा ट्युबवेल वन समूहले गाडेको छ । ‘श्रमदानसंगै विभिन्न सहयोगहरु पनि प्राप्त भइरहेको छ ।’ सुन्दर निचाझोडा सामुदायिक वन समूह अध्यक्ष बद्री प्याकुरेलले भने,‘ बाँकी वन समितिले बेहोर्दै आएको छ ।’

भुटानी शरणार्थीहरु तेस्रो मुलुक पुनस्र्थापित भएपछि गोलधाप शरणार्थी शिविर खाली भएको थियो । त्यसपछि सुन्दर निचाझोडा सामुदायिक वनको सो खाली जग्गामा सहिद नेत्रपार्क निर्माण गरिएको थियो । विभिन्न संरचना निर्माणपछि सञ्चालन नै नभई नेत्रपार्क बेवारिसे अवस्थामा पुगेको थियो । नेत्रपार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । त्यस्तै स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको थियो । पार्कभित्र डाइनोसर प्रतिमा समेत राखिएको छ । पोखरी पातपतिङ्गरले पुरिन लागेको र स्वीमिङ पुल प्रयोगविहीन बनेको अवस्था हो ।

श्रमदानसंगै नेपाल सरकारको १०१ गन्तब्यमा पर्न सफल सहिद नेत्रपार्क अब संचालनमा आउने वडाध्यक्ष खरेलले बताए । त्यस पार्कमा माघ २२ गते प्रेस चौतारी झापाको कार्यक्रम हुन लागेको छ भने माघ २८ गते बिर्तामोड नगरपालिकाको नगरसभा त्यही पार्कमा हुने भएको छ । आगामी शनिवारदेखि पिकनिक संचालन हुनेगरी सबै सेवा सुविधा उपलव्ध गराइने वन समितिका अध्यक्ष प्याकुरेलले जानकारी दिए । शुरुवाती समयमा पिकनिकका लागि प्रवेश निःशुल्क गरिएको उनको भनाई छ ।

You may also like