देश–समाज राजनीति समाचार स्थानीय

भोट हाल्नकै लागि विदेशबाट आउनेको लर्को

दमक/ फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ८ दिन मात्र बाँकि छ । एक साता भन्दा कमको प्रचार अवधीको अधिकतम उपयोग गर्न उम्मेद्वार र राजनीतिक दलहरुलाई अहिले भ्याई नभ्याई छ । सरकारले समेत मतदानका लागि टाढा रहेकाहरुलाई घर जान र आउन समय पर्याप्त दिने उदेश्यले ३ दिनको विदा घोषणा गरि सकेको छ ।
अहिले घरबाट देश भित्रकै कतै टाढा भएकाहरु मात्रै होईन विदेशमा रहेकाहरु समेत आउने क्रम बढेको छ । रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि विदेश पुगेका नेताहरुले मतदानका लागि उत्साही भएर घर गाउँमा आउन थालेका छन् । झापाको कमल ६ का रमेश ओझा पनि केहि दिन अघि दक्षिण कोरीयबाट आएका छन् । यस अघिका निर्वाचनमा रोजगारीका लागि बाहिर रहनु परेकाले मतदान गर्न नपाएको अनुभव छ उनीसँग । तर यस पटक भने पहिलो पटक मतदान गर्न आतुर रहेको उनले बताए । उनले भने, ‘मतदान त आफ्नो इच्छाको कुरा हो, मन लागेकालाई दिईन्छ । तर आफ्नो अमुल्य मत खेर नजाओस् भन्ने लागेको छ ।’
यस्तै कमल ७ का खड्ग सम्बाहम्फे पनि चुनावको मुखमा जापानबाट आई पुगेका छन् । लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन निर्वाचनको महत्वपूर्ण भुमिका हुने भएकाले आफ्नो मताधिकारको प्रयोगका लागि आएको उनले बताए । ‘विदेशको ठाउँ, सवैलाई भन्ने वित्तिकै विदा नमिल्न पनि सक्छ’ उनले भने, ‘तर विदेशमा रहेका नेपालीहरुलाई पनि नेपालको बारेमा यहाँ रहनेहरुको जस्तै चासो र चिन्ता रहेको छ ।’ योग्य दल र उम्मेद्वारलाई निर्वाचित गराउन एक–एक मतको महत्व हुने भएकाले यस पटक देशका लागि आवश्यक उम्मेद्वार तथा दललाई मतदान गर्ने उनले जनाए ।
उनीहरु मात्रै होईन, अहिले धेरै नेपालीहरुका घर घरमा विदेशमा रहेका आफन्तहरु आउन थालेका छन् । केहि समय पछि आउने योजनामा रहेकाहरुले समेत चुनावमा मतदान हाल्न मिल्ने गरि समय मिलाउने प्रयासमा रहेको विदेशमा रहेका नेपालीहरुले बताएका छन् । हाल कतारमा रहेका झापाका लिला बराल स्वदेश फर्किन नपाएका नेपालीहरु विचमा पनि एक महिना यता नेपाल र चुनावकै बारेमा छलफल हुने गरेको बताउँछन् । धेरै नेपालीहरुलाई भोटको समयमा आफ्नो देशमा गएर मतदानमा सहभागी हुन मन भए पनि भनेको समयमा विदा नमिल्ने समस्या रहेको उनले सुनाए । उनले भने, ‘नेपालमा भई रहेको चुनावका बारेमा चासो नहुने त कुरै भएन, विदेशमा रहेका सवैको चासो छ । यहाँका साथीहरु अब चाँहि देशमानै गएर गरिखान सक्ने वातावरण बनाउन सक्ने उम्मेद्वार र दलले जितोस् भन्ने कामनामा रहेका छन् ।’
विदेशमा भएका मध्ये कतिपयले नेपालमा रहेका परिवारजन र आफन्तलाई उतैबाट आफ्नो रोजाईको दल र उम्मेद्वारहरुलाई मतदान गर्न आग्रह पनि गर्ने गरेका छन् । कतिपयले त विभिन्न सामाजिक सञ्जालबाट भोटनै माग्ने पनि गरेका छन् भने कतिपय सामाजिक सञ्जालबाटनै वाद–प्रतिवादमा पनि उत्रिएको पाईन्छ । तर अर्काको देशमा पुगेर आफ्नो देशको बारेमा सामाजिक सञ्जालमा छलफल गर्दा रोजगारदाता देशको कानून, नियम र आफुलाई पर्न सक्ने अफ्ठ्यारो प्रति ध्यान दिन पनि विदेशमानै रहेका नेपालीहरुको सुझाव छ । तेश्रो देशमा रहेकाहरु मात्रै होईन भारतमा रहेका ठुलो संख्यामा नेपालीहरु मतदानका लागि आउने क्रम बढेको छ । पूर्वी नाका काकडभिट्टा हुँदै समेत दैनिक दर्जनौ नेपालीहरु आफ्नो देश फर्किई रहेका छन् । अन्य नाकाहरुबाट पनि नेपालीहरु भित्रिने क्रम बढेको छ । विशेष परिस्थितिमा हुन लागेको यस पटकको निर्वाचनलाई मतदाताहरुले महत्वका साथ हेरेका छन् ।
७५ जिल्लामा निर्वाचन सामग्री
आगामी फागुन २१ गते देशभर एकै चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पु¥याइएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौँ र भक्तपुरबाहेकका सबै जिल्लामा मतपत्रसहितका आवश्यक सामग्री पुगिसकेका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले निर्वाचनका लागि आवश्यक ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र ‘समानुपातिक निर्वाचन प्रणाली’ तर्फका दुवै प्रकारका मतपत्रहरू ७५ जिल्लामा पु¥याइएको बताएका छन् । उनले दुर्गम र हिमाली जिल्लाहरूलाई प्राथमिकतामा राखेर केही दिनअघि देखि नै ढुवानी सुरु गरिएको जनाए । आयोगका अनुसार काठमाडौँ र भक्तपुर जिल्लाका लागि भने नजिकको दूरी भएकाले बिहीबार मात्रै निर्वाचन सामग्री र मतपत्र निर्वाचन कार्यालयमा पु¥याइने कार्यतालिका रहेको छ । ढुवानी कार्यमा नेपाली सेनाको सुरक्षा स्कर्टिङ प्रयोग गरिएको र हालसम्मको ढुवानी प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । यस पटक प्रतिनिधिसभाका १६५ प्रत्यक्ष र ११० समानुपातिक सिटका लागि मतदान हुँदै छ । आयोगले मतपत्रसँगै स्वस्तिक छाप, मतपेटिका, लाहा, मसी लगायतका ६० भन्दा बढी प्रकारका निर्वाचन सामग्रीहरू जिल्ला जिल्लामा पठाएको जिसीले जनाए । फागुन १७ गतेभित्रमा सबै मतदान केन्द्रहरूमा कर्मचारी र सामग्री पु¥याउने लक्ष्य रहेको आयोगले जनाएको छ ।

Author

You may also like