दमक, ६ असोज-
झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने महिला राउत कार्यरत कार्यालय मेची सहकारीकै कर्मचारी रहेको बुझिएको छ । उनी दमक ६ की विवाहित रहेको र लामो समयदेखि सो कार्यालयमा कार्यरत कर्मचारी रहेको उल्लेख छ । तर प्रहरीले पक्राउ महिलाको कार्यालय सहितका अन्य विषयमा केहि खुलाएको छैन । आत्महत्या गर्न कसैले दुरुत्साहन गराएको पारिवारिक श्रोतको भनाइ छ । उनी केहि समयअघिदेखि तनावमा रहेको समेत हाल खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बिहीबार अपराह्न एक होटलमा मृत फेला परेको घटनामा अनुसन्धान गर्न प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको जनाए । ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले थप केहि खुलाउन मिलेन । उनी वडा नम्बर ६ की हुन् । सुसाइट नोट सहितका बारेमा अनुसन्धान जारी छ ।’- रिजालले पूर्व सन्देशसँग भने ।
३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्क बाहिर थिए । उनी सधैँ कार्यालय आउने समयमा कार्यालय नआएपछि परिवारसँग बुझ्दा घरमा समेत थिएनन् ।
त्यसपछि आन्तरिक रुपमा खोजी भइरहेको थियो । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेसन ट्र्याक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्य भागमा रहेको अन्नपूणर् होटल एन्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठाभित्रको सिलिङ पंखामा झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।
मृतकले आत्महत्या गर्नुअघि ‘सु-साइड नोट’ समेत लेखेर छोडेकोले त्यसबारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामाले बताए । राउतकी श्रीमती र नाबालिका छोरी रहेका छन् ।