कला/साहित्य/संस्कृति देश–समाज मनोरञ्जन राष्ट्रिय समाचार स्थानीय

देशभर महाशिवरात्रि पर्व भव्य रुपमा सम्पन्न (फोटोफिचरसहित)

दमक । सनातनी हिन्दू धर्मावलम्बीहरू पवित्र पर्व महाशिवरात्रि देशभरका शिवालयमा धुमधामले मनाइएको छ । विगतका वर्षभन्दा यो वर्ष देशैभरका शिवालयमा भक्तजनको घुइँचो देखिएको छ । झापाको दमकस्थित वडा नं. ६ स्थित श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम (पशुपति मन्दिर)मा भक्तजनहरुको बेलुकैसम्म घुइँचो देखिन्थ्यो । शिव भगवानप्रति लीन हुँदै भक्तिभावसहित आस्था, विधिपूर्वक पूजाअर्चना गरेर बुधबार रातीदेखि आज बिहानसम्मै रातैभरि रमाउने कार्यकालिका रहेको पशुपति आध्यात्मिक महिला समूह उपाध्यक्ष रिता थापाले बताईन । थापाले दिएको जानकारी अनुसार बेलुकी ५ बजे लाख बत्ती प्रज्जवलन गरिएको छ । सो लाख बत्ती प्रज्जवलन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, दमक नगरपालिकका नगरप्रमुख रामकुमार थापा, उपमेयर रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलगायतका समाजमा विभिन्न तह र तप्काका भक्तजनहरुको उपस्थितिले अझै भव्यता प्रदान गरेको पनि थापाले जानकारी गराईन ।
बेलुका पशुपति आध्यात्मिक महिला समूहको तर्फबाट अखण्ड भजनकिर्तको कार्यक्रम आयोजना समेत गरिएको छ । उक्त शिवालयमा रातैभरि चार प्रहरको पुजा हुने र इच्छुक भक्तजनहरुले आफुलाई इच्छा लागेको प्रहरमा सहभागी भई पुजाआजा गरेका छन् । सो कार्यक्रमबाट ८० वर्ष उमेर कटेका कौशिला अधिकारी, नर्बदा भट्टराई, बिमलादेवी सुवेदी, धर्मानन्द चिमरिया र डिल्लीराम अधिकारी गरी ५ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ ।


आज बिहान पुराणमा सहभागी गुरुहरुलाई बिदाईको कार्यक्रम रहेको र त्यसमा सरिक भईदिन थापाले अनुरोध समेत गरेकी छन् । सो पुराणमा प्रतियोगितात्मक भजनकीर्तन कार्यक्रमबाट उत्कृष्ट भजनकीर्तन मण्डलीलाई सम्मानित तथा पुरस्कृत समेत गरिएको छ ।


यसैगरी सो मन्दिरमा निर्माण गरिएको शिवलोक सरोवर क्षेत्र निर्माणमा योगदान दिएका कलाकार तथा मुर्तिकार अभिषेक तिम्सिनाले मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको बताए । उनले शिव भगवानप्रतिको भक्तिभावका निम्ति भक्तजनहरु भगावनको दर्शनगर्न आतुर रहनु भएको देखिएको उनले बताए । उनले दमकबासीमा रहेको शिव भगवानप्रतिको भक्तिभावका निम्ति उल्लेखनीय सहभागिताका साथ भव्यताका साथ महाशिवरात्रि पर्व मनाइरहेको पनि बताए ।
यसैगरी दमक ५ स्थित धनेश्वर शिवालय मन्दिरमा पनि उत्तिकै भक्तजनको भिड लागेको थियो । त्यहाँ पनि दमक ६ स्थित पशुपति मन्दिरमा जस्तै रातभरि विभिन्न कार्यक्रमहरु तय भएको बताइएको छ ।


प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने महाशिवरात्रि पर्व भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको हो । यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा विभिन्न पुराणहरूमा वर्णित छ । महाशिवरात्रि शिवपार्वतीको विवाह भएको दिनको रुपमा समेत मनाउने गरिन्छ । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ । काठमाडौंस्थित आराध्यदेव पशुपतिनाथको मन्दिरमा दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो ।
प्रथम महिला सबिता पौडेलसहित महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना सरिक राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका थिए । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
यसैगरी प्रथम महिला राधिका शाक्यसहित उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पशुपतिनाथको मन्दिरमा गएर शिवरात्रिको पावन अवसरमा पुजाआजा गरेका छन् ।
बुधबार परेको महाशिवरात्रि पर्वको बढाईंसहित नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको २६२औँ स्थापना दिवस मनाएको छ ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल तथा विशिष्ट अतिथिमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थिती रहेको थियो । त्यसअवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ ।


सेना दिवसका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायतको उपस्थिती रहेको थियो । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा अवाञ्छित गतिविधि गर्ने काठमाडौंबाट ७५ जना पक्राउ परेका छन् । पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । सिक्री लुट्न खोज्ने र गाँजा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए । उनले भने, ‘हामीले प्रोफाइल हेरेर नियन्त्रणमा लिएका छौँ ।’ पक्राउ पर्नेहरु सबै पुरुष हुन् । स्क्रिनिङ गरेर गलत काममा संलग्नहरुलाई मुद्दा चलाइने एसपी बोहराले जानकारी दिए । पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ ।

Author

You may also like