बंगलादेशको चुनाव केही दिन अगाडि सम्पन्न भएर निर्वाचन परिणाम पनि आइसकेको छ। बंगलादेशको निर्वाचन परिणामले नेपालका यथास्थितिवादी राजनीतिक शक्तिहरूलाई ठूलो सकसमा पार्न सक्ने अवस्थालाई नेपालका राजनीतिक विश्लेषणहरुले औल्याउन थालिसकेका छन्। बंगलादेश सरकारका तत्कालीन सरकार प्रमुख मोहम्मद युनुस् अहिले विदाबारी भएर गइसकेका छन् र बङ्गलादेशको सरकार प्रमुख बन्ने जिम्मेवारी बंगलादेश नेसनलिस्ट पार्टी अर्थात् वि एन पी का नेता मुहम्मद तारिक रहमानले पाई सकेका छन।बङ्गलादेश नेशनलिस्ट पार्टी बांग्ला देशका पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाले स्थापना गरेको पार्टी हो ।
बाङ्लादेशमा शेख हसिना वाजेदको अवामी लिग पार्टीको सरकार रहँदा सम्म सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको बेगम खलिदा जिया भ्रष्टाचारको आरोपमा जेल परेपछि उनको पार्टीले चुनावको बहिष्कार गरी शेख हसिना वाजेदको सरकारले निष्पक्ष चुनाव गराउन सक्दैन भन्ने आरोपहरू लगाउँदै आई रहेको थियो। सत्ता परिवर्तन पछि शेख हसिना वाजेद् भारतमा भागेर आएपछि उनको दल र दलका नेता,कार्यकर्ता तथा शुभचिन्तकहरू माथि निर्ममतापूर्वक दमन गरिएको थियो भने उनको पार्टी अवामी लिगमाथि चुनावै लड्न नपाउने गरी प्रतिबन्धित पारिएको थियो। शेख हसिना बाजेदको प्रबल प्रतिद्वन्दी रहेकी खालीदा जियाले चुनावमा भाग नलिएपछि एकलौटी रुपमा शेख हसिना वाजेद सरकारको स्थापना हुन पुगेको थियो जुन सरकारलाई पाकिस्तान समर्थित बंगलादेशी कट्टर मुसलमानहरूले विद्रोह गरेर पल्टाइदिएको थियो र मोहम्मद युनुस ले नेतृत्व गर्ने सरकारको गठन भएको थियो। मोहम्मद युनुसको सरकारले चुनाव गराएपछि अप्रत्यासित परिणाम आयो र आन्दोलनकारी दलहरूको लज्जास्पद पराजय भयो।
बङ्गलादेशको चुनावमा जित्ने र सरकार बनाउने दल बीएनपीले जम्मा १६५ सीट, उनको पार्टीले गठबंधन गरेको दल जमायती इस्लामले ६८ सीट र अन्य सहयोगी दल बाट १४ वटा सीट जितेर जम्मा २९७ वटा सिट जितेर सरकार बनाउने दलको हैसियत प्राप्त गर्दै सफलता हासिल गरेको थियो। यो सङ्ख्या बंगलादेशको संसदको दुई तिहाई बहुमत भन्दा निकै नै बढी छ। बंगलादेशमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने पाकिस्तान समर्थक नाहिद इस्लामको नेसनल सिटिजन्स पार्टी एनसीपीले लज्जास्पद हार व्यहोर्दै जम्मा ६ सिट मा मात्र जित हासिल गरेको थियो। बङ्गलादेशमा भएको सत्ताविद्रोह पछि ठूलो हिंसा लुटपाट र अशान्ति मचिएको थियो। बङ्गलादेशका तत्कालीन कार्यकारी सरकार प्रमुख मोहम्मद युनुस् को नेतृत्व भएको सरकारले बांगलादेशभित्र अमन च्यान शान्ति सुरक्षा र मानव अधिकारको बहाली गर्नमा पुरै असफल भएको थियो। सत्ता विद्रोहको नेतृत्व गर्ने र हसिना बेगमको सरकारलाई तख्ता पलट गराउने विद्यार्थी नेताले देशैभरि साम्प्रदायिक दङ्गा र सामूहिक नरसंहार गराउने कार्यहरूमा संलग्न रहेको हुनाले ऐतिहासिक हार बेहोर्नुपरेको आकलन गर्न सकिन्छ। बंगलादेश भित्र बसोबास गरिरहने अल्पसंख्यक हिन्दु इसाई शिख बौद्ध धर्मावलम्बी लगायतका आदिवासी जात जातिहरूले चरम इस्लामिक गुटहरूबाट उत्पीडन सहदै आइरहेको हुनाले उनीहरूको पहिलो रोजाइमा तारिक रहमानले नेतृत्व गर्ने पार्टी बिएनपी ले अग्रता हासिल गरेको थियो। बिएनपीले बांगलादेशी हिंसामा परेका आदिवासी अल्पसंख्यक जातजाति र धर्मका जनतालाई सुरक्षा दिने प्रतिबद्धता जनाएको हुनाले र उनीहरूलाई आफ्नो राजनीतिक गठबन्धनमा सहयोगी बनाइएको हुनाले स्वतस्फुर्त रुपमा बांगलादेशी जनताले शान्तिको पक्षमा मतदान गरेर त्यहाँका चरम इस्लामिक समूहहरूलाई पराजित गर्न सघाएको देखिन्छ। तारिक रहमानले समावेशी बांगलादेश बनाउने प्रतिबद्धता र घोषणा गरेपछि उनको पक्षमा भारी बहुमत प्राप्त भएको देखिन्छ।
बङ्गलादेशको इतिहासमा नै पहिलोपटक बांगलादेशको राजधानी ढाका सहरबाट अल्पसंख्यक हिन्दु समुदायबाट एकजनाले चुनावमा जित्न सफलता हासिल गरेको छ। बङ्गलादेशको ढाका सहरका स्थायी बासिन्दा बिएनपीका गयश्वर चन्द्र राय बांगलादेशका पहिलो हिन्दु सांसद बन्ने अवसर प्राप्त गरेका छन्। बंगलादेशका जनता हिंसा र अशान्तिबाट बच्न ठूलो संख्यामा भारी मतदान गरेको छ। बंगलादेशमा ३५ वर्षपछि एकजना पुरुष प्रधानमन्त्रीको रूपमा तारिख रहमानले प्रधानमन्त्री पदको शपथ लिएका छन्। तारिख रहमानका अगाडि थुप्रै चुनौतीहरू छन्। ती चुनौतीहरूलाई तारिख रहमानले कसरी पार लगाउँदै जानेछन् भन्ने कुरा उनको निर्णय शक्ति र क्षमतामा भर पर्दछ। तर बंगलादेशको इतिहासमा पहिलोपटक बांगलादेशका अल्पसंख्यक हिन्दु धर्मावलम्बीहरू तथा देशका संस्थापक नेतृत्वहरूप्रति घृणा द्वेष बैमनस्यता ईष्र्या र शत्रुता जुन रूपमा विस्फोट भएर देखा पर्यो त्यसलाई सुव्यवस्थापन गर्न तारिक रहमानलाई अत्यधिक संयम सतर्कता र धैर्य को आवश्यकता रहेको बारे बुझ्न सकिन्छ । बंगलादेशमा इस्लामिक कट्टरतावादले जडा गाड्दैछ। बढ्दो इस्लामिक कट्टरतावाद र मौलवीहरूको कठमुल्लापनले बांगलादेशको अतित वर्तमान र भविष्यलाई समेत अपूरणीय क्षति पुर्याइरहेको अवस्था छ। बङ्गलादेशको धर्मनिरपेक्ष छविलाई बचाउन तारिक रहमानको सरकारले कुनै प्रयास गर्छ वा गर्दैन भन्ने कुराको परीक्षण हुन अझै केही समय कुर्नुपर्ने आवश्यकता छ। मोहम्मद युनुस् का सरकारले बङ्गलादेशका अल्पसंख्यकहरूप्रति भइरहेको अन्याय र अत्याचार तथा क्रुर हिंसा लाई टुलुटुलु हेरेको मात्र होइन त्यसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सघाएको वा नसघाएको कुराहरु बारे पनि बिस्तारै बिस्तारै त्यहाँका जनताले थाहा पाउने नै छन्।
अहिले तत्कालीन मोहम्मद युनिसको सरकार पनि शंकाको घेरामा आइसकेका छन्। बङ्गलादेशमा व्यापक धनजनको क्षति र हिंसालाई कानुनको दायरामा ल्याउन सरकारले आवश्यक पहल गर्नु आवश्यक छ,अनि मात्र लोकतन्त्रमा जनताको अधिकार बाँच्न सक्छ। बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिना वाजेद लाई बांगलादेश सरकारले सुपुर्दगी गर्न भारत सरकारलाई लगातार अनुरोध गरिरहेको छ। शेख हसिना बाजेदलाई बांगलादेशका विद्रोही सरकारले फाँसी वा आजीवन कारोबासको सजाय तोकेको थियो। शेख हसिना हसिना वाजेदले कुनै समयमा तारिक रहमानकी आमा र बिएनपी का नेता पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर्याई जेलमा सजाय भोग्न विवस पारेको थियो। त्यसकै बदला तारिक रहमानले शेख हसिना बाजेद सित लिने हुन् कि भन्ने कुरामा पनि शंका गर्न सक्ने थुप्रै आधारहरू रहेका छन्। बंगलादेशको राजनीतिमा खास गरेर पाकिस्तान, चीन, अमेरिका र भारतको ठूलो स्वार्थ रहेको कुराहरू मिडियाहरूमा प्रायजसो आइरहन्छ। बंगलादेश इस्लाम बहुल देश भए तापनि इस्लामीक मुलुक घोषणा नगरी धर्मनिरपेक्ष बांगलादेश बनाउनुको पछाडि भारतको हात रहेको भन्ने कुरामा बांगलादेशका कट्टरपन्थी इस्लामिक जमातहरूले भारतको पनि विरोध गरिरहेका छन्।
भारत विरोधकै आधारमा बंगलादेशभित्रका कट्टरपन्थी मुसलमानहरूले भारतका अल्पसंख्यक हिन्दु समुदायमाथि अमानवीय घटनाहरू घटाइरहेको पाइएको छ। बंगलादेशमा हिन्दू सताइएपछि त्यसको प्रतिक्रिया भारतमा पनि हुन सक्छ र भारतमा पनि मुस्लिम बहुल क्षेत्रहरूमा दंगा फसाद हुन सक्छ, भन्ने मनसायले पाकिस्तान प्रायोजित इस्लामिक समूहहरू भारत लगायत नेपालका कतिपय क्षेत्रहरूमा पनि सक्रिय भइरहेका भेटिन्छन्। त्यसकारणले बंगलादेशको अशान्तिले भारत र नेपाललाई पनि आफ्नो सुरक्षा चुनौती लाई चुस्त दुरुस्त राख्न कठिन पर्न सक्छ। बंगलादेश लाई भारतले पाकिस्तानबाट छुट्याउन धेरै मद्दत गरेको हुनाले पनि बंगलादेशको विद्रोहको माध्यमबाट भारतलाई पनि तह लगाउन सकिन्छ भन्ने कुरामा पाकिस्तान पनि जुर्मुराइरहेको अवस्था छ र बांगलादेशलाई पनि इस्लामिक सरिया कानुनहरू लागू गर्नको लागि भित्रभित्रै उक्साइरहेको अवस्था लाई इन्कार गर्न सकिँदैन। भारत र बंगलादेशबीच खुला सिमाना रहेको कारणले गर्दा भारतमा लाखौंको सङ्ख्यामा रोहिङ््या मुसलमानहरू लुकीछिपी प्रवेश गर्दछन् र अपराधिक क्रियाकलापहरूमा संलग्न भइरहेको भेटिन्छन्। नेपालमा पनि रोहिङ््या बांगलादेशी मुसलमान शरणार्थीहरू उल्लेख्य संख्यामा प्रवेश गरिसकेका छन् र नेपाललाई पनि टाउको दुखाई को विषयवस्तु बन्न सक्दछन्।
बङ्गलादेशको आम चुनाव र नेपालको आम चुनाव झन््डै उस्तै उस्तै होइनन्। नेपालको राजनीतिक दललाई नेपालका उदारवादी र समावेशी राजनीतिक विचारकहरूले नेतृत्व गरिरहेका छन् र चुनावमा भाग लिने सबै राजनीतिक दलहरूको प्रमुख मुद्दा शून्य भ्रष्टाचार र विकास नै रहेको छ। नेपालका मतदाता असल स्वभावका छन् र कसैको बहकावमा तथा दबाबमा आउन चाहँदैनन्। नेपालमा चुनाव आयोगको निष्पक्षता र सुरक्षा तथा प्रहरी निकायहरूको सतर्कता तथा मतदाताहरूको सहि र गलतलाई छिट्टै बुझ्न सक्ने र पहिचान गर्न सक्ने क्षमताले नेपालमा बांगलादेशको भन्दा स्वाभाविक तरिकाको निर्वाचन परिणाम आउन सक्छ र देशलाई स्थिरता दिन सक्ने राजनीतिक शक्तिहरू संसद भवनमा देखा पर्न सक्दछन्। नेपालमा पुराना अनुहारका राजनीतिक शक्ति र नयाँ अनुहारका राजनीतिक शक्तिहरू बीचको चुनावी संघर्षको परिणाम कसको पक्षमा आउला भन्ने कुरामा अब लामो समयसम्म पर्खिनु पर्दैन होला ।