नेपालका सबैभन्दा असल र छिमेकी मित्रराष्ट्र भारत सँग नयाँ राजनैतिक उचाइको टर्निङ पोइन्टको खोजी गरी नेपाल भारतबीच रहेको परराष्ट्र सम्बन्धलाई अझ प्रगाढ र सहज बनाउनु आवश्यक छ। नेपाल र भारतबीच सदियौंदेखि कायम रहेको सांस्कृतिक सम्बन्ध तथा बेटीरोटीको सम्बन्धले नेपाल र भारतलाई विश्वका अन्य मुलुकहरूभन्दा अझ नजिकको विश्वसनीय र घनिष्ठ बनाइदिएको छ। नेपाल भारत बीचको आत्मीय सम्बन्ध जस्तो सम्बन्ध विश्वमा कहिँ पनि छैन। परापूर्व कालदेखि नै नेपाल र भारतका जनताहरूले साझा सांस्कृतिक मूल्य मान्यता र विरासतको परम्परालाई अनुगमन गर्दै एकअर्कामाथि परस्पर निर्भर रहँदै , एकअर्कासँग हरेक कुरोमा हातेमाले गर्दै होस्टेमा हैसे गर्दै एक अर्कालाई हौस्याई रहेको थुप्रै उदाहरणहरू भेटाउन सकिन्छ। नेपाल र भारतबीच भौगोलिक क्षेत्र को आधारमा, जनसांख्यिक अनुपातको आधारमा, भौतिक विकासको आधारमा , सैन्य शक्तिको आधारमा, कुनै तुलना गर्न नसके पनि दुवै देशका जनताहरूबीच सहज रूपले एकअर्काको सुखदुख बाँड्ने र एकअर्कालाई उच्च सम्मान गर्ने कुराहरूमा बराबर देखिएका छन्। नेपाल भारतबीच भएको सन् १९५० को सन्धि नेपाल र भारत बीच समानताको सिद्धान्त को आधारमा गरिएको सन्धि हो र यसले निरन्तर रूपमा नेपाल भारतबीचको सम्बन्धलाई निरन्तरता दिइरहेको अवस्था विद्यामान छ ।
भगवान पशुपतिनाथ र माता पार्वतीले स्वछन्द रुपमा विचरण गर्ने हिमालय वरिपरिका क्षेत्रहरू लगायत कैलाश पर्वत जस्ता आध्यात्मिक तीर्थस्थलहरू दुवै देशका सनातन हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्त नै पवित्र धार्मिक क्षेत्रको रुपमा रहने गरेकोले यस क्षेत्रबाट प्रवाहित हुने आध्यात्मिक ऊर्जालाई दुवै देशका जनताले अनुभूति गरी आफ्नो जीवन लाई धन्य बनाइरहेका हुन्छन्। नेपालबाट भारततिर बगेर जाने करिब छ हजारभन्दा बढी नदी हरू भारतमा गंगा नदीसँग मिलेर भारतीय समुद्रमा प्रवेश गर्दछन् र संसारका समस्त प्राणीहरूको दुःख कष्ट र पापलाई हरण गर्ने अवसर प्रदान गर्दछन्। भारतका तिर्थालुहरू भगवान पशुपतिनाथको दर्शन गर्नको लागि आउँदछन् भने नेपालबाट भारततिर जाने नेपालीहरु भारतको चारधामको यात्रा गर्दछन् र आफ्नो जीवनलाई सफल भएको अनुभूति गर्दछन् । यसै मानव देहबाट सनातन हिन्दू धर्मावलम्बीहरू काशी, गया मथुरा, वृन्दावन ,मुक्तिनाथ, पशुपतिनाथ, केदारनाथ, लुम्बिनी क्षेत्रहरूको तीर्थयात्रा गर्दै मोक्ष प्राप्तिको लागि आफूलाई यसै पवित्र भूमिहरूमा समर्पित गरेको अनुभूति प्राप्त गरी घर फर्किने गर्दछन्। यस्तो किसिम बाट नेपाल र भारतका जनताले पाउनुपर्ने अलौकिक आध्यात्मिक सुख र मौद्रिक मूल्यको कुनै हिसाब किताब गर्नु सम्भव छैन। नेपाल र भारतबीचको सम्बन्ध कुनै भौतिक र वस्तुगत सम्बन्धभन्दा विशाल र अमापनिय छ जसलाई कुनै पनि किसिमको राजनीतिक अहम भावनाले परितुष्टि गर्न सक्दैन। शून्यवादी र भौतिकतावादी तथा पन्थनिरपेक्षवादी राजनीतिक तुष्टीकरणवादी विचारधाराले जस्तोसुकै तर्क र दृष्टान्त दिए पनि नेपाल र भारत ,नेमुनि , मञ्जुश्री, राजा विक्रमादित्यको पालादेखि नै एकअर्कासँग परस्पर सम्बन्धित र आत्मीय सम्बन्ध गाँसेको मुलुकको रुपमा रहेको छ जसलाई आधुनिक राजनीतिक दर्शनले छुट्याउन सक्दैन। सम्भवत भारतवर्षको उत्पत्ति र उत्कर्ष सँगै अस्तित्वमा आएको हिमालय पर्वत श्रृङ्खलालाई अझ महान र विश्वको अगाडि सर्वोच्च बनाउन विश्वका सर्वोच्च हिमशिखर सगरमाथा हिमालले नेपाल र भारतको प्रकट र अप्रकट इतिहासलाई सँगसँगै लिपिबद्ध गरेको प्रमाण र साक्षी खोज्न हामीले अन्यत्र काहीँ जानु पर्दैन । वेद, उपनिषद् ,पुराण, श्रुति, रामायण, गीता, महाभारत जस्ता ग्रन्थहरू र गुरु परम्परा तथा ब्राह्मण परम्परा तथा बौद्ध परम्पराहरू नेपाल र भारत दुवैको साझा सम्पत्ति र विरासतको रुपमा रहेको मान्न सकिन्छ। नाथ पन्तका संस्थापक भगवान आदिदेवका शिष्य ,गुरु गोरखनाथका पनि गुरु मत्स्येन्द्र नाथले नेपालकै धर्तीबाट शिव मार्गी अघोर पन्थको स्थापना गर्नुभएको थियो ,जो आज पनि हिन्दु सनातन संस्कृतिको एउटा अभिन्न अङ्ग को रूपमा विश्वभरिका सनातन हिन्दू धर्मावलम्बीहरूको श्रद्धा विश्वास र आस्थाको केन्द्रबिन्दु बनेको छ ।
नेपालमा गोर्खा राज्य को उत्पत्ति अघोर पन्थका गुरु गोरखनाथकै नामबाट भएको हुनाले पनि गुरु गोरखनाथका गुरु मत्स्येन्द्र नाथ भारतको आसामको कामरूप कामाक्षाबाट नेपालमा आई तन्त्र साधनाको विकास र स्थापना गरेको कुराहरुले पनि दुई देश बीच रहेको विशिष्ट र असाधारण सम्बन्धलाई स्पष्ट गर्दछ। नेपाल र भारतबीचको सम्बन्धलाई नेपाल र भारतबीच रहेको सिमाना रेखाबाट मात्रै पनि आकलन गर्न कठिन छ। देशको राजनीतिक भूगोल देशका सत्ताधारी वर्गहरूको क्षमता र पुरुषार्थको उपज मात्र रहेकोले यसलाई समय समयमा परिमार्जन गर्ने गरिएको थुप्रै उदाहरणहरू नेपालको इतिहासमा रहेको छ, र भविष्यमा पनि यसलाई कैयौंपटक परिमार्जन गर्न सक्ने सम्भावना पनि रहेको छ । समयको विभिन्न कालखण्डमा नेपालका विभिन्न भूभागहरु फरक फरक तरिकाले, फरक फरक समयमा, फरकफरक शासकहरूबाट नेपालका सिमानाभित्र गाभिएका छन् र त्यसमाथि नेपालको स्वामित्व स्थापित भएर नेपाली जनताले भोग चलन गर्दै जाने परम्परा र व्यवहार स्थापित भइसकेको छ। अहिले नेपालमा देखिने गरिएको सीमा रेखा सम्बन्धी विवादहरूलाई विवेकशील भएर दुईपक्षीय रूपमा नै समाधान गर्नु पर्ने आवश्यक देखिएकोले यस सम्बन्धमा भारत र नेपालबीच पारदर्शिता र स्पष्टवादिता र तत्परता देखिनु जरुरी छ। नेपालको कालापानी र लिम्पियाधुरा सम्बन्धी इतिहास र प्रमाणहरूलाई खोतल्नु जरुरी छ र त्यसको सत्य तथ्यको बारेमा जनजागरण ल्याउनु पनि आवश्यक छ। नेपालमा राजा महेन्द्रको पालादेखि नै एउटा छुट्टै किसिमको विदेश नीतिलाई लागू गर्ने कुरालाई स्वीकार गरिएको छ। जसलाई राजा महेन्द्रपछि राजा वीरेन्द्र र गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउबा, पुष्पकमल दाहाल प्रचण्ड लगायतले अनुमोदन गर्दै अगाडि बढिरहेको पाइन्छ।
नेपालको इतिहासको लामो कालखण्डमा पनि विदेश नीतिको पुनः समीक्षा हुन सकेको छैन। नेपाल र भारत तथा नेपाल र चीन बीच रहेको समदुरीको विदेश नीतिले नै नेपाललाई थाम्छ वा थाम्न सक्दैन भन्ने कुरामा पनि राजनीतिक चिन्तक र कूटनीतिज्ञहरूले विचार पु¥याउनु आवश्यक छ ।
विश्वमा आज अपत्यारिलो किसिमको युद्ध मानसिकताको विकास भइरहेको छ। सर्भाइभल अफ द फिटेस्ट र माइट इज राइटको राजनीतिक धर्म, दर्शन र शक्ति सिद्धान्तले दुनियालाई पिरोलिरहेको अवस्था छ। यस्तो अवस्थामा सानासाना मुलुकहरु लाई आफ्नो भूभाग जोगाउनु कठिन भइरहेको देखिन्छ।। चीनले एक चीन नीति अन्तर्गत सदियौंदेखि स्वतन्त्र रहेको स्वायत्त क्षेत्र तिब्बतको स्वतन्त्रता हरण गरी चीनभित्र सन् १९५० मा नै गाभिसकेका छन्। लाखौंका सङ्ख्यामा तिब्बतेली बौद्ध भिक्षुहरू भारतको हिमाचल प्रदेशमा शरणार्थी जीवन बिताइरहेका छन्। भारत र पाकिस्तानबीच कश्मिरको सवालमा ठूलोठूलो युद्धहरू भइसकेको छ र कुनै समयमा स्वतन्त्र देशको रूपमा रहेको कश्मिर माथि अहिले भारत र पाकिस्तान दुबैको आधिपत्य कायम रहेको छ। सिक्किम पूर्णरूपमा भारतीय सङ्घीय राज्यको एउटा अविभाज्य अङ्ग बनिसकेको छ। मध्यपूर्वका कैयौँ इस्लामिक मुलुकहरू युद्धको आगोमा झोसिएका छन्। इरान ,इराक ,लेबनान, फिलिस्टिन ,इजरायल, रुस, युक्रेन सबै देशहरू युद्धको आगोमा जलिरहेका छन्। यी देशहरुलाई आफ्नो आफ्नो अस्तित्व बचाउन सकस परिरहेको छ। विश्व परमाणु युद्धमा जाने सक्ने सम्भावना लगातार बढ्दै गइरहेको छ। अमेरिकाले केही महिनाअगाडि भेनेजुएलाका राष्ट्रपतिलाई पकडेर आफ्नो देशमा बन्दी बनाएर राखेका छन्। अमेरिकाली राष्ट्रपति ट्रम्पले भेनेजुएलालाई आफ्नो देशमा गाभि सकिएको भने भर्खर घोषणा पनि गरेका छन्। मध्यपूर्वका कयौं भूभागहरू इजरायल र अमेरिकाको कब्जामा जान सक्ने सम्भावना बढ्दैछ। आफ्नो निहित स्वार्थको लागि ठूलाठूला देशहरूले सानासाना देशहरू र कमजोर देशहरूको सार्वभौम सत्तालाई आफ्नो सैन्य बलले समाप्त पार्ने प्रयास गरिरहेका छन्। विश्वमा शान्ति स्थापना गर्नको लागि स्थापना भएको विश्वको सर्वोच्च राजनीतिक संस्था संयुक्त राष्ट्र सङ्घ आज तमासे बनेको छ। संयुक्त राष्ट्रसङ्घले विश्वमा बढ्दै गइरहेको मानव हिंसा र युद्ध अपराधको अवस्थालाई साम्य पार्न आवश्यक ध्यानसम्म पु ¥याउन सकेको छैन ।
विश्वमा राजनीतिक रूपमा नै स्थापित सरकारहरूलाई पनि तथापलट गराइदिने परम्परा विकसित हुँदैछ । कतिपय देशका सरकारहरूले लोकतन्त्रलाई हात्तीको देखाउने दाँतको रुपमा मात्र प्रयोग गरेका छन्। श्रीलंका, बांगलादेश पाकिस्तान, नेपाल लगायतका थुप्रै देश हरूमा हिंसात्मक तरिकाबाट सत्ता परिवर्तन भएर राजनीतिक परिवर्तनहरू हुँदै गरेको देखिएको छ, तर विचारणीय पक्ष के छ भने संविधानको रक्षा र देशको सार्वभौमिकताको रक्षाको नाउँमा दुनियामा हिंसा, द्वेष ,घृणा र नरसंहारको कुकृत्य रच्नु,र धार्मिक युद्धको नाउँमा मानवताको ध्वंस गर्नु कस्तो लोकतान्त्रिक विधि हो भन्ने कुरामा होस पुर्याउनु जरुरी छ। नेपालमा ऊर्जाको समस्या विकराल रूप धारण गर्दैछ। देशका जनताले मट्टी तेल, पेट्रोल, डिजल, खाना पकाउने ग्यास, विमान चलाउन आवश्यक पर्ने पेट्रोल इन्धनलगायतका आवश्यक संसाधनहरू माथि सरकारको पहुँच लगातार कमजोर हुँदै गइरहेको छ । यस्तो अवस्थामा नेपालमा स्थापित नयाँ सरकारले छिमेकका मुलुकहरूसँग र खासगरी भारत सरकारसँग आपसी समझदारीमा नया परिस्थितिमा अन्तर्राष्ट्रिय स्तरमा देखिएका राजनीतिक परिवर्तनका घटनाक्रमहरू र समस्याहरू लाई समेत विचार गरी नयाँ सम्बन्ध र सहकार्यका लागि भारतसँग अझ दरिलो र भरपर्दो सम्बन्ध स्थापित हुने नयाँ अध्यायको सुरुवात गर्नु जरुरी छ ।