दुई साताअघिदेखि झापाका विभिन्न पालिकाका बस्तीमा जंगली हात्ती देखिन थालेपछि स्थानीयमा त्रास बढेको छ । जंगलबाट हात्ती सहरबजार र बाक्लो बस्तीमा नियमित आउन थालेका छन् । हात्तीबाट ज्यान बचाउन हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई मुस्किल हुन थालेको छ । एक साताको अवधिमा दिनहुँ जसो मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाका बस्तीमा हात्ती आउन थालेका छन् । रतुवामाई वृक्षरोपण आयोजना र दमकको हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र रहेका हात्ती रातको समयमा बस्तीमा पस्ने गरेका छन् । कमलको सावित्रा चौंक, केर्खा लगायतका वनसंगै जोडिएका बस्तीमा रातीपख हात्ती पस्न थालेपछि स्थानीय रातभर जाग्राम बस्नु परेका छ । शिवसताक्षीसँग जोडिएको कमल गाउँपालिकाको पाडाजुंगी र सीतापुरीमा पनि हात्ती बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीबासीहरु सुरक्षाका निम्ति हतियार लिएर निस्कन थालेका छन् ।
जंगली हात्ती मानव वस्तीमा पसेर दिनदिनै घर भत्काउने र बाली विनास गर्ने जस्ता क्रियाकलाप बढिरहेका छन् । झापा र मोरङमा जंगली हात्ती मानव बस्ती पसेर धनजनको क्षति हरेक वर्ष गर्दै आएको छ । तर, जानकारहरुले भने हात्ती मानव बस्तीमा प्रवेश गरेको नभई हात्तीको बाटोमा मानब बस्ती बसालिएकोले यस्तो अवस्था आएको बताउँदै आएका छन् । हात्तीले आफ्नो बाटो कहिल्यै नभुल्ने र सँधै एउटै बाटोबाट हिँड्ने गरेको बताइन्छ । अर्कोतिर पछिल्लो समयमा जंगलमा हात्तीको लागि आवश्यक खाद्य सामाग्रीको अभाब भएकोले भोकाएको हात्ती गाउँबस्तीमा प्रवेश गर्दै आएको देखिन्छ ।
झापामा २ वर्ष अगाडिको रिपोर्ट हेर्ने हो भने १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ। त्यसको संख्या अहिले बढेको छ । सोही अवधिमा १६ वटा हात्ती मरेका छन्। जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जंगली हात्तीको आक्रमणबाट उनीहरुको मत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको थियो । जंगलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयले तथ्याङ्क थियो ।
भारतमा खाद्यान्नको अभाबमा भोकाएको आत्तीको हूल आहारा खोज्दै नेपाल आउने गरेको छ । अहिले मानव–वन्यजन्तु द्वन्द्व बढिरहँदा जनधन जोगाउनुपर्ने चुनौती त छ नै, त्यसमाथि संरक्षित सूचिमा परेको हात्तीलाई बचाउनुपर्ने अवस्था पनि छ । तथापि कहिलेकाँही हात्ती मारिएका समाचार पनि नआएका होइनन् । मोरङ, सुनसरी र झापामा कतिपय स्थानमा गोली नै हानेर हात्ती मारेका दृष्टान्त पनि छन् । एकातिर हात्तीका बहुमल्य शारीरिक अंगहरुका लागि तस्करी गर्नेहरुको गिरोह छ भने अर्कोतिर हात्ती स्वयंले गाउँबस्तिमा बसेर उदण्ड मच्चाईरहेको पाइन्छ । दर्जनौं मानिसको अनाहकमा ज्यान समेत गईसकेको छ । यसर्थ पनि हात्ती र मानवबीचको यो द्वन्द्व नियन्त्रणयोग्य देखिन्छ । नेपालमा हात्ती संरक्षित जीवको सूचिमा छ । संरक्षित सुचिमा रहेको हात्तीको ठूलो बथानले पछिल्लो समयमा कोशी प्रदेशका खासगरी तराईका जिल्लामा आतंक नै मच्चाएको छ । नेपालमा तराईंमा हात्ती, बँदेल, पहाडमा भालु, बाँदरसहित जंगली वन्यजन्तुले धनजनको क्षति गर्दै आएका छन् । त्यस्ता वन्यजन्तुले क्षति पुर्याएर राहत दिन सरकारले निर्देशिका जारी गरेको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० अनुसार वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भए २० हजार र गम्भीर घाइते भए २ लाखसम्म औषधोपचार खर्च दिने कानुनी व्यवस्था छ । हात्ती किन मानव बस्ती पसेर स्थानीयवासीलाई आतंकित बनाइरहेको छ भन्ने अध्ययन र अनुसन्धान जरुरी छ । जंगलमा आहाराको अभाबले हात्ती मानव बस्तीमा आएको अवस्था हो । त्यसैले जंगलमा हात्तीको लागि आहारा हुने खालको बोटविरुवा लगाउने काम पनि यस अघि केही अभ्यास भएकै हुन् यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक छ । हात्ती मात्र होइन अन्य जीवजन्तुहरुका लागि आवश्यक खाद्यान्न अभाव हुन नदिन र गाउबस्तिमा उनीहरुले खानैका लागि पस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी देखिन्छ ।